प्रमख जिल्ला अधिकारी जनार्दन गौतमले आन्दोलित कैदीबन्दीका समस्या समाधान गर्न पहल भई रहेको बताए ।
कपिलवस्तु — कैदीबन्दीको दुई समुह बिच विवाद हुँदा कपिलवस्तु कारागारको दुई नम्बर ब्लक २२ घण्टा बितिसक्दा पनि सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन । उक्त ब्लकलाई कैदीबन्दी नारायण वलीको समुहले नियन्त्रणमा राखेको छ ।
वली समुहले सोमबार दिउँसो दुई बजेदेखि कारागारको उक्त ब्लक नियन्त्रणमा लिईरहँदा सुरक्षाकर्मी भने भित्र पस्न सकेका छैनन् । मंगलबार १२ बजेसम्म उक्त ब्लक कैदीबन्दीकै नियन्त्रणमा छ ।
अहिले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितको बैठक बसिरहेको छ । प्रमख जिल्ला अधिकारी जनार्दन गौतमले आन्दोलित कैदीबन्दीका समस्या समाधान गर्न पहल भई रहेको बताए । ‘सकेसम्म शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्छौं,’ उनले भने, ‘त्यसपछि पनि भएन भने अन्य विकल्पबारे सोच्छौं ।’
विवाद के हो ?
दुई नम्बर ब्लकका चौकीदार दामोदर थारु तथा मूल नाइके केयरसिंह खत्रीसहितको समूहले शनिबार ४ जना कैदीबन्दीलाई निर्घात कुटपिट गरेर घाईते बनाएका थिए । घाइते हुनेमा मोहम्मद हनिफ मुसलमान, सुजन बिक, निरज कार्की र हबिबुर रहमान रहेका छन् । उक्त घटनापछि २ नम्बर ब्लकमा कैदीबन्दीको समूहबीच आइतबारदेखि नै बिवाद सुरु भएको हो ।
दोषीलाई कारवाही गर्नुपर्ने माग गरे पनि कारागार प्रशासनले बेवास्ता गरेको वलीको आरोप छ । ‘अन्य कैदीबन्दीमाथी नै असुरक्षा बढेपछि आफुहरुले बाध्य भएर कुटपिटमा संलग्न ४ जनालाई नियन्त्रणमा लिई कारागारभित्रै बन्दी बनाएर राखेका हौं,’ वलीले भने ।
कैदीबन्दी वलीका अनुसार, बन्धक बनाएर राखिएकाहरूमा २ नम्बर ब्लकका मूल नाईके खत्री र चौकीदार थारुसहित सह नाइके विजय खत्री र नियाज धुनिया रहेका छन् । उक्त ब्लक भित्र जान नसकिरहेको प्रहरीले बाहिरी सुरक्षा ब्यवस्था कडा बनाएर वार्ताको पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
संचारकर्मीले गरे बन्धकको उद्दार
आन्दोलित कैदीबन्दीले संचारकर्मीसँग आफ्ना माग राखेपछि मात्र प्रशासनसँग थप कुरा गर्ने भनेपछि पत्रकार महासंघ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल र उपाध्यक्ष खगप्रसाद चापागाईं सोमबार राति ९ बजे कारागार पुगेर बन्धक बनाईएका ४ जनालाई उद्दार गर्दै एक नम्बर ब्लकमा ल्याएका थिए । सह नाईके विजयको खुट्टामा चोट लागेकाले सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
कैदीबन्दीको माग के हो ?
बिना कसुर कुटपिट गर्नेलाई कारवाही गर्नु पर्ने, सरकारले तोके बमोजिम कारागार प्रशासनले कैदीबन्दीलाई रासनपानी दिनु पर्ने, कारागार भित्रको क्यान्टिनमा चर्को मूल्य लिन नपाईनेलगायतका माग राखेका छन् ।
कपिलवस्तु कारागारको दुई नम्बर ब्लकमा एकसय ९१ कैदीबन्दी छन् ।
