कक्षा १२ को नतिजामा असन्तुष्ट विद्यार्थीद्वारा प्रदर्शन

सामाजिक सञ्जालमा शिक्षामन्त्रीको राजीनामा माग

असार १२, २०८३

दया दुदराज

Protest by students dissatisfied with Grade 12 results

What you should know

काठमाडौँ —  

कक्षा १२ को नतिजा प्रकाशनमा लापरबाही गरिएको भन्दै विद्यार्थीले सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको विरोध गर्न थालेका छन् । हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँदै असन्तुष्ट उनीहरूले सामाजिक सञ्जाल टिकटक, रेडिट र फेसबुकमार्फत मन्त्री पोखरेलको राजीनामा मागेका छन् । 

नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तरपुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ५ असारमा सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिन थालेको थियो । युवापुस्ताले बढी प्रयोग गर्ने ‘टिकटक’ र ‘रेडिट’ जस्ता प्लाटफर्महरूमा मन्त्री पोखरेलविरुद्ध तीव्र आक्रोश व्यक्त भइरहेको छ । टिकटकमा ‘रिजाइन सस्मित पोखरेल’ र ‘ग्रेड १२ अनफेयर’ जस्ता ह्यासट्याग र पोस्टरहरू सेयर भइरहेका छन् । ‘ग्रेड १२ अनफेयर’ नामक अकाउन्ट नै खोलेर शिक्षामन्त्रीको राजीनामा माग गरिएको छ । 

‘चक्रदट्रुथ’ नामक टिकटक अकाउन्टबाट पोस्ट गरिएको एक भिडियोमा लेखिएको छ, ‘सरकारको हतारोले हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ, के तपाईंको मन पोल्दैन ? रिजाइन नेपोकिड !’ ‘प्याकेट स्पाई’ नामक अर्को अकाउन्ट र विवेक नामका प्रयोगकर्ताले शिक्षामन्त्री पोखरेलको तस्बिर पोस्ट गर्दै प्रणालीमाथि नै प्रश्न उठाएका छन् । विवेकले लेखेका छन्, ‘हामीले उनलाई शक्तिशाली बनायौं तर उनले हामीविरुद्ध नै नराम्रो गरे । हाम्रो भविष्य, लगानी र मिहिनेत बर्बाद बनाए । राजीनामा, राजीनामा, राजीनामा !’ उक्त भिडियो छोटो समयमै ३ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय भिडियोमा विद्यार्थीले रोएरै आफ्नो समस्या र आक्रोश पोखेका छन् । अन्जुम नामकी एक प्रयोगकर्ताले पोस्ट गरेको भिडियो ५ लाख ३७ हजारभन्दा बढी पटक हेरिएको छ, जसमा उनले परीक्षा बोर्ड र मन्त्रालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

‘छिटो चेक गर्ने भन्दैमा जेपीटी (जथाभाबी) गर्ने ? अब रिचेक (पुनर्योग) गर्ने नाममा प्रतिविषय ५०० देखि १००० रुपैयाँसम्म असुलिँदै छ । के अब नतिजा पनि बिजनेस हो ?’ उनले भनेकी छन्, ‘मैले समग्रमा ‘ए’ ग्रेड त पाएँ तर यो पूर्णतः अन्यायपूर्ण छ । मार्कसिट हेर्दा मलाई विश्वासै लागेन । परीक्षा उत्कृष्ट भएर ‘ए’ भन्दा तल कहिल्यै नआउने विद्यार्थीको ‘सी प्लस’ आएको छ । नतिजा भनेको कागजमा कोरिएको एउटा नम्बर मात्र होइन ! यो हजारौं विद्यार्थीको भविष्य, सपना र कडा परिश्रम हो ।’

टिकटकबाहेक युवामाझ लोकप्रिय अर्को प्लाटफर्म ‘रेडिट’ मा पनि यस्तै आक्रोश देखिन्छ । ‘नेपालप्लसटु’ नामक रेडिट कम्युनिटीमा ‘दिज्एड९७४३’ युजरनेम भएका एक प्रयोगकर्ताले सरकारको प्रचारमुखी शैलीको आलोचना गरेका छन् । ‘३५ दिनमै रिजल्ट निकालेर रेकर्ड बनाएको भन्दै प्रचार गरियो, के यसलाई सिरियसली लिन मिल्छ ? रिजल्ट राम्ररी निकालेको भए पनि हुन्थ्यो । पेपर पनि त्यसरी नै हचुवाको भरमा चेक गरेका छन् । आफूलाई थाहा हुन्छ नि त कति सही र कति गलत लेखिएको छ भनेर, त्यहीअनुसारको अपेक्षा पनि हुन्छ । त्यसमाथि रिटोटलिङका लागि १ हजार रुपैयाँ तोक्नु सरासर लुट हो ।’

गत २८ वैशाखमा सार्वजनिक गरिएको एसईईको नतिजामा लापरबाही भएको गुनासो आएको थियो । परीक्षा दिएको ३० दिनमा सार्वजनिक भएको नतिजाअनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका थिए । नतिजामा चित्पत नबुझेर रिटोटलिङ गर्दा ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा परिवर्तन आएको थियो । जबकि अघिल्ला वर्षहरूमा रिटोटलिङ गर्दा नतिजा परिवर्तन हुने दर ३ प्रतिशत हाराहारी मात्रै हुने गरेको थियो । अघिल्लो वर्षको तुलनामा रिटोटलिङको निवेदन दिने विद्यार्थीको संख्या पनि बढेको थियो । निवेदन परेकामध्ये १ हजार वटा उत्तरपुस्तिका हराएकोसमेत पाइएको थियो ।

चौतर्फी भइरहेको विरोधपछि शिक्षामन्त्री पोखरेलले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै पनि प्रकारको त्रुटि नभएको दाबी गरेका थिए । उनले गत शनिबार आफ्नो फेसबुक पेजमार्फत ५ बुँदे प्रस्टोक्ति दिँदै विद्यार्थी र अभिभावकलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । तर त्यसमा विद्यार्थीले चित्त बुझाएका छैनन् । मन्त्रीको पोस्टमा समीप खनालले लेखेका छन्, ‘छिटो निकाल्ने होडमा विद्यार्थीको भविष्यसँग किन खेलबाड गर्नुहुन्छ ? मेरी बहिनीको ३.८ भन्दा माथि जीपीए आउने निश्चित थियो, प्रि–बोर्डहरूमा पनि त्यस्तै नतिजा ल्याउनेको अहिले कसरी ३.५८ मात्र आयो ? उनी अहिले गम्भीर मानसिक तनावमा छिन् ।’

अर्का प्रयोगकर्ता गौरजराज विष्टले उत्तरपुस्तिका परीक्षणको त्रुटिको आर्थिक भार विद्यार्थीमाथि थोपरिँदा अन्याय भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘धेरै विद्यार्थीको गुनासो उत्तरपुस्तिका परीक्षणमा सोचेभन्दा फरक नतिजा आयो भन्ने छ । परीक्षणका क्रममा मानवीय त्रुटि हुन सक्छ, तर रिटोटलिङ गर्दा विद्यार्थीको नतिजा फरक परेको खण्डमा उक्तबापत लिइएको शुल्क फिर्ता गरिने व्यवस्था हुनुपर्छ । विद्यार्थीको गल्ती नहुँदा पनि पुनः शुल्क बुझाउनुपर्ने व्यवस्था अन्यायपूर्ण छ, यो नियम परिवर्तन गरियोस् ।’

कीर्ति भुसालले विद्यार्थीका लागि नतिजाको गतिभन्दा पनि त्यसको निष्पक्षता र विश्वसनीयता सर्वोपरि हुने उल्लेख गरेकी छन् । ‘हामीले वर्षौंको मिहिनेत, सपना र भविष्य यही नतिजामा राखेका हुन्छौं । त्यसैले केवल उत्तीर्ण प्रतिशत बढ्यो वा नतिजा छिटो आयो भन्दैमा उब्जिएका प्रश्नहरू समाप्त हुँदैनन्,’ उनले लेखेकी छन्, ‘हामीले राज्यसँग कुनै विशेष सुविधा मागेका होइनौं, केवल आफ्नो मिहिनेतको निष्पक्ष मूल्यांकन र जिम्मेवार निकायको जवाफदेहिता खोजिरहेका छौं ।’ शिक्षामन्त्री पोखरेलले यस विषयमा छानबिन गर्न समिति गठन गरेको जनाएका छन् । बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षांक तथा डेटा इन्ट्रीको ‘भेरिफिकेसन’ (प्रमाणीकरण) गर्न समिति गठन गरिएको छ ।’

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully