युरोपको सर्वोच्च शिखर एल्ब्रसमा ७ नेपालीको सामूहिक आरोहण

असार १८ गते काठमाडौंबाट दुबई हुँदै रुस पुगेका टोलीका सदस्यहरूले आइतबार बिहान शिखर चुमेका थिए ।

असार २२, २०८३

सुरज कुँवर

काठमाडौँ — युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस (५,६४२ मिटर) मा एउटै टोलीका सात जना नेपालीले सफल आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । 

पर्वतारोही दाबुटी शेर्पाका अनुसार नेपाली पर्वतारोहण इतिहासमा एउटै टोलीका सात नेपालीले एकै अभियानमा एल्ब्रसको सफल आरोहण गरेको यो पहिलो पटक हो । यो टोली असार १८  गते काठमाडौंबाट दुबई हुँदै रुस पुगेको थियो । टोलीका सदस्यहरूले असार २१ गते आइतबार बिहान शिखर चुमेका थिए ।

टोलीमा चर्चित गायक राजु लामा, एल्ब्रसका १९४ पटक सफल आरोही चतुर तामाङ, पर्वतारोही अन्तर्राष्ट्रिय पर्वतगाइड अविरल राई, विक्रम कार्की, नुर्बु शेर्पा, विकाश तामाङ र दाबुटी शेर्पा थिए।

आरोही दाबुटी शेर्पाले यो अभियानको उद्देश्य नेपाली स्पेसालिटी कफीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको बताइन । उनले चुचुरोमै नेपाली स्पेसालिटी कफी तयार गरी विभिन्न देशका आरोही तथा पर्वत–मार्गदर्शकलाई पस्किएकी थिइन् । त्यहा भियतनाम, सिक्किमलगायत स्थानका विदेशी आरोहीहरू पनि सहभागी थिए । 

दाबुटी शेर्पा सन् २०१८ मा सगरमाथा सफल आरोहण गरिसकेकी पर्वतारोही हुन्। उनी केही वर्षदेखि नेपाली किसानले उत्पादन गर्ने कफीको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सक्रिय रहँदै आएकी छन्।

दाबुटीले हिमालको शिखरबाट नेपाली कफीलाई विश्वसामु चिनाउने अभियानले नेपालको कृषि, पर्यटन र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने विश्वास व्यक्त गरिन्। 'हिमालको शिखरमा तयार गरिएको नेपाली कफी केवल एउटा पेय पदार्थ होइन, यो नेपाली किसानको मेहनत, हाम्रो संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक हो,' उनले भनिन्, 'हामीले शिखरमा नेपालको झन्डासँगै नेपाली कफीको स्वाद पनि विश्वभरका आरोही र गाइडसम्म पुर्‍याउने प्रयास गरेका छौं। यसले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।'

माउन्ट एल्ब्रस सात महादेशका सात सर्वोच्च शिखरमध्ये युरोपको प्रतिनिधित्व गर्ने हिमाल हो। विश्वभरका पर्वतारोहीहरूले 'सेभेन समिट्स' चुनौती पूरा गर्ने क्रममा एल्ब्रसको आरोहण गर्ने गर्छन्।

एल्ब्रस आरोहणका लागि करिब २ हजार अमेरिकी डलर रोयल्टी तथा अनुमति शुल्क खर्च भएको टोलीले जनाएको छ । यस हिमालमा एउटा मात्र मुख्य उच्च शिविर (हाई क्याम्प) प्रयोग गरिन्छ। 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully