बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सांसदको माग

मुग्लिन-नारायणगढ-काठमाडौं, डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

असार २०, २०८३

रासस

MPs demand immediate reopening of highways blocked by floods and landslides

काठमाडौँ — राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग र सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

मुलुकका विभिन्न राजमार्ग तथा सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मतसम्भार गरी यातायात सहज बनाउन उनीहरुले आग्रह गरे ।

सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराइन् । मुग्लिन–नारायणगढ–काठमाडौं, डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लाका सडक बाढीपहिरोले अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ हुने गरेको बताइन् । बर्सेनि दोहोरिने सडक अवरोधको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गरिन् ।

सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।

रासस

Link copied successfully