कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र प्रतिवेदन बुझाउने बताएका छन् ।
काठमाडौँ — संविधान संशोधनका सन्दर्भमा सरकारले गठन गरेको कार्यदलले असार महिनाभित्रै प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारले १६ चैतमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको थियो ।
संविधान संशोधन बहसपत्र तयार गर्ने जिम्मेवारी उक्त कार्यदलको छ । शाह प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै १३ चैतमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची सार्वजनिक गरेको थियो । त्यसमा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधनसम्बन्धी राष्ट्रिय सहमति निर्माण गर्न ‘संविधान संशोधन बहसपत्र’ तयार गरिने उल्लेख छ । संविधान संशोधनको बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने कार्यसूचीमा भनिएको छ ।
कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र प्रतिवेदन बुझाउने बताएका छन् । ‘हामीले सरोकारवाला विभिन्न पक्ष, संविधानविद् र राजनीतिक दलहरूसँग छलफल गरेका छौं,’ कान्तिपुरको जिज्ञासामा उनले भने, ‘अब लगभग प्रतिवेदन लेखनको चरणमा छौं । असार मसान्तभित्रै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छौं ।’
कार्यदलले संविधान संशोधनका सन्दर्भमा विभिन्न पक्षसँग सुझाव लिने कार्य गरेको छ । तर, संविधानको कुन कुन धारामा संशोधन गर्ने, के के विषयमा प्रवेश गर्ने विषयमा कार्यदलले राजनीतिक सहमति भने खोजेको छैन ।
