जापानमा १० महिनामा ६७ नेपालीको मृत्यु

बिरामी भएर मृत्युको हुनेको संख्या कम छ । कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा ‘पत्ता नलागेको’ अर्थात ‘अननोन’ भनेर लेखिएको छ ।

असार ११, २०८३

होम कार्की

67 Nepalis die in Japan in 10 months

What you should know

काठमाडौँ — जापानमा  १० महिनायता ६७ जना नेपालीको मृत्यु भएको छ । त्यसमा २५ जनाले आत्महत्या गरेका छन् । जसमा अधिकांश विद्यार्थी भिसामा काम गर्न गएकाहरु छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार गत श्रावणदेखि  जेठ १८ सम्ममा ६७ जना नेपालीको ज्यान गएको हो । बिरामी भएर मृत्युको हुनेको संख्या कम छ । कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा ‘पत्ता नलागेको’ भनेर लेखिएको छ । 

जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि शव व्यवस्थापन निकै जटिल बनेको बताए । ‘कतिपय परिवारका सदस्यले यहाँ नै अन्तिम संस्कार गर्ने गरेका छन् । कतिपय केसमा अन्तिम संस्कार भइसकेको पछि आफन्तले दूतावासलाई जानकारी पनि दिने गरेको छैन,’ उनले भने ।

जापानबाट नेपालमा शव ल्याउनका लागि झन्डै १२ लाख रुपैयाँ लाग्ने गरेको छ । शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा आएका विद्यार्थीको शवलाई नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन् । त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सर्म्पकमा आउने गरेको छैन । पछिल्लो समयमा जापानमा विद्यार्थी भिसामा भाषा पढ्न भन्दै काम गर्न जान थालेको छ । यसरी गएका विद्यार्थी भिसामा जानेलाई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छैन । श्रम स्वीकृति नलिएको श्रमिकको मृत्यु भएकाको शव ल्याउन वा व्यवस्थापन गर्न वैदेशिक रोजगार बोर्डले खर्च दिने गरेको छैन ।  

मृत्यु वा आत्महत्या भएका नेपालीहरू विशेष गरी निर्माण क्षेत्र, नेपालीबाट सञ्चालित होटल तथा रेस्टुरेन्ट,  सप्लाई कम्पनीमा कार्यरत छन् । जापानमा नेपालीबाट सञ्चालित होटल रेस्टुरेन्टको संख्या करिब ६ हजार छ । रेस्टुरेन्ट सञ्चालकले श्रमिकको स्वास्थ्य बिमा र सामाजिक सुरक्षा रकम भुक्तानी तिर्ने गरेको छैन ।

नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी)ले विभिन्न प्रलोभन देखाएर चर्को शुल्क लिएर पठाइरहेका छन् ।  जापान सरकारको अभिलेखअनुसार सन् २०२५ सम्म १ लाख १६ हजार जना विद्यार्थी जापानमा रहेका छन् । यो संख्या चीनपछि नेपाली दोस्रोमा पर्छ । अहिले जापानमा रहेको आप्रवासीको सूचीमा नेपालको सख्या पाँचौँमा पर्छ । जापानमा कुल नेपालीको संख्या ३ लाख ९ सय ९२ जना रहेका छन् । जसमा स्थायी आवासीय परिचयपत्र लिने नेपालीको संख्या ९ हजार ९ सय आठ जना रहेका छन् ।

गैरआवासीय नेपाली संघ, जापानका अनुसार  उच्च ब्याजमा ऋण काढेर जापान आएका नेपाली विद्यार्थी मानसिक दबाबमा फसेका छन् । ‘जापान महँगो भएकाले कोठाभाडा, खानपिन र ट्युसन शुल्क धान्न २८ घण्टाको कमाइले पुग्दैन,’ एनआरएन जापानका सचिव सचिन आचार्यले भने,‘नेपालको ऋण तिर्न परिवारले पैसा माग्दा मानसिक तनाव हुन्छ । विद्यार्थी भिसाबाट श्रम भिसा लिन भाषा र आवश्यक पर्छ । यो एकदमै कठिन छ । जसले गर्दा आत्महत्या बढ्न थालेको देखिन्छ ।’

उनका अनुसार विद्यार्थी भिसा सजिलो पाइने भएको विद्यार्थी भिसामा श्रमिक आउन थालेको हो । ‘काम नपाउनेले त झन् नेपालबाटै पैसा मगाएर खर्च चलाउनुपर्छ । २८ घण्टाभन्दा बढी काम गरेको भेटिएका केसमा  दैनिक जसो नेपाली पक्राउ परिरहेको छ,’ उनले भने,‘नेपाली दूतावासमा न्यून जनशक्ति छ । जसले गर्दा जेलमा जान दूतावासलाई कठिन भइरहेको छ ।’

जापानमा अध्ययनरत नेपाली विद्यार्थी उमा खत्रीले जीवन निकै कठिन रहेको बताइन् । ‘जापान आएपछि धेरै दु:ख गर्नुपर्छ भनेर मैले सोचेको नै थिइनँ । जापानी भाषामा दख्खल भएर आउनुपर्दोरहेछ । मेहनत गर्नेका लागि राम्रो छ, तर विद्यार्थीलाई कठिन छ,’ उनले भने,‘सिटीमा बस्न निकै महँगो छ । गाउँतिर घरभाडा सस्तो तर काम पाइँदैन । कलेज ८० प्रतिशत उपस्थिति अनिवार्य छ । यो भएन भने भिसा नवीकरणमा समस्या आउँछ ।’

१३ लाख ५० हजार तिरेर जापान पुगेका बागलुङ हिरा श्रीषले हप्तामा २८ घण्टा भन्दा बढी काम गर्नेले पनि खाना, लाउन र ब्याज मात्रै तिर्न नपुग्ने बताए । ‘नेपालबाट धेरै अपेक्षा गरेर आउन सकिन्छ, तर कतिले दुई वर्षभित्र ऋण तिर्नै मुस्किल पर्छ,’ उनले भने,‘नेपालमा सोच्ने र जापानमा भोग्ने वास्तविकता निकै फरक छ । नेपालमा बस्दा धेरैलाई ७०–८० हजार धेरै हो जस्तो लाग्छ  । तर जापानमा एक लाखभन्दा बढी कमाइ हुँदा पनि घर पठाउन सकिँदैन । यही टिक्न पनि कठिन छ । पैसा हातमै बस्दैन ।’

उनले कन्सल्टेन्सीको मिठा कुरामा विद्यार्थी फस्ने गरेको बताए । ‘भाषा एक वर्ष सिक्नुपर्छ । कामको ग्यारेन्टी हुँदैन । पार्टटाइममा पनि धेरै प्रतिस्पर्धा हुन्छ,’ उनले भने,‘ पैसा बचाउन दुईवटा काम गर्नुपर्छ ।  जुन गैरकानुनी हो । यसले भिसा रद्दसमेत हुन सक्छ ।’

जापानमा निश्चित सीपयुक्त कामदारको हैसियतमा जाने निकै कम छ । व्यवसाय र कृषि क्षेत्रमा  प्रशिक्षार्थी कामदार जाने गरेका छन् । नेपाली दूतावासले व्यक्तिगत श्रम स्वीकृति लिएर नपठाउन परराष्ट्रमार्फत श्रम मन्त्रालयमा पत्र पठाएको छ । गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिएर जानेको संख्या मात्रै १८ हजार ७ सय ४४ जना रहेका छन् । जसमा महिला मात्रै ५८ सय मात्रै महिला छन् ।

दूतावासबाट मागपत्र प्रमाणीकरण भएर आएको प्रशिक्षार्थी कामदार समस्या लिएर जानेको अभिलेख भेटिन्छ । ‘उनीहरूको मृत्यु भएमा रोजगारदाता कम्पनी वा नेपालको म्यानपावरलाई नै जिम्मेवार बनाउन सकिन्छ । नेपालमा शव पनि पठाउन सहज छ,’ उनले ‘व्यक्तिगत श्रम स्वीकृति लिएर आएका श्रमिक र विद्यार्थीको अभिलेख दूतावाससँग छैन ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully