राहदानी मौज्दात घट्दै, केही सातामै पासपोर्ट संकट गहिरिन सक्ने चिन्ता

अहिले राहदानीका लागि दैनिक औसत ६ हजार आवेदन पर्ने गरेको छ। तर दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म मात्रै राहदानी वितरण हुँदै आएको छ । एक कर्मचारीले भने, ‘यस्तै अवस्था रहे दैनिक वितरण हुने राहदानीको संख्या झन् घट्न सक्ने सम्भावना छ।’

असार ९, २०८३

अनिल गिरी

Passport stock dwindling, concerns that passport crisis could deepen within weeks

What you should know

काठमाडौँ — राहदानी खरिदसम्बन्धी ठेक्कामा अनियमितता भएको आशंकामा अनुसन्धान सुरु भएसँगै राहदानी विभागमा पासपोर्टको मौज्दात सकिँदै गएको छ।

पासपोर्टको मौज्दात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। राहदानी खरिदसम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो।

विभागका अनुसार अहिले राहदानीका लागि दैनिक औसत ६ हजार आवेदन पर्ने गरेको छ। तर दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म मात्रै राहदानी वितरण हुँदै आएको छ। नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, ‘अब दैनिक वितरण हुने राहदानीको संख्या झन् घट्न सक्ने सम्भावना छ।’ विभागकै अर्का एक  उच्च अधिकारीले भने अहिलेकै गतिमा निरन्तर छपाइ गर्दा मौज्दात पासपोर्टले केही दिनमात्रै माग धान्न सक्ने र अभाव चुलिन सक्ने बताए।

‘सामान्य पासपोर्टको स्टक घटेर ४७ हजारभन्दा कममा झरेको छ र अब केही सातासम्म मात्रै माग धान्ने अवस्था छ। यो अवस्थालाई चाँडै कसरी सम्हाल्ने भन्ने चिन्ता छ,’ मन्त्रालयका एक सहसचिवले भने, ‘एकातर्फ दुई जर्मन कम्पनीसहित हाम्रा अधिकारीहरुविरुद्ध मुद्दा चलाइएको छ, जसले परराष्ट्र मन्त्रालयमै रिक्तता सिर्जना गरेको छ। यस्तो अवस्थामा राहदानी विभागको नेतृत्व गर्ने जोखिम कसले मोल्न चाहन्छ भन्ने पनि स्पष्ट छैन।’

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार आगामी सातादेखि पासपोर्ट संकट थप गहिरिन सक्छ। उनले दुई जर्मन कम्पनीसँग कसरी काम गर्ने वा के गर्ने भन्ने विषय टुंगो नलागेकाले नयाँ समस्या निम्तिन सक्ने बताए।

‘अहिलेको समस्या समाधानका लागि हामी फ्रान्सेली कम्पनीसँग केही पासपोर्ट खरिद गर्नेछौं,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘त्यसपछि फ्रान्सेली कम्पनीसँग सहमति गर्ने वा नयाँ टेन्डर आह्वान गर्नेबारे निर्णय हुनेछ।’

अख्तियारले असार १ गते राहदानी विभागका महानिर्देशक अर्याल, विभागकै सूचना प्रविधि निर्देशक केसी तथा ठेकेदार कम्पनीमध्ये एक म्युहलबाउरका नेपाल प्रतिनिधि मल्ललाई प्रधानमन्त्री कार्यालयबाट नियन्त्रणमा लिएको थियो।

महानिर्देशक अर्याललाई नियन्त्रणमा लिनुअघि प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका कर्मचारीले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयोगका पदाधिकारीलाई सिंहदरबारमै बोलाएर राहदानी अनियमितता प्रकरणमा छिटो अनुसन्धान गर्न दबाब दिएका थिए।

अख्तियारले सोमबार १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खरिद प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि अनुसन्धानमा तानिएकी थिइन्। त्यही प्रयोजनका लागि बयानमा उपस्थित हुन भन्दै अख्तियारले बूढानीलकण्ठस्थित जेन–जी आन्दोलनका क्रममा जलेको घरमै पुगेर आरजुका नाममा तीनदिने सूचना टाँसेको थियो।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully