मेलम्चीको मुहानमा बाढीले अस्थायी ड्याम भत्किएपछि बिहीबार रातिदेखि सुरुङमार्फत काठमाडौंमा वितरण हुँदै आएको पानी पूर्ण रूपमा बन्द गरिएको छ ।
What you should know
काठमाडौं — बाढीले अस्थायी ड्याम भत्काएपछि काठमाडौं उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी मुहानमै बन्द गरिएको छ ।
मेलम्ची साइटका प्राविधिकहरुले दिएको जानकारी अनुसार बिहीबार राति ९ बजे सुरुमा पानी धरै धमिलो आएको थियो । त्यसपछि मुहानमा निर्माण गरिएको अस्थायी ड्यामको संरचनालाई बाढीले क्षति गरेको थियो । बिहीबार रातिदेखि नै सुरुङमा पानी पठाउन छाडेको ती प्राविधिकले बताए ।
सिन्धुपाल्चोकको हेलम्बुमा रहेको मुहान आसपासका क्षेत्रमा बर्सात्का कारण बाढी आएको हो । 'पानीको बहाव घटेको छैन,' ती कर्मचारीले भने, ‘तत्कालै पानी पठाउने सम्भावना देखिँदैन ।’
मेलम्ची आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता मधु तिमिल्सनाले पानी बन्दको औपचारिक निर्णय नभएको बताए । उनले पानी धमिलो आएको र बाढीको सम्भावना रहेकाले अब के गर्ने छलफल भइरहेको बताए ।
०७८ असारको बाढीले मेलम्ची आयोजनाको मुहान पूरै ध्वस्त बनाएका कारण बर्सात्मा बर्सेनि पानी बन्द गरिँदै आएको छ । त्यतिबेला हिमाली भेग भेमाथाङबाट अचानक आएको बाढीले हेलम्बुदेखि मेलम्ची र काभ्रेको दोलालघाटसम्म क्षति गरेको थियो । उक्त बाढीपछि मेलम्ची मुहान सार्ने निर्णय भए पनि त्यसको अन्तिम रिपोर्ट तयार नभएको मेलम्ची आयोजनाले जनाएको छ ।
मुहान नबनेका कारण सुक्खा मौसममा मात्र सुरुङबाट पानी काठमाडौं ल्याउने गरिएको छ । यस पटक अस्थायी ड्यामलाई नै क्षति गरेकाले पानी ल्याउन लामो समय कुर्नुपर्ने हुन सक्ने आयोजनाका अधिकारीहरुले बताए ।
मेलम्चीबाट २६ किमी सुरुङबाट पानी काठमाडौं ल्याउने गरिएको छ । झण्डै अढाइ दशकमा पूरा गरेर ०७७ चैतबाट पानी काठमाडौं ल्याइएकोमा तीन महिनापछि नै बाढीले मुहान बगाएको थियो ।
हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण भइरहेको छ । मेलम्चीको पानी ल्याउन बन्द भएपछि त्यसको प्रभाव उपत्यकाको पानी वितरणमा पर्नेछ । त्यस्तै मेलम्ची खोलाको मुहनामा बाढी आएकाबेला नजिकैको रिबर्मा भन्ने सानो खोलाको पानी सुरुमा पठाउने व्यवस्था गरिएको थियो । बर्सात्मा पनि उक्त खोलाको पानी काठमाडौं पठाउन सकिने संरचना निर्माण गरिएको थियो । तर बिहीबार रातिबाट उक्त रिबर्मा खोलामा पनि पानी धमिलो आएको छ । अहिले उक्त खालाको पानी पनि सुरुङमा पठाउन बन्द गरिएको छ ।
