विल क्याथकार्टले पदबाट राजीनामा दिएपछि क्रेडका संस्थापक कुनाल शाह ह्वाट्सएपको प्रमुख नेतृत्व बन्न लागेका हुन् ।
काठमाडौँ — विश्वभरका करिब ३ अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेको म्यासेजिङ एप ह्वाट्सएपमा नेतृत्व परिवर्तन हुने भएको छ । भारतीय वित्तीय-प्रविधि (फिनटेक) कम्पनी, क्रेडका संस्थापक कुनाल शाह ह्वाट्सएपका प्रमुख नेतृत्व (ग्लोबल हेड) बन्ने भएका हुन् ।
ह्वाट्सएपका वर्तमान प्रमुख विल क्याथकार्टले राजिनामाको घोषणा गरेका छन् । क्याथकार्टले विगत सात वर्षयता ह्वाट्सएपको नेतृत्व गरेका थिए । उनले अब मेटा कम्पनीभित्रै नयाँ प्रोडक्ट विकास गर्ने जिम्मेवारी सम्हाल्नेछन् । सीईओ हेरफेरबारे सोमबार मेटाका प्रमुख मार्क जकरबर्गले फेसबुक र एक्समा पनि लेखेका थिए ।
जकरबर्गले कुनाल शाहको प्रशंसा गरेका छन् । नेतृत्व परिवर्तनसँगै मेटाले शाहको कम्पनी क्रेडमा ९० करोड डलर लगानी गर्ने भएको छ । ह्वाट्सएपले पछिल्लो समय भारतमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन खोजिरहेको छ । कुनाल यसै साता बेङ्गलुरुबाट क्यालिफोर्निया बसाइ सर्ने भएका छन् ।
शाहले ह्वाट्सएपको जिम्मेवारी सम्हाले पनि क्रेडको शेयरधनीका रूपमा भने कायमै रहनेछन् । क्याथकार्टले ह्वाट्सएप अहिले निकै बलियो अवस्थामा रहेको र पद छोड्ने यो सही समय भएको प्रतिकृया दिएका छन् ।
मेटाले सन् २०१४ मा १९ अर्ब डलरमा ह्वाट्सएप खरिद गरेको थियो । सन् २००९ मा जन कुम र ब्रायक एक्टनले यसको स्थापना गरेका थिए । गत महिनामात्रै मेटाले ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामको सब्स्क्रिप्सन प्लान शुरु गरेको थियो । अब एआईसहितका फिचरका लागि पनि स:शुल्क सेवाबारे परिक्षण गर्ने कम्पनीले जनाएको छ ।
