ट्राफिक प्रहरीलाई सेवाग्राहीसँग आवश्यक संवाद गर्दा पनि पेशागत मर्यादा कायम राख्न आग्रह ।
काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीको समयमा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन भन्दै मातहतका इकाइलाई निर्देशन दिएको छ । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जारी गरेको आन्तरिक परिपत्रमार्फत ट्राफिक प्रहरी र कर्मचारीलाई हात नमिलाई टाढैबाट नमस्कार गर्न निर्देशन दिइएको हो ।
परिपत्रमा ट्राफिक प्रहरीले चेकजाँच तथा अन्य ड्युटीका क्रममा सवारी चालक लगायत सेवाग्राहीसँग हात मिलाएको दृश्य सामाजिक सञ्जाल र आम नागरिकबाट विभिन्न गुनासोका रूपमा प्राप्त भएको उल्लेख छ । त्यस्ता गतिविधिले गलत सन्देश जाने र प्रहरीको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै कार्यालयले ड्युटीको समयमा चालक वा अन्य सेवाग्राहीसँग हात मिलाउने कार्यलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ ।
परिपत्रमा उल्लंघन गर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ। ट्राफिक प्रहरीलाई सेवाग्राहीसँग आवश्यक संवाद गर्दा पनि पेशागत मर्यादा कायम राख्न भनिएको छ ।
