चितवनका तीन सामुदायिक वनमा ‘इभिनिङ जिप सफारी’को तयारी, के भन्छन् सरोकारवाला?’

सामुदायिक वनमा सुरु हुने सन्ध्याकालीन जिप सफारीलाई लिएर पर्यटन व्यवसायी उत्साहित छन् भने संरक्षणकर्मीले वन्यजन्तुमा पर्ने असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

असार १८, २०८३

रमेशकुमार पौडेल

Preparations for 'Evening Jeep Safari' in three community forests of Chitwan, what do stakeholders say?

What you should know

चितवन — जिप चढेर जंगल घुम्नु चितवनको पुरानो पर्यटकीय गतिविधि हो । यसरी जिप सफारी गर्दा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, मृगका बथान सानाठूला अनेकौं जीवजनावरदेखि पाटे बाघसमेत देख्न पाइन्छ । जंगलभित्र बिहान र दिउँसोमा मात्रै जिप सफारी हुन्छ । अहिलेसम्म घाम डुब्दा जंगलबाट बाहिर निस्केकनु पर्ने हुन्छ । तर चितवनमै ‘इभिनिङ जिप सफारी’ सुरु गर्ने तयारी भइरहेको छ । नेपालमा पहिलो पटक सुरु हुन लागेको ‘इभिनिङ जिप सफारी’प्रति संरक्षणकर्मीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । 

वन्यजन्तु विज्ञको सुझाव छ–‘सफारी गर्नै नहुने भन्ने त छैन तर समय, बाटोको अवस्था, गाडीको आवाज जस्ता कुरामा ख्याल पुर्‍याउनै पर्दछ ।’ चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वतसँग जोड्ने महत्वपूर्ण र संवेदनशील जैविक मार्ग बरण्डाभार जंगलमा सफारी सुरु हुँदैछ । 

बरण्डाभार जंगललाई भरतपुर गोन्द्राङदेखि पूर्व रत्ननगरको टिकौलीसम्म पूर्वपश्चिम महेन्द्र राजमार्गले चिरा लगाएको छ । राजमार्गदेखि उत्तरमा रहेका रत्ननगर तर्फका तीन वटा पञ्चकन्या, चतुर्मुखी र भीमबली सामुदायिक वनले संयुक्त रुपमा सन्ध्याकालीन अर्थात ‘इभिनिङ सफारी’ सञ्चालन गर्न लागेका हुन् । यी वनमा दिनमा गत वर्षदेखि नै फाट्टफुट्ट जिप सफारी हुँदै आएको छ । ‘हामीले वन जोगाउन मरिमेटेर काम गरेका छौं । करिडोर भएका कारण यहाँ गैंडा, बाघ र चित्तल पनि छन् । काठदाउरा मात्र बेचेर भएन । सम्भावना भएका कारण पर्यापर्यटन सुरु गर्न लागेका हौं,’ चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले भने । उनले गत वर्ष पुसदेखि पञ्चकन्या र चतुर्मुखी वन मिलेर दिउँसोमा जिप सफारी गरेको र अब इभिनिङ सफारी गर्ने योजना रहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले असार १६ मा सूचना निकालेर निकुञ्जभित्र हुने जिप सफारी अस्थायी रुपमा बन्द भएको जानकारी गरायो । बर्खायाममा जंगलभित्रको बाटो बिग्रने कारणले मात्रै हैन निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएका कारण अढाई तीन महिना जति जिप सफारी बन्द हुने निकुञ्जको सूचनामा उल्लेख थियो । 

तर उसै दिन निकुञ्जको महत्वपूर्ण जैविक मार्ग बरण्डाभार जंगलभित्र रहेका सामुदायिक वनहरुले साउनदेखि सन्ध्याकालीन जिप सफारी सुरु गर्ने तयारी गरेको खबर आए । जसको अहिले विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । जसका कारण सरकारी अधिकारीहरु पनि तत्काल सन्ध्याकालीन जिप सफारी सुरु गर्नुभन्दा केही तयारीहरु पूरा गरेर अगाडि बढ्ने योजनामा छन् । 

सन्याकालीन जिप सफारी सुरु हुने समाचार सार्वजनिक भए लगत्तै पशुअधिकार तथा संरक्षणको क्षेत्रमा सत्रिय विभिन्न व्यक्तिहरुको असहमति पनि सार्वजनिक भएको छ । पशु अधिकारको क्षेक्रमा लामो समयदेखि सत्रिय रहेका सौराहाका युवा सुराजन श्रेष्ठले लेखे ‘डिभिजन वन कार्यालयले यो काम तत्काल रोकोस् । वन वन्यजन्तुको घर हो र घरभित्र रातिराति होहल्ला गरेको कसैले मन पराउँदैन ।’

बरण्डाभार क्षेत्र महत्वपूर्ण जैविक मार्ग भएका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग विस्तार हुँदा लामो ओभर पास बनाएर वन्यजन्तुलाई सहज बनाउने कोशिष हुन लागेको उनले स्मरण गराए । तर त्यही वनमा रातमा जिप सफारी गर्नु घातक र मुर्खतापूर्ण कदम भएको उनको भनाइ छ । उनले वन्यजन्तुलाई सम्मान गर्दै पर्यटनबाट लाभ लिनुपर्ने धारणा राखेका छन् । ‘वन्यजन्तु मानव बस्ती छिर्दा आतंक भयो भन्नेहरु रातिराति आवाज निकाल्दै जिपलाई जंगल छिराउनु चाहीँ सफारी ? पैसा कमाउने नाममा यति लालची पनि नबनौं,’ सुराजनले भने ।

संरक्षणकर्मी तथा नेचर गाइड डोमा पौडेल रातको समय वन्यजन्तुका लागि संवेदनशील हुने बताउँछिन् । यस्तो बेलामा सवारीसाधन वनमा छिर्दा उनीहरुको स्वभाविक जीवनचक्रममा अवाञ्छित हस्तक्षेप हुने उनको ठहर छ । डोमाको भनाइ छ, ‘जनावरहरु तनाबमा आएर आक्रामक भए पर्यटक मात्रै जोखिममा पर्दैनन् वनमा घाँसदाउरा गर्न जानेहरु पनि असुरक्षित रहलान् । पर्यटकीय गतिविधिले मानव वन्यजन्तु द्वन्द्व घटाउने हो । अन्जानमै कुनै नयाँ चुनौति सिर्जना गर्ने होइन् ।’ 

धेरै पर्यटक भित्राउनु भन्दा पनि मानिस र वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्ने गरेर पर्यटकीय गतिविधि बढाउन आवश्यक रहेको उनी बताउँछिन् ।  यस्ता कार्यक्रमहरु सुरु हुनुभन्दा अघि पर्याप्त अनुसन्धान हुनुपर्ने माग संरक्षणकर्मी पौडेलको छ । चरा विज्ञसमेत रहेका संरक्षणमर्मी सौराहाका बासु बिडारी ३५ वर्षदेखि पर्यटकलाई जंगल डुलाउने नेचर गाइड पनि हुन् । उनी पनि यसको विपक्षमा छन् । ‘यो महत्वपूर्ण करिडोर हो । जाडोमा जनावरहरु तल झर्दछन् । गर्मीमा माथिल्लो क्षेत्रमा जान्छन् । उनीहरु साँझमा र रातमा पनि ओहरदोहर गर्दछन् । करिडोरमा नै नाइट सफारी गर्दा जनावरको हालत के होला ?,’ बिडारीले भने । रातमा सिकार गर्ने जनावरहरु सफारीले तनावमा ल्याए आक्रमक हुने हुँदा रातको समयमा हुने सफारी बन्द गर्नुपर्ने बिडारीले बताए । ‘दिनमा र रातमा जिप चल्दा जनावरले रेष्ट (आराम) कहिले गर्ने ?’ उनले प्रश्न गरे । 

पश्चिम चितवन मेघौलीका अर्का नेचर गाइड मनेश लिम्बु अलि फरक धारणा राख्छन् । उनले सफारी सञ्चालन गर्नुपर्ने तर नियमन र व्यवस्थापन कडा बनाउनु पर्ने बताए । ‘संरक्षणलाई आर्जनसँग जोड्न नसके संरक्षण मात्र भनेर पनि हुँदैन । यस्तो खाले सफारी अन्य देशमा छ । हामी पनि गर्न सक्छौं,’ उनले भने ।  

सौराहाका पर्यटन व्यवसायीको चासो
बिहान र दिउँसो जंगल सफारी सञ्चालन हुँदै आएको चितवनमा नाइट सफारीको योजना सौराहाका पर्यटन व्यवसायीहरुको हो । सौराहादेखि पूर्वमा रहेका कुमरोजलगायतका मध्यवर्ती सामुदायिक वनहरुमा नाइट जीप सफारी सुरु गर्ने तयारीमा सौराहाका पर्यटन व्यवसायीहरु थिए ।

सन् २०२० मा नेपाल भ्रमण वर्ष सुरु हुन लाग्दा सात वर्षअघि यस्तो तयारी अगाडि बढे पनि कार्यन्वयनमा आउन सकेन । निकुञ्जआडको मध्यवर्ती वनमा नाइट सफारीको योजना अगाडि नबढेपछि अहिले निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा पर राष्ट्रिय वन क्षेत्रमा यो योजना सुरु हुन लागेको हो ।

क्षेत्रीय होटल संघ (हान) सौराहाका अध्यक्ष ओम पाण्डे सन्ध्याकालीन जीप सफारी सुरु भए सौराहा आउने पर्यटकले थप एउटा नयाँ पर्यटकीय गतिविधि अनुभव गर्न पाउने बताउँछन् । ‘यो हाम्रो पहल हो । वन समूहका अध्यक्षहरुसँग पनि बैठक बसेका थियौं । सरकारी निकायले प्रक्रिया अगाडि बढाएका होलान् । सन्ध्याकालीन सफारी सुरु भए पर्यटनमा नयाँ प्रडक्ट थपिने थियो,’ पाण्डेले भने । वन समूहको योजनामा सरकारी निकायले स्वीकृति दिए आफुहरुले सफारी सुरु गर्ने उनको भनाइ छ ।

रात्रिकालीन सफारी भनेर विरोध भएको तर साँझमा मात्र सफारी गराउने उनले बताए । भरतपुरमा रहेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत (डिएफओ) विष्णुप्रसाद आचार्य तत्कालै सफारी सुरु नहुने बताउँछन् । ‘अहिले दुई वटा वनमा दिनमा जिप सफारी चलेको छ । त्यसको कार्ययोजना असारमा सकिन्छ । नयाँ कार्ययोजना बनाउन बाँकी नै छ,’ डिएफओ आचार्यले भने ।

हान अध्यक्ष पाण्डे तत्काल परीक्षणको रुपमा सुरु गर्ने र यसले मोर्केटिङ हुने अनि दसैंतिरबाट औपचारिक रुपमा सफारी चालु पर्न सकिने बताउँछन् । सफारी सम्बन्धी कार्यायोजना साधारणसभाले पास गर्नुपर्ने र त्यसलाई वन कार्यालयले स्वीकृति दिनुपर्ने नियम छ । यो प्रक्रिया सुरु गर्न साउन दोस्रो सातासम्म लाग्न सक्छ । बर्खामा जिप सफारी गर्न मिल्ने अवस्था नरहेको डिएफओ आचार्य बताउँछन् । ‘कार्ययोजनामा सबै समेट्न आवश्यक छ । बिहान र साँझमा जिप सफारी गर्ने भन्ने हो । यी कुरा स्पष्ट कार्ययोजनामा आउनु पर्छ । साँझको पनि समय तय हुनु पर्दछ । गर्मीयाममा बढीमा ८ र जाडोमा ७ बजेसम्म मात्र सफारी गर्न मिल्ने हुन्छ । यी कुरा कार्ययोजनाम आउनु पर्‍यो,’ उनले भने ।

पञ्चकन्या, चतुर्मखी र भीमबलीको एकतर्फी १५ किलोमिटरमा सफारी रुट हुने छ । सफारीको बारेमा सरोकार राख्नेलाई आफुहरुले सकारात्मक रुपमा लिएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङताङ बताउँछन् । ‘जनावरलाई असर पुर्‍याउन हामी चाहदैनौं । जनावर र पर्यटकको सुरक्षा हाम्रो पनि सरोकार हो । जनावरलाई असर नपर्ने गरी हामी सफारी गर्दैछौं । असर नपर्ने भएका कारणले नै स्वीकृति पाउने होला,’ अध्यक्ष स्याङताङले भने ।

वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले साँझमा सफारी सुरु हुनुअघि धेरै तयारी हुनुपर्ने बताए । साँझमा सफारी चलाउने हो भने कम्तीमा आवाज नआउने विद्युतीय गाडी मात्र प्रयोग हुनुपर्ने उनले सुझाए । मान्छेमाथि हुने वन्यजन्तुको आक्रमणका बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका उनले सफारी रुट खाल्डाखुल्टी र अवरोधरहित सरर गाडी गुड्ने हालतमा रहनु पर्ने उनले बताए । ‘यति गरे जनावरलाई लाइटले मात्र असर गर्दछ । त्यसैले समयको पनि ख्याल राख्नु पर्दछ । साँझ छिप्पिने गरी सफारी गर्नु हुँदैन,’ उनले भने ।

सफारीमा जाने गाडीहरु धेरै भए थप असर पर्ने हुँदा जिपको संख्या पनि ख्याल राख्नुपर्ने उनले बताए । होहल्ला नहुने गरी अफ्रिका र भारतमा पनि यस्तो सफारी सञ्चालनमा आएको उनले बताए । जैविक मार्गको संवेदनशीलता बुझेर सफारी सुरु गर्न उनले आग्रह गरे । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully