सडक आयोजना भन्छ : प्राधिकरणले पोल सारिदिएन, प्राधिकरण भन्छ : सडकले साइट दिएन

बिजुलीको पोल सार्ने ठेक्का लिएका ठेकेदार भन्छन् : अब ढिला हुँदैन

असार १०, २०८३

विमल खतिवडा

Road project says: Authority did not move the pole, Authority says: Road did not provide site

What you should know

काठमाडौँ — ३१ जेठमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल धनगढीबाट फर्किंदै थिए । निर्माणमा ढिलाइ भइरहेको जनगुनासो आएपछि फर्किने क्रममा नागढुंगा–मुग्लिन सडकको विभिन्न खण्डमा ओर्लंदै निर्माणको अवस्था र प्रगतिबारे मन्त्री लम्सालले बुझ्न थाले । 

नौबीसे–मलेखु–मुग्लिन खण्डमा बिजुलीका पोल समयमै सार्न नसक्दा काममा बाधा पुगेको भन्दै काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू भने । आयोजना प्रमुखलाई उनले दिएको यो निर्देशनको आलोचना भयो । निर्माण व्यवसायीले विरोध गरे । संसद्‍मा सांसदहरुले प्रश्न गरे । मन्त्री लम्सालले प्रस्ट्याए : मेरो इन्टेन्सन त्यस्तो होइन । 

आखिर, सडक स्तरोन्नति र विस्तारको आधा काम सकिँदा पनि विद्युत्‌का पोल सार्ने काममा किन हुन्छ ढिलाइ ? बिजुलीका पोल समयमै नसार्दा कहाँ–कहाँ भइरहेको छ ढिलाइ ? भनेर कान्तिपुरले मुख्य–मुख्य राजमार्गमा बुझ्दा सडकको आधा काम सकिँदा पनि पोल सार्ने काम नसकिएको पाइएको छ । यसमा चारवटा सडकको ठेक्का लगाउने, ठेक्का लिने, ठेक्का लगाउने नेपाल विद्युत् प्राधिकरण र पोल सार्ने ठेक्का लिने निकाय जिम्मेवार देखिए । पहिला कुरा गरौं सबैभन्दा बढी ट्राफिक जाम हुने नागढुंगा–मुग्लिन सडक खण्डको ।

यस खण्डको स्तरन्नोति गरिएको कुल दूरी ९४.६६ किलोमिटर हो । यसलाई तीन खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । पहिलो खण्ड, नागढुंगा–नौबीसे, १२.२६ किलोमिटर, दोस्रो खण्ड नौबीसे–मलेखु,  ४३.५४ किमि र तेस्रो खण्ड मलेखु–मुग्लिन  ३८.८६ किमि पर्छ । नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्र ६ किमि भएको छ । अझै ६.२६ किमि बाँकी छ । यस खण्डमा एउटा आकाशे पुल निर्माणधिन अबस्थामा रहेको र समग्र निर्माण प्रगति ८८ प्रतिशत छ । नौबिसे–मलेखु खण्डमा भने अझै पोल सार्ने काम सकिएको छैन ।

यो खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामाले जेभीले लिएको छ । १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने भए पनि नसकिँदा असोज २०८३ सम्म म्याद थपिएको छ । अहिलेसम्म निर्माण प्रगति ६० प्रतिशत रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । समस्या विद्युत्का पोल नसार्दा भएको उनले गुनासो गरे ।

‘०७९ सालमै विद्युत्का पोल हटाउनेगरी नेपाल विद्युत् प्राधिकरणसँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो,’ उनले भने, ‘अझै ७५ वटा पोल हटाउन बाँकी छ ।’ 

Road project says: Authority did not move the pole, Authority says: Road did not provide site

नौबीसेदेखि मुग्लिनसम्मकै पोल सार्ने ठेक्का सोहन कन्स्ट्रक्सनले लिएको हो । ‘समयमै पोल नसारिदिँदा उपलब्ध चौडाइमा मात्र सडक कालोपत्रको काम गर्नु परेको छ,’ उनले भने, ‘पोल नसार्दा काम गर्न नपाएको निर्माण व्यवसायीको गुनासो छ ।’ पोल छाडेर काम गर्दा दुर्घटनाको जोखिम रहेको उनले सुनाए । ‘पोल सारेर पनि काम नभएको भए ठेक्का लिने कम्पनीले किन काम गरेन भनेर दोष दिन मिल्थ्यो,’ उनले भने, ‘अहिले अरू कारणले ढिला गरेपनि पोल सार्ने कुरालाई ढिलाइ हुनुको कारण मान्ने भए ।’ सम्झौताअनुसार प्राधिकरणको खातामा पैसा पठाइने उनले सुनाए ।

यो सडक भएर दिनहुँ १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । मलेखु–मुग्लिन खण्डको प्रगति भने तुलनात्मक रूपमा न्यून छ । यस खण्डमा पनि प्रगति कम हुनुको एउटा कारण विद्युत्का पोल समयमै नसार्नु नै रहेको छ ।

पोल सार्ने कम्पनीले १ सय ७ वटा पोल नसारिदिँदा काममा ढिलाइ भएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले बताइन् । ‘मुग्लिन र मलेखु बजारमा पोल सार्न नपाउँदा काम हुन सकेको छैन, मलेखु बजारमा पोल धेरै छन,’ उनले भनिन, ‘फिस्लिङ–चुम्लिङटार खण्डमा पनि समस्या छ ।’ अहिले मौवाखोलादेखि जवाङ खोला खण्डमा कालोपत्र गर्ने तयारी हुँदै छ । पूर्वाधार विकास मन्त्रालयमा केही दिनअघि भएको छलफलका क्रममा सात दिनभित्र पोल सारीसक्ने निर्णय भएपनि अहिलेसम्म सार्ने जिम्मा लिएको कम्पनी आइनसकेको उनको भनाइ छ ।

यस खण्डको पोल सार्ने काम पनि सोहन कन्स्ट्रक्सनले नै लिएको छ । कहिलेसम्म सारीसक्ने भन्ने कुरा नै एमओयूमा नभएको आयोजनाको भनाइ छ । जसले गर्दा ठेक्का लिने कम्पनीले समयमै काम सक्ने गरेका छैनन् । यस खण्डको समग्र प्रगति ४५ प्रतिशत छ । ठेक्का शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लिएको हो । १५ पुस २०७९ मा भएको ठेक्का सम्झौताअनुसार २०८२ पुसभित्र काम सक्नुपर्ने हो । तर नसकिएपछि निर्माण व्यवसायीको मागअनुसार १५ असार २०८३ सम्म म्याद थपिएपनि काम नसकिँदा फेरि म्याद थपको तयारी हुँदै छ । यी तीनवटै खण्डको ठेक्का विश्व बैंकको सहुलियत पूर्ण ऋण सहयोगमा भएको हो । 

त्यस्तै बिजुलीको पोल सार्न बाँकी रहेको सडकखण्ड हो, काँकडभिट्टा–लौकही । एसियन हाइवेअन्तर्गत पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकको दूरी ९५.७६ किमि छ । यस खण्डमा सडकतर्फ तीन र पुलतर्फ दुई प्याकेज बनाएर ठेक्का गरिएको छ । प्रगति भने सोचेअनुरूप छैन । कम प्रगति हुनुको एउटा कारण विद्युत्‌का पोल समयमै सार्न नसक्नु नै हो । अहिलेसम्म समग्र प्रगति ३७ प्रतिशत मात्र छ । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किमि खण्ड पहिलो प्याकेजमा पर्छ । जसको ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन् । यस खण्डको सम्झौता रकम १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ छ । सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता २ कात्तिक २०८० मा भएको हो ।

तर, निर्माण कार्यादेश भने १९ माघ २०८० (२ फेब्रुअरी २०२४) मा दिइएको हो । कार्यादेश दिएको दिनबाट समयावधि गणना हुने योजना कार्यालयले जनाएको छ । यस खण्डमा अहिलेसम्म २ हजार ४ सय २२ वटा पोल मध्ये ९ सय १४ वटा पोल अझै सार्न बाँकी छ । पोल सार्ने जिम्मा सोहन कन्स्ट्रक्सनले लिएको हो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सबै खण्डको ठेक्का भएको हो ।

दोस्रो प्याकेजमा सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडक विस्तार पर्छ । यसको ठेक्का सीआरएफजी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन् । जुन खण्डको दूरी ४० किमि छ । यस खण्डको निर्माण प्रगति ४२ प्रतिशत छ । यस खण्डको ठेक्का रकम भने ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ छ । यस खण्डमा पनि पोल सार्ने समस्या उस्तै छ । यस खण्डमा १ हजार ५ सय ५० पोला सार्नुपर्नेमा अहिलेसम्म १ हजार १ सय २२ वटा स्थानान्तरण गरिएको छ । अझै ४ सय २८ वटा पोल सार्न बाँकी छ ।

तेस्रो प्याकेजमा मोरङको गोठगाउँदेखि सुनसरीको लबिपुरसम्म सडकको दूरी १०.७६ किमि छ । यस खण्डको ठेक्का ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँमा तीन वटा कम्पनी कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन् । यो खण्डको प्रगति २२ प्रतिशत मात्र छ । यस खण्डमा पनि समस्या विद्युत् पोलकै छ । ६ सय ६८ पोल मध्ये ३ सय ३१ वटा पोल मात्र स्थानान्तरण गरिएको छ । ३ सय ७ वटा पोल अझै सार्न बाँकी रहेको आयोजनाले जनायो । दोस्रो र तेस्रो खण्डमा पोल सार्ने ठेक्का एवान महाशक्ति जेभीले लिएको हो ।

ठेक्का लिने कम्पनीले विद्युत्का पोल समयमै नसारिदिँदा सडक निर्माणमा प्रगति बढाउन नसकिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए । ‘कतै सडकको ठेक्का लिने कम्पनीले पहिला काम गरेर पोल सार्ने र कँही विद्युत्को पोल सारेर काम गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘समन्वय गरेर काम गर्नुपर्नेमा एकले अर्कोलाई दोष देखाउँदा काम हुन नसकेको हो ।’ अझै बाँकी रहेका पोल सार्ने काम सुरू हुन सकेको छैन । ‘नयाँ पोल गाडेर तार टाँगेर मात्र भएन, काम गर्ने ठाउँको पूरै पोल हटाउनु पर्छ, त्यो हुन सकेको छैन,’ उनले भने, ‘आयोजना सम्पन्न हुने समय नजिकिदाँसम्म पोल सार्ने काम सकिएको छैन,यस्तो अवस्थामा कसरी सडक विस्तारको काम छिटो हुन्छ ? ’ 

यता पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी-जामुने र जामुने-पोखरा खण्डलाई दुई भागमा विभाजन गरेर ठेक्का गरिएकोमा पहिलो खण्डको काम सकिसकेको छ । आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ । दोस्रो खण्ड जामुने-पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । प्रगति ८१ प्रतिशत छ । तर आँबुखैरेनी–पोखरा खण्डको पश्चिम खण्डमा २१ वटा पोल सार्न अझै बाँकी रहेको ढकालले बताए । ‘सेती पुलदेखि एयरपोर्टसम्मको पोल नसार्दा काम गर्न पाइएको छैन, प्राधिकरणलाई सार्ने, पुर्ने सबै खर्च दिइसकेका छौं,’ ढकालले भने, ‘७६ करोड रुपैयाँ दिन्छौं भनेर सडकको ठेक्का हुनुअघि नै एमओयू भइसकेको हो, यो बेलासम्म पोल सारीसक्नुपर्ने हो ।’ उक्त सडक खण्डको म्याद १५ असारमा सकिँदै छ ।

पोल सार्ने काम नेपाल विद्युत् प्राधिकरणमार्फत हुन्छ । यसका लागि प्राधिकरणले सम्बन्धित आयोजनासँग रकम लिएर ठेक्का आह्वान गर्छ । ठेक्का लिने कम्पनीले तार, पोल सार्ने काम गर्छन् । अधिकांश सडकमा प्रायः एउटै कम्पनीले पोल सार्ने धेरै ठेक्का लिँदा सबैतिर आधा–आधा सारेर हिँड्दा काममा ढिलाइ भइरहेको छ । अहिले एडीबीकै सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको नारायणगढ–हेटौंडा खण्डमा पर्ने विद्युत्का पोल सार्न प्राधिकरणसँग सम्झौता गरिसकिएको ढकालले बताए ।

‘अन्यत्रका सडकमा पोल सार्ने काममा ढिलाइ भएको देखेर प्राधिकरणलाई सुपरभिजन गर्ने, सडडाउन दिने, कामको गुणस्तर हेरिदिन मात्र आग्रह गरेका छौं, यसमा लाग्ने लागत हामी दिन्छौं,’ उनले भने, ‘सार्ने काम सडकको ठेक्का लिने कम्पनीबाटै गर्नेगरी समझदारी गरिसकेका छौं ।’ यता सूर्यविनायक–धुलीखेल सडक विस्तारअन्तर्गत रहेका विद्युत्का पोल सार्ने ठेक्का पनि सोहन कन्स्ट्रक्सनले नै लिएको छ । पटक–पटक ताकेता गरेपछि पोल सार्ने काम सकिने चरणमा रहेको सूर्यविनायक–धुलीखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताए । सुरूमा सूर्यविनायक–साँगा खण्डमा ४ सय ५४ र साँगा–धुलीखेलमा ७ सय वटा पोल सार्नुपर्ने थियो ।

‘अहिले सूर्यविनायक–साँगा खण्डमा मात्र २५ वटा पोल सार्न बाँकी छ,’ प्रमुख महतोले भने, ‘साँगा–धुलीखेल खण्डको सकिइसकेको छ, ठेक्का नेपाल विद्युत् प्राधिकरणमार्फत भएको हो ।’ अरनिको राजमार्गअन्तर्गत भक्तपुर र काभ्रे जोड्ने १५.८ किलोमिटर सडक विस्तार अघि बढाइएको हो । यसको दुई खण्डमा काम भइरहेको छ । एउटा खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । यस खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ५८ प्रतिशत छ । सूर्यविनायक–साँगा खण्डमा डेढ किमि सडक कालोपत्र भएको छ । साँगा खण्डमा एक हप्ता भित्र एक किमि सडक कालोपत्र गर्ने तयारी भइरहेको आयोजनाले जनायो । यस खण्डको म्याद गत २७ पुसमा सकिएर २९ फागुन २०८३ सम्म थप गरिएको छ ।

अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि र निर्माण प्रगति ७० प्रतिशत छ । धुलीखेलतर्फ ६ लेन सडकमा साढे चार किमि पहिलो तहको कालोपत्र भइसकेको छ । यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । म्याद २३ मंसिर २०८३ सम्म थप गरिएको छ । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ६१ प्रतिशत छ ।

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकमा निर्माणको प्रगति नबढ्नुको एउटा कारण,सडकभर असरल्ल रहेका बिजुलीका पोल नै हुन् ।  बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको ठेक्का सान्सी–गिर्वाण जेभीले लिएका हुन् । यसको ठेक्का रकम १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ छ । पोल सार्ने ठेक्का भने सोहन कन्स्ट्रक्सनले लिएको हो । पोल समयमै नसार्दा सडकको काममा ढिलाइ भइरहेको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय गोरुसिंगेकी योजना प्रमुख कुशलता न्यौपानेले बताइन् । ‘२ हजार ३ सय पोल सार्नुपर्नेमा १ हजार ९ सय सार्न बाँकी छ,’ उनले भनिन्, ‘ठेक्का लिने कम्पनीले पोल एक हजारवटा नयाँ गाडेका छन्, नयाँ पोल राखेर तार टाँगिसकेपछि बल्ल पुराना पोल हटाउने हो ।’ उनका अनुसार ७ सय रुपन्देही र ३ सय कपिलवस्तु खण्डमा नयाँ पोल राखिएको हो ।

‘बुटवलदेखि कोठीखोलासम्म पोल सार्ने ठेक्का भगवती–रेनु जेभीले लिएको हो,’ उनले भनिन्, ‘कोठीखोलादेखि गोरुसिंगेसम्म सोहन कन्स्ट्रक्सनले ठेक्का लिएको हो ।’ बुटवलदेखि कोठीखोलासम्म १ हजार १ सय र कोठीखोलादेखि गोरुसिंगेसम्म ८ सय पोल सार्न बाँकी छ । दुवैतिर गरेर ४४ करोड रुपैयाँमा प्राधिकरणसँग सम्झौता भएको हो । त्यसो त सडकतर्फ समग्र निर्माण प्रगति २५ प्रतिशत छ । निर्माणको काम थालेको डेढ वर्ष भयो । सडकके दूरी ५० किमि छ । निर्माणको समयावधि ४ कात्तिक २०८४ सम्म छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सडकको काम सकिनेबेलासम्म पनि बिजुलीका पोल सार्न किन सधैँ ढिला हुन्छ ? भनेर प्रश्न कान्तिपुरले प्रश्न गर्दा उनी तर्किए । उनले आफू यसबारे कमै जानकार भएको भन्दै नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशानालयका उपकार्यकारी निर्देशक नवराज ओझासँग बुझ्न आग्रह गरे । जबकी विद्युत्को पोल सार्न लाग्ने लागत प्राधिकरणअन्तर्गत नै तय हुन्छ । र ठेक्का पनि प्राधिकरणले नै गर्छ । यता ओझाले भने विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि रहेको र त्यहीअनुसार प्राधिकरणले पोल सार्नेबारे ठेक्का गर्नेगरेको बताए ।  

‘पोल सार्ने ठेक्का कार्यविधि अनुसार नै गरिन्छ,’ उनले भने, ‘पोल सार्ने कामले सडक निर्माणमा ढिलाइ भयो भन्नु आरोप मात्र हो,सबै ठाउँमा पोल सार्न ढिलाइ भएको छैन ।’ सडकका तर्फबाट पनि साइट क्लियरमा ढिलाइ भएको उनले सुनाए । ‘सडक विस्तार र निर्माण गर्ने निर्माण व्यवसायीले यो म्याद थप गराउन लगाएको आरोप हो,’ उनले भने, ‘केही ठाउँमा प्राधिकरणले ठेक्का गरेर काम लगाएको ठाउँमा ठेकेदारबाट पनि समस्या भएको छ ।’ सबैभन्दा कम आर्थिक प्रस्ताव पेस गर्नेले ठेक्का पाउने र पाँच वटाभन्दा बढी ठेक्का खरिद नियमावलीअनुसार एउटैले लिन नपाउने उनले बताए ।

‘एउटै कम्पनीले विभिन्न राजमार्गमा ठूला पाँचवटा ठेक्का लिएकाले काममा ढिला भएको हो,’ उनले भने, ‘काम नगरे ठेक्का तोडौंभन्दा फेरि सडकको काम गर्न ढिला हुन्छ भनेपछि रोकिएको हो ।’ प्राविधिक कठिनाइनले गर्दा पोल सार्न ढिलाइ हुने गरेको धेरै ठाउँमा विद्युत्का पोल सार्ने ठेक्का लिएको सोहन कन्स्ट्रक्सनका बालकृष्ण कार्कीले बताए । ‘विद्युत्का पोल सार्न प्राविधिक समस्या हुन्छ, सटडाउन लिन, लाइन काट्न समस्या हुन्छ, यसमा अनुभवी मान्छेले मात्र काम गर्ने हो,’ उनले भने, ‘काँकडभिट्टा–लौकहीको पहिलो खण्डमा काम गरिरहेका छौं ।’ तर पोल सारिसकेको ठाउँमा पनि काम नभएको दाबी उनको छ । कपिलवस्तु खण्डमा आफ्नै व्यक्तिगत कारणले पोल सार्न ढिला भएको उनले स्पष्ट पारे ।

‘विद्युत्को लाइन काटेर पोल सार्ने काम गर्दा स्थानीयले गाली गर्छन्,’ उनले भने, ‘छिटो सक्नेगरी नै काम भइरहेको छ ।’  मुख्य राजमार्गको पोल कति दिनभित्र सारिसक्नु हुन्छ ? भन्ने प्रश्नमा कार्की भन्छन्, ‘मलेखु–मुग्लिन खण्डको पोल एक महिनामा, काँकडभिट्टा खण्डमा कुनै समस्या नभए तीन महिना र बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको कपिलवस्तु खण्डमा चार महिनाभित्र सारिसक्छौं ।’ 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully