रास्वपा विधानको मस्यौदामा पार्टीको दृष्टिकोण र आदर्शका रूपमा पूर्ण लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजवाद, समन्यायिक समावेशिता, योग्यता, सुशासन, सदाचार तथा सनातन सभ्यता र संस्कृतिको सहअस्तित्व उल्लेख गरिएको छ।
What you should know
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी विधानमै ‘पूर्ण लोकतान्त्रिक गणतन्त्र’ उल्लेख गर्दै आफ्नो राजनीतिक दर्शन र वैचारिक दृष्टिकोणलाई थप स्पष्ट पारेको छ।
कान्तिपुरलाई प्राप्त पार्टी विधानको मस्यौदामा पार्टीको दृष्टिकोण र आदर्शका रूपमा पूर्ण लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजवाद, समन्यायिक समावेशिता, योग्यता, सुशासन, सदाचार तथा सनातन सभ्यता र संस्कृतिको सहअस्तित्व उल्लेख गरिएको छ।
यसअघि २०८२ सालमा संशोधन गरिएको विधानमा पार्टीको दर्शन र प्रतिबद्धताअन्तर्गत विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणप्रतिको समर्पण, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र तथा व्यक्तिगत स्वतन्त्रता र मानवअधिकार मात्रै उल्लेख थियो। त्यसबेला 'गणतन्त्र' भन्ने शब्द नै समावेश गरिएको थिएन।
प्रस्तावित विधानमा पार्टीको राजनीतिक आधार र वैचारिक दृष्टिकोणको व्याख्यासमेत गरिएको छ। त्यसमा भनिएको छ, ‘वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूतिसहित बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तथा विधिमा आधारित जवाफदेहीपूर्ण सुशासन।’
त्यसैगरी, ‘शान्तिपूर्ण मार्गबाट समाजवादका प्रमुख लक्ष्य हासिल गर्दै राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालन गर्ने संवैधानिक समाजवाद’लाई पनि पार्टीको वैचारिक आधारका रूपमा उल्लेख गरिएको छ।
प्रस्तावित विधानअनुसार पार्टीको केन्द्रीय समितिमा सभापतिसहित १३६ सदस्य रहने व्यवस्था गरिएको छ। तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
नयाँ विधानमा केही विभागको नामसमेत परिवर्तन गरिएको छ। नीति तथा विचार विभागलाई नीति तथा अनुसन्धान विभाग, प्रचारप्रसार विभागलाई प्रचारप्रसार तथा सञ्चार विभाग, मानवीय विकास प्रवर्द्धन विभागलाई प्रशिक्षण तथा क्षमता विकास विभाग, संगठन विभागलाई संगठन तथा सदस्यता विभाग तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रवास नेपाली विभाग नामकरण गर्ने प्रस्ताव गरिएको छ।
यसैगरी, उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य हुने प्रावधान पनि विधानमै समेट्ने तयारी गरिएको छ। रास्वपाले विधान संशोधनका लागि सहमहामन्त्री तथा सांसद् विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाशचन्द्र परियार र सुशान्त वैदिक सदस्य थिए।
