बिजुलीका पोल सार्न ढिलाइबारे सडक आयोजना भन्छ– ‘प्राधिकरणले सारिदिएन’, प्राधिकरण भन्छ– ‘सडकले पोल राख्न साइट दिएन’
What you should know
काठमाडौँ — गएको ३१ जेठमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल धनगढी पुगेर फर्किंदै थिए । फर्किने क्रममा नागढुंगा–मुग्लिन सडकका विभिन्न खण्डमा ओर्लंदै सडक विस्तारको अवस्था र प्रगतिबारे मन्त्री लम्सालले बुझ्न थाले । निर्माणमा ढिलाइ भइरहेको स्थानीयको गुनासो सुने ।
नौबिसे–मलेखु–मुग्लिन खण्डमा बिजुलीका पोल समयमै सार्न नसक्दा काममा बाधा पुगेको जानकारी लिँदै उनले ठेकेदारलाई ल्याएर राख्नु र काम नगरे खुट्टा भाँचिदिनू भन्दै सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिए । उनको भनाइको चौतर्फी आलोचना भयो । निर्माण व्यवसायीले विरोध गरे । संसद्मा सांसदले पनि प्रश्न गरे ।
खासमा सडक स्तरोन्नति र विस्तारको आधा काम सकिँदा पनि बिजुलीका पोल सार्ने काममा किन हुन्छ ढिलाइ ? कान्तिपुरले मुख्य–मुख्य राजमार्गमा बुझ्दा सडकको आधा काम सकिँदा पनि पोल सार्ने काम नसकिएको पाइएको छ । यसमा सडकको ठेक्का लगाउने र लिने, पोल सार्न ठेक्का लगाउने नेपाल विद्युत् प्राधिकरण र ठेक्का लिने निकाय ढिलो हुनुमा जिम्मेवार देखिए ।
आफू यसबारे कमै जानकार भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । यस विषयमा प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझासँग बुझ्न आग्रह गरे । यता ओझाले भने विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि रहेको र त्यहीअनुसार प्राधिकरणले पोल सार्नेबारे ठेक्का गर्ने गरेको जनाए ।
‘पोल सार्ने ठेक्का कार्यविधिअनुसार नै गरिन्छ,’ ओझाले भने, ‘पोल सार्ने कामले सडक निर्माणमा ढिलाइ भयो भन्नु आरोप मात्र हो । सबै ठाउँमा पोल सार्न ढिलाइ भएको छैन ।’ सडकका तर्फबाट पनि साइट क्लियरमा ढिलाइ भएको उनले सुनाए । ‘सडक विस्तार र निर्माण गर्ने निर्माण व्यवसायीले यो म्याद थप गराउन लगाएको आरोप हो,’ उनले भने, ‘केही ठाउँमा प्राधिकरणले ठेक्का गरेर काम लगाएको ठाउँमा ठेकेदारबाट पनि समस्या भएको छ ।’
एउटै कम्पनीले विभिन्न राजमार्गमा एकै पटक ठेक्का लिएकाले काममा ढिलाइ भएको ओझाको भनाइ छ । प्राविधिक कठिनाइले गर्दा पोल सार्न ढिलाइ हुने गरेको धेरै ठाउँमा बिजुलीका पोल सार्ने ठेक्का लिएको सोहन कन्स्ट्रक्सनका बालकृष्ण कार्कीले बताए । ‘बिजुलीका पोल सार्न प्राविधिक समस्या हुन्छ, सर्टडाउन गर्न र लाइन काट्न समस्या हुन्छ, यसमा अनुभवी मान्छेले मात्र काम गर्नुपर्छ,’ उनले भने ।
आफूहरूले सडकका पोल सारिसकेका ठाउँमा पनि काम नभएको उनको दाबी छ । ‘विद्युत्को लाइन काटेर पोल सार्न खोज्दा कतिपय स्थानमा स्थानीयले गाली गर्छन्,’ कार्कीले भने, ‘छिटो सक्ने गरी नै काम भइरहेको छ ।’ मुख्य राजमार्गको पोल कति दिनभित्र सारिसकिन्छ भन्ने विषयमा भने उनले भने, ‘मलेखु–मुग्लिन खण्डको पोल एक दिनमा, काँकडभिट्टा क्षेत्रमा कुनै समस्या नभए तीन महिना र बुटवल–गोरुसिंगे–चन्द्रौटाको कपिलवस्तुमा चार महिनाभित्र सारिसक्छौं ।’
सवारीको चाप बढी हुने नागढुंगा–मुग्लिन सडक खण्डमा पनि पोल सार्ने काम बाँकी छ । यस खण्डको स्तरोन्नति गरिएको कुल दूरी ९४.६६ किलोमिटर हो । यसलाई तीन खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । पहिलो खण्ड, नागढुंगा–नौबिसे, १२.२६ किलोमिटर, दोस्रो खण्ड नौबिसे–मलेखु, ४३.५४ किमि र तेस्रो खण्ड मलेखु–मुग्लिन ३८.८६ किमि पर्छ । नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्र ६ किमि भएको छ । अझै ६.२६ किमि बाँकी छ । यस खण्डमा एउटा आकाशे पुल निर्माणाधीन अवस्थामा रहेको र समग्र निर्माण प्रगति ८८ प्रतिशत छ । नौबिसे–मलेखु खण्डमा भने अझै पोल सार्ने काम सकिएको छैन ।
यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले लिएको छ । १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यस खण्डको काम जेठ मसान्त २०८२ मा सकिसक्नुपर्ने भए पनि नसकिँदा असोज २०८३ सम्म म्याद थपिएको छ । अहिलेसम्म निर्माण प्रगति ६० प्रतिशत रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । बिजुलीका पोल नसारिदिँदा समस्या भएको उनले गुनासो गरे । ‘२०७९ मै बिजुलीका पोल हटाउने गरी प्राधिकरणसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो,’ ओझाले भने, ‘अझै ७५ वटा पोल हटाउन बाँकी छ ।’ नौबिसेदेखि मुग्लिनसम्मकै पोल सार्ने ठेक्का सोहन कन्स्ट्रक्सनले लिएको हो । ‘समयमै पोल नसारिदिँदा उपलब्ध चौडाइमा मात्र सडक कालोपत्रको काम गर्नुपरेको छ,’ उनले भने, ‘पोल नसार्दा काम गर्न नपाएको निर्माण व्यवसायीको गुनासो छ ।’ नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले पनि १ सय ७ वटा पोल नसारिदिँदा काममा ढिलाइ भएको दाबी गरिन् ।
‘मुग्लिन र मलेखु बजारमा पोल सार्न नपाउँदा काम हुन सकेको छैन, मलेखु बजारमा पोल धेरै छन्,’ उनले भनिन्, ‘फिस्लिङ–चुम्लिङटार खण्डमा पनि समस्या छ ।’ पूर्वाधार विकास मन्त्रालयमा केही दिनअघि भएको छलफलका क्रममा सात दिनभित्र पोल सारिसक्ने निर्णय भए पनि अहिलेसम्म त्यसको ठेक्का लिएको कम्पनी आइनसकेको अधिकारीको भनाइ छ । यस खण्डको पोल सार्ने काम पनि सोहन कन्स्ट्रक्सनले नै लिएको आयोजनाले जनाएको छ ।
अर्को पोल सार्न नसकिएको सडक खण्ड हो, काँकडभिट्टा–लौकही । एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकको दूरी ९५.७६ किमि छ । यस खण्डमा सडकतर्फ तीन र पुलतर्फ दुई प्याकेज बनाएर ठेक्का गरिएको छ । प्रगति भने सोचेअनुरूप छैन । कम प्रगति हुनुको एउटा कारण विद्युत्का पोल समयमै सार्न नसक्नु नै हो । अहिलेसम्म समग्र प्रगति ३७ प्रतिशत मात्र छ । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किमि खण्ड पहिलो प्याकेजमा पर्छ । जसको ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन् । यस खण्डको सम्झौता रकम १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ छ । सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता २ कात्तिक २०८० मा भएको हो ।
तर, निर्माण कार्यादेश भने १९ माघ २०८० (२ फेब्रुअरी २०२४) मा दिइएको हो । कार्यादेश दिएको दिनबाट समयावधि गणना हुने योजना कार्यालयले जनाएको छ । यस खण्डमा अहिलेसम्म २ हजार ४ सय २२ मध्ये ९ सय १४ पोल अझै सार्न बाँकी छ । पोल सार्ने जिम्मा सोहन कन्स्ट्रक्सनले लिएको हो ।
दोस्रो प्याकेजमा सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडक विस्तार पर्छ । यसको ठेक्का सीआरएफजी–तुँदी कम्पनीले संयुक्त लिएका हुन् । जुन खण्डको दूरी ४० किमि छ । यस खण्डमा १ हजार ५ सय ५० पोल सार्नुपर्नेमा अहिलेसम्म १ हजार १ सय २२ वटा स्थानान्तरण गरिएको छ । अझै ४ सय २८ पोल सार्न बाँकी छ ।
तेस्रो प्याकेजका गोठगाउँदेखि सुनसरीको लबिपुरसम्म सडकको दूरी १०.७६ किमि छ । यस खण्डमा पनि समस्या विद्युत् पोलकै छ । ६ सय ६८ मध्ये ३ सय ३१ पोल मात्र स्थानान्तरण गरिएको छ । ३ सय ७ पोल अझै सार्न बाँकी रहेको आयोजनाले जनाएको छ । दोस्रो र तेस्रो खण्डमा पोल सार्ने ठेक्का एवान महाशक्ति जेभीले लिएको हो ।
ठेक्का लिने कम्पनीले बिजुलीका पोल समयमै नसारिदिँदा सडक निर्माणमा प्रगति बढाउन नसकिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए । ‘नयाँ पोल गाडेर तार टाँगेर मात्र भएन, काम गर्ने ठाउँको पूरै पोल हटाउनुपर्छ, त्यो हुन सकेको छैन,’ उनले भने, ‘आयोजना सम्पन्न हुने समय नजिकिँदासम्म पोल सार्ने काम सकिएको छैन । यस्तो अवस्थामा कसरी सडक विस्तारको काम छिटो हुन्छ ?’
पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी–जामुने र जामुने–पोखरा खण्डलाई दुई भागमा विभाजन गरेर ठेक्का गरिएकामा पहिलो खण्डको काम सकिसकेको छ । आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ । दोस्रो खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । प्रगति ८१ प्रतिशत छ । तर जामुने–पोखरा खण्डमा २१ वटा पोल सार्न अझै बाँकी रहेको ढकालले जनाए ।
पोल सार्ने काम नेपाल विद्युत् प्राधिकरणमार्फत हुन्छ । यसका लागि प्राधिकरणले सम्बन्धित आयोजनाहरूसँग रकम लिएर ठेक्का आह्वान गर्छ । ठेक्का लिने कम्पनीले तार, पोल सार्छन् । प्रायः सडकमा एउटै कम्पनीले पोल सार्ने ठेक्का लिँदा समस्या देखिने गरेको छ । एडीबीकै सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको नारायणगढ–हेटौंडा खण्डमा पर्ने बिजुलीका पोल सार्न प्राधिकरणसँग सम्झौता गरिसकिएको ढकालले बताए ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारअन्तर्गत रहेका बिजुलीका पोल सार्ने ठेक्का पनि सोहन कन्स्ट्रक्सनले नै लिएको छ । पटक–पटक ताकेता गरेपछि बल्लतल्ल पोल सार्ने काम सकिने चरणमा रहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोको भनाइ छ । सुरुमा सूर्यविनायक–साँगा खण्डमा ४ सय ५४ र साँगा–धुलिखेलमा ७ सय वटा पोल सार्नुपर्ने थियो । ‘अहिले सूर्यविनायक–साँगा खण्डमा मात्र २५ पोल सार्न बाँकी छ,’ महतोले भने ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकमा पनि निर्माणको प्रगति नबढ्नुको एउटा कारण सडकभर असरल्ल बिजुलीका पोल नै हुन् । बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको ठेक्का सान्सी–गीर्वाण जेभीले लिएका हुन् । यसको ठेक्का रकम १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ छ । पोल सार्ने ठेक्का भने सोहन कन्स्ट्रक्सनले लिएको हो ।
पोल समयमै नसार्दा सडकको काममा ढिलाइ भइरहेको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय गोरुसिंगेकी योजना प्रमुख कुशलता न्यौपानेले बताइन् । ‘२ हजार ३ सय पोल सार्नुपर्नेमा १ हजार ९ सय सार्न बाँकी छ,’ उनले भनिन्, ‘ठेक्का लिने कम्पनीले पोल एक हजार नयाँ गाडेका छन् । नयाँ पोल राखेर तार टाँगिसकेपछि बल्ल पुराना पोल हटाउने हो ।’ रूपन्देहीमा ७ सय र कपिलवस्तु खण्डमा ३ सय नयाँ पोल राखिएको न्यौपानेको भनाइ छ ।
‘बुटवलदेखि कोठीखोलासम्म पोल सार्ने ठेक्का भगवती–रेनु जेभीले लिएको हो,’ न्यौपानेले भनिन्, ‘कोठीखोलादेखि गोरुसिंगेसम्म सोहन कन्स्ट्रक्सनले ठेक्का लिएको हो ।’ बुटवलदेखि कोठीखोलासम्म १ हजार १ सय र कोठीखोलादेखि गोरुसिंगेसम्म ८ सय पोल सार्न बाँकी छ । दुवैतिर गरेर ४४ करोड रुपैयाँमा प्राधिकरणसँग सम्झौता भएको हो । सडकतर्फ समग्र निर्माण प्रगति २५ प्रतिशत छ ।
