सुरुमा नागढुंगा–त्रिभुवन विमानस्थल रुटमा दुई वटा र लगनखेल–बुढानीलकण्ठ तथा रिङरोड क्षेत्रमा थप बस सञ्चालनमा आउने, ३ हजार सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान
What you should know
काठमाडौँ — महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने सरकारको घोषणा साउनदेखि मात्र कार्यान्वयनमा आउने भएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा ‘ब्लु बस’ संचालन गर्ने योजना छ ।
सुशासन तथा सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेर सरकारले १३ चैत २०८२ मा ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ सार्वजनिक गरेको थियो । जसमा महिला सुरक्षा, जलन उपचार र सुरक्षित सार्वजनिक यातायातलाई प्राथमिकतामा राखिएको छ ।
सरकारले एक सय दिनभित्र पहिलो चरणमा कम्तीमा २५ वटा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो । यसका लागि सरकारले यातायात व्यवस्था विभाग र साझा यातायातलाई जिम्मा दिएको छ ।
‘अब साउनदेखि संचालनमा आउँछ,’ साझाका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले भने, ‘प्राविधिक र व्यवहारिकरूपमा केही अस्पष्टता देखिएकाले अध्ययनमा थोरै समय लागेको हो ।’ सरकारले महिलाका लागि मात्रै त्यस्ता बस सञ्चालन गर्ने भनेकाले सोही मुताविक कार्यविधि तयार गर्न समय लागेको उनले बताए ।
अर्यालका अनुसार साउनदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा ‘ब्लु बस’ संचालन गर्ने योजना छ । सुरुमा नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गर्ने, अर्को रुट लगनखेल–बुढानीलकण्ठ तथा रिङरोड क्षेत्रमा थप बस सञ्चालनमा आउने र बाँकी बसको पनि रुट व्यवस्थापन भइसकेको उनले बताए । भने, ‘अब अर्थ मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि सेवा संचालनमा ल्याउने छौं ।’
केही व्यवहारिक विषयमा अझै छलफल भइरहेको उल्लेख गर्दै अर्यालले भने, ‘यदि कुनै वृद्धासँग उनका छोरा वा नाति पनि छन् भने उनीहरूलाई पनि ब्लु बसमा चढ्न दिने कि नदिने भन्ने विषय छलफलमा नै छ ।’
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले भने ‘ब्लु बस’ संचालन योजनामा व्यवहारिक कठिनाई रहेकाले सरकारले कार्यान्वयन गर्न नसक्ने टिप्पणी गर्छन् । उनले सरकारले चर्चाका लागि मात्र यो योजना ल्याएको उनको आरोप छ । भने, ‘सरकारले तत्काल परिक्षणका लागि सञ्चालनमा ल्याए पनि यो दिगो रहँदैन ।’
३ हजार ३ सय सार्वजनिक सवारीमा ‘सीसीटीभी’ जडान
सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोक्न सरकारले ३० दिनभित्र सवारी साधनमा ‘सीसीटीभी’, ‘ड्यासक्याम’ तथा ‘राइड सेयरिङ एप’मा ‘एसओएस बटन’ अनिवार्य गर्ने घोषणा गरे पनि पूर्णरूपमा काम हुन भने सकेको छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सबै सवारी साधनमा सीसीटीभी जडान नभएको बताए ।
उनका अनुसार हालसम्म ३ हजार ३ सय ३ सार्वजनिक सवारी साधनमा मात्रै सीसीटीभी जडान गरिएको छ । उनले ट्राफिक प्रहरीसँग सार्वजनिक सवारी साधनको तथ्यांक नरहेकाले अझै कति सवारीमा सीसीटीभी जडान हुन बाँकी छ भन्ने यकिन तथ्यांक नभएको पनि जानकारी दिए । ‘तर सीसीटीभी जडान भएपछि सार्वजनिक सवारीमा हुने विवाद, लैंगिक हिंसा, पाकेटमारी तथा दुर्घटना अनुसन्धानमा उल्लेखनीय सहयोग पुगेको भने छ, यसलाई बिस्तारै गर्दै लग्ने योजना छ,’ सुवेदीले भने ।
