नेपाली ब्रो जोडिएको हत्या प्रकरणको कारण ‘विवाहेत्तर सम्बन्ध’

सामाजिक सञ्जालमा लोकप्रियता चुलिँदै जाँदा निजी जीवनमा बढेको दाम्पत्य कलह, प्रेमिकासँगको सम्बन्ध, वैवाहिक बलात्कार र सम्बन्धविच्छेदको विवाद अन्ततः नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको योजनाबद्ध हत्यासम्म पुगेको प्रहरीको निष्कर्ष छ ।

असार १८, २०८३

गौरव पोखरेल

Nepali brother linked to murder case: 'Extramarital affair'

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामले चर्चित कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्या गर्नुको कारण ‘विवाहेत्तर सम्बन्ध’ भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली सेनाका सुवेदारसमेत रहेकी ईश्वरी भुजेलको २२ जेठ राति साढे ९ बजे भएको हत्याको अनुसन्धानपछि परस्त्रीसँगको सम्बन्ध नै हत्याको कारण भएको उल्लेख गरेको हो ।

प्रहरीले थापासँग प्रेम सम्बन्धमा रहेकी प्रतिक्षा आचार्यलाई समेत हत्यामा प्रतिवादी बनाउन माग गर्दै सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रहरी प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलले बुधबार जिल्ला अदालत, काठमाडौंमा दुवै जनासहित अन्यलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गराएको छ । त्यसमा भनिएको छ, ‘प्रतिक्षा आचार्यसँगको प्रेम सम्बन्धलाई लिएर श्रीमतीसँग पटकपटक वादविवाद हुने र कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको देखिएको छ ।’

कुमार थापाले आचार्यसँग सम्बन्धमा नरहने भनेर पटक–पटक मिलापत्र गरे पनि पटक–पटक भेटघाट र फोन सम्पर्क भइरहेको विवरण मिसिलमा समावेश गरिएको छ । त्यसलाई पुष्टि गर्न कुमार र प्रतिक्षाबीच पटक–पटक टेलिफोन कुराकानी भएको देखिने कल डिटेल रेकर्डको विवरण र एउटा भिडियो फुटेजसमेत पेश गरेको छ ।

अभियोगपत्रमा उल्लेख भएअनुसार, विवाद बढ्दै जाँदा भुजेलले थापाविरुद्ध वैवाहिक बलात्कारको कसुरमा जाहेरीसमेत दिएकी थिइन् । ‘त्यो मुद्दा परेपछि सम्बन्ध झन् चिसिएको थियो, म प्रायः घर जान छाडेको थिएँ,’ सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा थापाले भनेका छन्, ‘अदालतमा मुद्दा विचाराधीन रहेको बेला मैले श्रीमतीलाई अदालतमा बकपत्र तथा पेशीमा होस्टाइल भइदेऊ, मुद्दा मिलाऔँ भनेको थिएँ ।’

तर, ईश्वरीले नमानेको, बरु उल्टै जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको उनको भनाइ छ । त्यसपछि एक महिनासम्म आफूले प्रतिक्षा आचार्यलाई नभेटेको, फोनमा मात्र कुरा भएको उनको दाबी छ । 

भुजेलले उनलाई विश्वास गरिनन् र मुद्दा फिर्ता लिइनन् । २२ जेठमा वैवाहिक करणी र सम्बन्धविच्छेदको मुद्दा लगाउमा राखेर पेशी तोकिएको थियो । तर, त्यही दिन कुमारले श्रीमती हत्याको योजना बनाइसकेका थिए ।

सम्बन्धविच्छेदको मुद्दामा पेशी चढेकै दिन हत्या

२२ जेठको राति करिब साढे ९ बजे ईश्वरी बस्ने काठमाडौंको तारकेश्वर–६, पैयुटार सुनसान थियो । तर, उनका श्रीमान् कुमार हत्या गर्ने उद्देश्यले चक्कु बोकेर बसेका थिए ।

सैनिक ब्याण्ड गुल्ममा कार्यरत ईश्वरी भुजेल आफ्नो ड्युटी सकेर स्कुटरमा घर फर्किरहेकी थिइन् । त्यही बेला कार चढेर कुमार थापाले उनलाई पछ्याइरहेका थिए । जब घरबाट केही मिटरको दूरीमा पुगेपछि ईश्वरीले स्कुटर रोकिन्, त्यसपछि पछाडिबाट समात्दै उनले घाँटीमा चक्कु प्रहार गरेको खुलेको अभियोगपत्रमा उल्लेख छ ।

‘पछाडिबाट समातेर हातले अंगालो मारेजस्तो गरेर धारिलो चक्कुले हान्दा उनी लडेकी थिइन्,’ बयानमा कुमारको स्वीकारोक्ति छ, ‘त्यसपछि बालाजुमा रहेको प्रहरी कार्यालयतर्फ आउने बेला पक्राउ परेको हुँ ।’

प्रहरीले घटनास्थलको सीसीटीभी फुटेजसमेत संकलन गरेर बुझाएको छ, जसमा एउटा कारमा थापाले श्रीमतीलाई कुरेर बसेको देखिएको छ । त्यही कारबाट थापा ओर्लिएर श्रीमतीको पछाडि–पछाडि गएकोसमेत देखिएको प्रहरीको भनाइ छ ।

काठमाडौं प्रहरीका अनुसार, घटनापछि उनले प्रयोग गरेको चक्कु बाटोछेउ फालेका थिए । पछि अनुसन्धानका क्रममा ९ इन्च लामो चक्कु बरामद भएको थियो । पक्राउ पर्दा उनले लगाएको टिसर्टसमेत रगताम्ये थियो ।

प्रहरीसँग बयान दिने क्रममा उनले घटना भएको दिन दिनभर श्रीमतीलाई अदालतमा मुद्दाको पेशीका लागि कुरिरहेको दाबी गरेका छन् । तर, उनी उपस्थित नभएपछि निराश भएर फर्किएको थापाको भनाइ छ ।

अदालतबाट फर्किएपछि कुमार आफ्नो चिनजानका पुजन थापा क्षेत्रीको बालाजुस्थित रि–कन्डिसन हाउस पुगेका थिए । त्यहाँ केहीबेर बसेपछि उनीहरू कीर्तिपुरमा आयोजित खेलकुद कार्यक्रममा गए । साँझ फर्किएपछि अर्को साथी सुमन थापासँग खाजा खाए र पुनः रि–कन्डिसन हाउस फर्किए । साँझ करिब साढे सात बजे ‘जिम जान्छु’ भन्दै उनी त्यहाँबाट निस्किएका थिए । तर, जिम नगई उनी सिधै पैयुटारस्थित घर पुगे । त्यहाँ उनले कान्छो छोरा इभानलाई बाहिर लैजान खोजे । 

तर, घरमा काम गर्ने महिलाले नदिएपछि आफू निराश भएको उनको दाबी छ । त्यसपछि जेठो छोरा जेनिसले समेत घर छाड्न भनेपछि आफूलाई रिस उठेको उनको दाबी छ । त्यही रिस र तनावको अवस्थामा उनी फेरि कार लिएर निस्किएका थिए । त्यसपछि उनी बाटोमा कुरेर बसेका थिए ।

अभियोगपत्रमा उल्लेख भएअनुसार, कुमारको सेनामा जागिर खाने क्रममा ईश्वरीसँग चिनजान भएको थियो । ०६१/६२ सालतिर सेनामा भर्ना भएपछि उनको तत्कालीन सिपाही ईश्वरीसँग चिनजान भएको थियो र ब्याण्ड गुल्ममा विगुल तालिम लिने क्रममा प्रेम सम्बन्धमा गाँसिएका थिए । त्यसपछि २०६७ सालतिर विवाह गरेका थिए ।

सामाजिक सञ्जालको ख्यातिले पारिवारिक खटपट

कुमारको जीवनमा सामाजिक सञ्जालको चर्चाले ठूलो मोड ल्याएको देखिने अनुसन्धान अधिकारीहरू बताउँछन् । करिब तीन–चार वर्षअघि उनले टिकटकमा ‘नेपाली ब्रो’ नामबाट भिडियो बनाउन थाले । गाडी, मोटरसाइकल, सामाजिक सन्देश र मनोरञ्जनका भिडियोमार्फत उनी छोटो समयमै चर्चित बने ।

अभियोगपत्रमा समावेश साक्षी तथा आफन्तका बयानअनुसार, यही लोकप्रियताले दाम्पत्य सम्बन्धमा दूरी बढाउन थाल्यो । भिडियोका लागि विभिन्न युवतीहरूसँग काम गर्न थालेपछि ईश्वरी र कुमारबीच विवाद बढ्न थालेको उनीहरूको भनाइ छ ।

कुमार आफैंले पनि बयानमा टिकटकमार्फत धेरै युवतीसँग चिनजान भएको स्वीकार गरेका छन् ।

 ‘सामाजिक सञ्जालमा भाइरल भएपछि थुप्रै केटी साथीहरूसँग भेटघाट, चिनजान भएपछि मैले भ्युज बढाउनका लागि विभिन्न केटीहरूसँग भिडियोहरू अपलोड गर्ने गरेको थिएँ,’ उनले बयानमा भनेका छन्, ‘मैले केटीहरूसँग विभिन्न किसिमका भिडियो अपलोड गरेपछि श्रीमतीलाई मन परेन र विभिन्न शंका गर्न थालेपछि पारिवारिक कलह सुरु भएको थियो ।’

त्यसपछि मेलमिलाप गरेर बसे पनि त्यहीबीचमा कुमारको प्रतिक्षा आचार्यसँग चिनजान भएको पाइएको छ । पछि उनले आचार्यलाई आफ्नो रेस्लिङ खेलको इभेन्ट म्यानेजरसमेत बनाएका थिए । 

त्यसक्रममा आफू प्रेम सम्बन्धमा रहेको र आचार्यलाई प्रेमिका भन्दै २०८२ जेठ–असारतिर भिडियो पोस्ट गरेपछि श्रीमतीले प्रहरी वृत्त, बालाजुमा उजुरी दिएको समेत अभियोगपत्रमा उल्लेख छ ।

‘हामी दुवै पक्ष बसेर त्यस्तो गल्ती दोहोर्‍याउने छैनौं भनेर मिलापत्र गरेका थियौं,’ उनको बयानमा भनिएको छ, ‘तर, फेरि हामी कुराकानी गर्न थालेपछि श्रीमतीले थाहा पाएर दुई–अढाई महिनाअघि श्रीमती, छोरा, काम गर्ने केटी र अर्को एक जना मासी मिलेर मलाई कोठामै कुटपिट गरेका थिए ।’

त्यस विषयमा आफूले जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी गरेको उनले बताएका छन् । दुवै पक्षलाई छलफल गराएर आइन्दा प्रतिक्षा आचार्यसँग नभेट्ने, कुनै सम्बन्ध नराख्ने भनेर कागज गरिएको उनले भनेका छन् । त्यसपछि घरमा भुइँतलामा आफू र माथिल्लो तलामा श्रीमती ईश्वरी बस्दै आएका थिए ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully