राहदानी खरिद प्रकरणमा नेपालस्थित जर्मन दूतावासले भन्यो- कसैलाई कुनै चेतावनी दिइएको थिएन

जर्मन दूतावासले अदालतमा विचाराधीन मुद्दाबारे सिद्धान्ततः कुनै टिप्पणी नगर्ने र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी नगरेको स्पष्ट पारेको छ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

German Embassy in Nepal says no warning given to anyone in passport purchase case

काठमाडौँ — नेपालस्थित जर्मन दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा प्रकाशित केही समाचार गलत तथा भ्रामक रहेको जनाएको छ। दूतावासले बुधबार यस विषयमा स्पष्ट पार्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई बैठकका लागि निमन्त्रणा मात्र गरिएको जनाएको छ।

दूतावासले जारी गरेको वक्तव्यमा जर्मन संघीय विदेश मन्त्रालयले नेपाली कार्यवाहक राजदूतलाई बैठकका लागि निमन्त्रणा गरेको उल्लेख गर्दै त्यसलाई 'समन' गरिएको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ।

'नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयले बैठकका लागि निमन्त्रणा गरेको हो, समन गरिएको होइन। यो सानो भिन्नता जस्तो लाग्न सक्छ, तर कूटनीतिमा यसको विशेष महत्व हुन्छ,' दूतावासले भनेको छ।

दूतावासले उक्त भेटका क्रममा कुनै पनि विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य आधिकारिक कागजात हस्तान्तरण नगरिएको पनि स्पष्ट पारेको छ। 'उक्त भेटमा कुनै पनि विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य कुनै आधिकारिक कागजात हस्तान्तरण गरिएको थिएन,' दूतावासले भनेको छ।

त्यसैगरी, राहदानी खरिदसम्बन्धी मुद्दामा भइरहेको कानुनी प्रक्रियाको नतिजाका आधारमा सम्भावित परिणामबारे कुनै चेतावनी पनि नदिइएको दूतावासले जनाएको छ। 'यस विषयमा भइरहेको कानुनी प्रक्रियाको नतिजाका आधारमा सम्भावित परिणामबारे कुनै चेतावनी पनि दिइएको थिएन,' दूतावासले भनेको छ।

जर्मन दूतावासले जर्मनीले न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै यो सिद्धान्त जर्मनीको संविधानमै सुनिश्चित रहेको जनाएको छ। साथै, अदालतमा विचाराधीन मुद्दाबारे दूतावासले सिद्धान्ततः कुनै टिप्पणी नगर्ने र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी नगरेको स्पष्ट पारेको छ।

कान्तिपुर

Link copied successfully