एक साताभित्रै प्रतिवेदन पेस गर्ने समितिको तयारी ।
सुर्खेत — हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद समाधानका लागि गठित अध्ययन समिति दुई जिल्लाको स्थलगत अध्ययन गरी फर्किएको छ । सरकारले गत जेठ १० गते सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । समितिले झन्डै एक साता लगाएर सीमाबारे अध्ययन गरेको हो । समितिले त्यसबारेको प्रतिवेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गर्नेछ ।
समितिमा डंगोलसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव हरिप्रसाद गुरागाईँ, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव खिमानन्द अर्याल र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव नारायण शाह सदस्य छन् ।
‘हामीले दुवै जिल्लाका सदरमुकामसहित विवादित क्षेत्र लाम्पाटा पुगेर सुरक्षा अधिकारीहरू, सरोकारवाला र स्थानीयसँग छलफल गरेर यथार्थ कुरा बुझ्ने काम गरेका छौँ,’ संयोजक डंगोलले भने, ‘प्रतिवेदन तयार हुँदैछ, अहिलेसम्मका अभिलेख र आवश्यक कागजात अध्ययनको काम पनि जारी छ ।’ उनले प्रतिवेदन तयार भएपछि एक साताभित्रै सम्बन्धित मन्त्रालयमा पेस गर्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार असार २ गतेदेखि हुम्ला सदरमुकाम सिमकोट हुँदै स्थलगत अनुगमनको काम थालिएको थियो भने सोमबार बाजुरा सदरमुकाम मार्तडीबाट अध्ययन सकिएको छ ।
टोलीलाई हुम्लाको तर्फबाट संकलन गरिएका प्रमाण, विभिन्न तथ्यसहित यसअघिका अदालतका फैसलालगायत कागजात बुझाइएको जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले बताए । त्यस्तै बाजुरामा पनि सरोकारवाला, स्थानीय र जनप्रतिनिधिहरूसँग टोलीले सीमाबारे छलफल गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
‘हामीले समितिले मागेका आवश्यक कागजातसहित जिल्लाको तर्फबाट दिनुपर्ने राय–सुझाव टोलीलाई दिएका छौँ,’ उनले भने, ‘समितिले आवश्यक छानबिनपछि आवश्यक निर्णय गर्ला ।’ बाजुराको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले समितिले न्याय दिनेमा आफूहरू विश्वस्त रहेको बताइन् ।
दुवै जिल्लाका बासिन्दाबीच रानीसैन क्षेत्रको स्वामित्वलाई लिएर विवाद भइरहेको हो । रानीसैन साइपाल हिमालको फेदी हो, जहाँ हुम्ला, बझाङ र बाजुरा गरी तीन जिल्लाको सीमा क्षेत्र पर्छ । त्यस्तै रानीसैन जाने मुख्य बाटो लाम्पाटा बाजुराको हिमाली, हुम्लाको नाम्खा, सिमकोट र सर्केगाड गाउँपालिकाको सीमा क्षेत्र हो ।
लाम्पाटा क्षेत्रमा खार्पुनाथ गाउँपालिका–२ का राय र थालीका बासिन्दाले चरिचरन र खर्क प्रयोग गर्दै आइरहेका थिए । तर बाजुराका स्थानीयले लाम्पाटामा प्रहरी चौकी स्थापना गर्न लागेको भन्दै हुम्लाका बासिन्दाले अवरोध गरेका थिए । सुदूरपश्चिम सरकारको ४० लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत भवनलगायतका संरचना निर्माण हुन लागे पनि हुम्लाका बासिन्दाले अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवादका कारण दुवै जिल्लाका बासिन्दाबीच पटक–पटक झडप र कुटपिटका घटना भएका थिए भने झन्डै एक साता कर्णाली राजमार्ग बन्द गरिएको थियो ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटाका स्थानीयमाथि कुटपिट गरेको आरोपमा हुम्ला प्रहरीले खार्पुनाथ गाउँपालिकाका २१ जनालाई पक्राउ गरिसकेको छ । गत जेठ ३ गते दुवै जिल्लाका बासिन्दाबीच झडप हुँदा बाजुराका ४ जना घाइते भएपछि हुम्लाका २१ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी परेको थियो । किटानी जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गरी थप अनुसन्धानका लागि बाजुरा प्रहरीको जिम्मा लगाइएको हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर खड्काले बताए ।
दुवै जिल्लाको सीमा विवादसम्बन्धी घटनाको छानबिनका लागि गृह मन्त्रालयले अर्को समितिसमेत गठन गरेको थियो । मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विमलराज कँडेलको संयोजकत्वमा बाजुरा प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा, कर्णाली प्रदेश प्रहरी कार्यालयका डीएसपी सुगन्ध श्रेष्ठलगायतको ४ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले १० दिनको अनुसन्धानपछि घटनाबारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा बुझाएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए ।
‘टोलीले प्रतिवेदन बुझाइसकेको छ,’ उनले भने, ‘समितिको प्रतिवेदनबारे मन्त्रालयले थप निर्णय गर्ला ।’ उनका अनुसार अहिले विवाद समाधानतिर गएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले लाम्पाटा क्षेत्रको सुरक्षाका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको बताए । उनका अनुसार २१ जना सशस्त्र प्रहरी र ७ जना नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
