काठमाडौंको ह्याम्स अस्पतालमा ९ दिन उपचार गर्दा उनको उपचार खर्चको बिल ४ लाख रुपैयाँ पुगेको थियो । अस्पतालका अनुसार, उक्त रकम बिमाबाट भुक्तानी हुने छ ।
What you should know
काठमाडौँ — सगरमाथा आरोहणका क्रममा मृत्युलाई नजिकबाट जितेर फर्किएका उच्च हिमाली गाइड दावा शेर्पा (हिलारी)को उपचार र पारिवारिक पुर्नस्थापनाका लागि विश्वभरबाट आइतबारसम्म करिब ८१ लाख रुपैयाँ (४० हजार पाउन्ड भन्दा बढी) सहयोग संकलन भएको छ ।
जेठ १५ गते पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गाइडको भूमिकामा गएका बेला आरोहण नसकेर फर्किरहेका बेला ओखलढुंगाका ५७ वर्षीय दावा सगरमाथा क्षेत्रमा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । ६ दिनपछि जेठ २१ गते खुम्बु आइसफल क्षेत्रमा फेला परेका उनको उपचारका क्रममा सहयोगार्थ अन्तर्राष्ट्रिय स्तरमा सुरु गरिएको ‘गोफन्डमी’ अभियानमार्फत उक्त रकम जुटेको हो ।
बेलायती नागरिक स्टेफन सेलम्यान र नेपालमा अभियानका समन्वयकर्ता नुरु शेर्पा (दावाका जेठान) तथा उनकी छोरी मेन्दो ल्हामु शेर्पा सम्मेलित कोष संकलन अभियानले आठ दिनमा लक्ष्यभन्दा बढी रकम संकलन गरेको जनाइएको छ । सेलम्यानले आइतबार मात्रै पछिल्लो अपडेट भन्दै ‘४० हजार पाउन्ड’ लक्ष्य अनुसार सहयोग संकलन भएको भन्दै दावा शेर्पाबाट आएको पछिल्लो धन्यवाद सन्देश गोफन्डमीमा राखेका छन् ।
उनका अनुसार, सुरुमा ११ हजार पाउन्डको लक्ष्य राखेर सुरु गरिएको सहायता संकलन अभियानमा सहयोगको ओइरो लागेपछि लक्ष्य क्रमशः बढाउदै ३५ हजार पाउन्ड पुर्याइएको थियो । ३० जेठ सम्ममा ३५ हजार पाउन्डको सीमा पनि पार भएर आइतबार सम्म ४० हजार पाउन्ड (८१ लाख रुपैयाँ)भन्दा बढी संकलन भइसकेको छ । सेलम्यानले सगरमाथा आरोही, सामाजिक सञ्जालका प्रख्यात व्यक्तित्व र साहसिक यात्राका कन्टेन्ट क्रिएटरहरूसाग समन्वय गरी यो कोष जुटाएको बताएका छन् ।
उनले निकट भविष्यमै नेपाल आएर यो रकम दावाको परिवारलाई प्रत्यक्ष हस्तान्तरण गर्ने योजना रहेको भनेका छन् ।
अभियानका नेपाल संयोजक नुरु शेर्पाले यो ऐक्यबद्धता केवल एउटा परिवारको आर्थिक सहायता मात्र नभएर हिमालका पर्दा पछाडिका नायकहरू (पर्वतारोहण श्रमिक) प्रतिको सम्मान भएको इन्स्टाग्राममा लेखेका छन् । ‘दयालुता र मानवताको कुनै सीमा हुदैन भन्ने यस अभियानले पुष्टि गरेको छ,’ नुरुले लेखेका छन्, ‘हिलारी दावा एक जिम्मेवार पति र पिता हुन । यो सहयोगले उनको उपचार र परिवारको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नेछ ।’
नयाँ जीवन पाएका हिलारी दावाले अस्पतालबाट निस्कीएपछिका तस्बिरहरु ‘गोफन्डमी’ मार्फत सार्वजनिक गरेका छन् । उनले विश्वभरका दाताहरूप्रति आभार प्रकट गरेका छन् । उनले सगरमाथाको घटनालाई आफू नहराएको बरु दुर्घटनामा परेको दाबी गरेका छन् ।
गोफन्डमीमा उनले भनेका छन, ‘हामी करिब ८,४०० मिटरको उचाईसम्म पुगेका थियौं । तर साँझ परेकाले तीव्र गतिमा अघि बढ्न नसक्ने देखेपछि सुरक्षित रूपमा फर्किने निर्णय गर्यौं । यसअघि सगरमाथाको सफल आरोहण गरिसकेको दाबी गरेका दाबाले सात पटकसम्म साउथ कोलसम्म पुगेका अनुभव भएको बताउदै भनेका छन्, ‘साउथ कोलबाट ओर्लिने क्रममा प्रतिकूल मौसम र अत्यधिक भारका कारण मेरो गति ढिलो भएको थियो । सोही क्रममा खुम्बु आइसफल क्षेत्रमा लडेर म गम्भीर घाइते भएको थिएँ ।’
६ दिनसम्म बेपत्ता भएका दावाले भनेका छन्, ‘म करिब तीन दिन आइसफल क्षेत्रमा अलपत्र परे । त्यो अवधिमा म मृत्युको अत्यन्त नजिक पुगेको थिए । लागेको थियो, मेरो जीवनयात्रा त्यही सकियो । तर, भगवानको कृपाले बाचे । यो मेरो दोस्रो जीवन हो ।’
अभियानका संयोजक स्टेफनका अनुसार हिलारी दावा ह्याम्स अस्तालको सघन उपचार कक्ष (आईसीयू) बाट बाहिरिए पनि उनको स्वास्थ्य चुनौती अझै बाँकी छ । अत्यधिक चिसोमा लामो समय बिताएका कारण उनको रगत जम्ने अवस्थामा पुगेको र पक्षघातको जोखिम रहेको चिकित्सकहरूले औंल्याएका थिए । हाल उनको दायाँ खुट्टा गम्भीर रूपमा मर्किएको र चलाउन नसकेका कारण सुधार नआए शल्यक्रिया गर्नुपर्ने अवस्था छ । यस्तै, हातका औलाहरूमा फ्रोस्टबाइटको कडा असर देखिएकाले केही आौलाहरू काट्नुपर्ने सम्भावनाबारे चिकित्सकहरूले परिवारलाई पूर्वजानकारी गराएका छन् ।
यद्यपि, खुट्टाका औलाहरूमा भने फ्रोस्टबाइट देखिएको छैन । दुर्घटनापछि उनको तौल उल्लेख्य घटेकाले अहिले थोरै–थोरै मात्रामा खाना खुवाउँदै उपचार अघि बढाइएको छ । शारीरिक रूपमा निकै कमजोर भए पनि उनी स्पष्ट रूपमा बोल्न र संवाद गर्न सक्ने अवस्थामा छन् ।
खुम्बु क्षेत्रबाट २१ जेठमा उद्धार गरीएका दावालाई हेलिकोप्टरबाट त्यही दिन ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ह्याम्सले २८ गते डिस्चार्ज गरेको थियो । अस्पतालका एक निर्देशकका अनुसार, उनको उपचारको बिल ४ लाख रुपैयाँ हाराहारी उठेको थियो । उक्त रकम बिमाबाट भुक्तानी हुने ती निर्देशकले दावालाई डिस्चार्ज हुँदा बताएका थिए । यो घटनाको पर्यटन प्रहरी कार्यालय भृकुटीमण्डपले छानबिन गरीरहेको छ । अध्ययन प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन ।
