प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा प्रा. भोला थापालाई नियुक्त गरेका हुन् । थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शुक्रबार विभिन्न विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा प्रा. भोला थापालाई नियुक्त गरेका हुन् । थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए ।
त्यस्तै प्रधानमन्त्री शाहले पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेललाई नियुक्त गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त मरहठ्ठा नेपाल खुला विश्वविद्यालयमा प्राध्यापक थिए । उनी चिकित्सा शिक्षा आयोगका पूर्वनिर्देशक थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति भट्ट इन्जिनियरिङ संकायका प्राध्यापक हुन् । उनले हङकङ विश्वविद्यालयबाट सहरी योजना तथा डिजाइनमा विद्यावारिधि गरेका छन् ।
त्यस्तै कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक कट्टेल सोही विश्वविद्यालयमा उपकुलपति बनेका हुन् । उनले त्यहीँबाट कृषि अर्थशास्त्र र कृषि व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।
त्रिभुवन विश्वविद्यलायमा प्राणीशास्त्रका प्राध्यापक लाभ राजर्षी जनक विश्वविद्यालयको उपकुलपति बनेका हुन् । उनले 'माछाको पोषण' सम्बन्धी विषयमा दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त अधिकारी त्रिविकै प्राध्यापक हुन् । महेन्द्र मोरङ क्याम्पसमा लामो समयदेखि प्राध्यापनरत उनले टीका माझी भागलपुर विश्वविद्यालयबाट भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त सुवाल त्रिविकै सहप्राध्यापक हुन् । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको सिभिल इन्जिनयिरिङ विभागमा कार्यरत थिए ।
सरकारले ८ विश्वविद्यालयका लागि एकै पटक आवेदन आह्वान गरेको थियो । जसमा २१८ जनाले आवेदन दिएका थिए । उपकुलपति छनोट तथा सिफारिस कार्यविधिअनुसार १०/१० जनाको सर्टलिस्ट गरेर कार्ययोजना, सोचपत्र र अन्तर्वार्ता सञ्चालन गरिएको थियो । त्यसबाट ३/३ जना छनोट गरी नियुक्तिका लागि प्रधानमन्त्री शाहलाई सिफारिस गरिएको थियो । छनोट समितिमा शिक्षामन्त्री पोखरेल अध्यक्ष थिए । विज्ञ नियुक्ति गरेर आवेदकहरूको मूल्यांकन गरिएको थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति भने प्रक्रियामै रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
