२०७७ को पहिरोले १ सय २६ घर बगे । २२ जनाको मृत्यु भयो । १७ जना त अझै बेपत्ता छन् । फेरि बर्खा आइसक्यो, विस्थापितहरुको स्थायी बसोबासको व्यवस्था अझै भइसकेको छैन ।
What you should know
बागलुङ — कोभिडले समस्याग्रस्त भइरहेका बेला २०७७ भदौ १७ गते ढोरपाटन नगरपालिका ७, ८ र ९ मा क्षति पुग्ने गरी भुजीखोलामा पहिरो गयो । पहिरोले १ सय २६ घर बगे । बाढीले भुजीखोलाको किनारमा बस्ने २२ जनाको मृत्यु भयो । १७ जना त अझै बेपत्ता छन् ।
पहिरोपछि निजी आबास बनाउन पहिलो पेश्की लिएकाहरु मापदण्ड पूरा नगरी ग्रामीण परिवेशका घर बनाएकोले थप किस्ता पाएनन् । उनीहरुलाई राज्यको सेवाबारे अझै थाहा छैन । घर बनाउन राज्यले दिएको खर्च पनि लिन नआउने धेरै छन् । यो पहिरोको सडकसमेत अझै बनिसकेको छैन । पहिरोले वडा नं. ८ र ९ को खण्डखण्ड गरी झण्डै १० किमी सडक बगाएको थियो । गत जेठमा बल्ल यो सडक सम्याउने काम भएको छ । निर्माणाधीन ढोरपाटन सालझण्डी सडक आयोजनाले पनि यहाँ काम गर्न ढीलाइ गरेको हो ।
अहिले पनि खोलाको सतह बढेमा सडककै ट्रयाकमा आइपुग्ने खतरा छ । ‘पहिरोपछि सडकबाट खोला बगेको थियो, अझै सुरक्षित बनाइएको छैन,’ ज्ञानोदय माविका प्रअ यामबहादुर कायतले भने, ‘व्यवस्थित सडक बनाउने काममा बेवास्ता भइरहेको छ ।’
भुजीखोलामा आगामी वर्ष पनि बाढी र पहिरो आउने सम्भावना उत्तिकै रहेको वरिष्ठ भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठ बताउँछन् । भुजीखोलाको १ सय मीटर दायाँबायाँ बस्ती बसाल्न नहुने उनको सुझाव छ ।
अघिल्लो वर्ष बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा एकै दिन बाढी पहिरो आएर ११ जनाले ज्यान गुमाए । अहिले पनि पीडितका पुनर्निर्माण भएका छैनन् । विपतको बेला आश्रय लिएर बसेकाहरुले आफ्नै घर बनाएर बस्ने अवस्था बनिनसक्दै फेरि बर्खा आइसकेको छ । पुरानो क्षतिमा थप समस्या आउने सम्भावना एकातर्फ छ भने अव्यवस्थित सडकले थप जुनसुकै स्थानमा बाढी पहिरोको वितण्डा मच्चिने खतरा पनि छ ।
उल्लेखित घटनाका पीडितलाई अझै कता बसाल्ने भन्ने योजना बनेको छैन । तमानखोला गाउँपालिकाले एकीकृत बस्ती बनाउने योजना ल्याउन खोज्दा संघीय कानुन बाझियो । वन ऐन विपरीत भएपछि बस्ती बसाल्न कठिन भएको अध्यक्ष जोकलाल बुढाले बताए । छरिएका बस्तीमा सडक लैजाने भन्दा एकीकृत बस्तीको विकास सस्तो हुने उनको तर्क थियो ।
‘हामीले कस्तो ठाउँमा खेती गर्ने, कस्तो ठाउँमा घर बनाएर बस्ने भन्ने नै बुझाउन सकेनौं’ जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले भने, ‘स्थानीय सरकारले अब त्यसबारेमा कडाइ गर्नुपर्छ ।’ खोला, जलासय र सडकको छेवैमा घर जोडेर बनाउने काम रोक्नुपर्ने उनको सुझाव छ । ढोरपाटनको भुजी पहिरो त्यसको उदाहरण हो ।
पछिल्लो समय जलवायु परिवर्तनले बेमौसमी बाढीपहिरो आउँदा बढी क्षति भएको जिल्ला विपत व्यवस्थापन समितिको ठहर छ । ‘अधिकांश क्षति मानवीय कारण भएकोले जथाभावी खनिएका सडक व्यवस्थित बनाउन नसके खोला र नदीको बहाव फेरिएर जोखिम बढ्छ,’ समितिका अध्यक्ष तथा प्रजिअ कृष्णप्रसाद आचार्यले भने, ‘अव्यवस्थित बसोबासीका कारण क्षति बढी भइरहेको छ ।’ कराडौंका सडक तथा पूर्वाधार योजना बनाउँदा सुरक्षा योजना पनि सँगै बनाउन प्राविधिकलाई खटाउन पालिकालाई भनेको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य भन्छन्, ‘विपत परेपछि मात्र हामी समाधान खोज्छौं, त्यो राम्रो होइन ।’ विपतअघि बनाइने योजनाको लागतभन्दा विपतपछिको उद्धारमा सयौं गुणा खर्च भएको उनले बताए ।
बागलुङकै तथ्यांकमा गत आर्थिक वर्ष १६ जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन् । १४ जना घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार गतवर्ष मात्रै ४७ वटा घटनाका पीडितलाई १९ करोड ६७ लाख राहत वितरण गरेको उल्लेख छ ।
एक अध्ययन अनुसार संसारमा सबैभन्दा धेरै प्राकृतिक प्रकोप हुने देशमा नेपाल २० औं नम्बरमा परेको छ । त्यो हुनुमा पहिलो कारण मानवीय त्रुटि नै भएको विज्ञहरुले औंल्याएका छन् । पछिल्लो ३० वर्षको तथ्यांक हेर्ने हो भने पनि त्यो अवस्था देखिन्छ । पछिल्लो ३० वर्षमा औषत भन्दा १३ प्रतिशत बाढी पहिरो र प्राकृतिक प्रकोप बढेको देखिएको हो ।
बढेको प्रकोपले गर्ने क्षति भने दुई तिहाइ बढी हुने गरेको देखिन्छ । सन् २०२१ म भएका प्रकोपमा ४८ प्रसितत बढी क्षति भएको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ । नेपालमा हरेक वर्ष हुने विपतमा बर्सेनि ३ सय नेपालीले ज्यान गुमाइरहेका छन् ।
