चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले उद्घाटन कार्यक्रममा १५ हजार लिटरभन्दा बढी मही बिक्री भएको बताए ।
What you should know
चितवन — गर्मीले असिन पसिन भएकाहरूलाई चिसो महीले थोरै भए पनि राहत दिएको थियो । यो बेला पहाडी भेगमा चिउरी पाकेको छ । रसिलो र स्वादिलो चिउरी डोकाभरी राखेर बेच्न भरतपुर आइ पुगेका थिए चेपाङहरू । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार भरतपुरमा उद्घाटन भएको पहिलो राष्ट्रिय महाधिवेशनका सहभागीहरूले यी दुई रैथाने उत्पादन चाख्न पाए ।
उद्घाटनस्थलमा स्टल नै राखेर दुग्ध विकास संस्था (डीडीसीले दही र मही बेचेको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पनि मही बेच्न स्टल नै राखेको थियो । कार्यक्रम सुन्न आएका पार्टीका सुभचिन्तक, समर्थ र अन्य सर्वसाधारणले किनेर नै मही खाइरहेका थिए । मञ्चमा आसिन अतिथिहरूले पनि मही पिउँदै तिर्खा मेटे ।
जिल्लाका विभिन्न दुग्ध उत्पादक सहकारीहरूले दहीबाट मही बनाउँदै ४ वर्षयता बेच्दै आएका छन् । गाउँघरमा दही मथेर घ्यु निकाल्ने र मही खाने तथा बाँड्ने पुरानो चलन हो । अचेल दुग्ध सहकारीहरूले व्यवसायिक रुपमा मही उत्पादन गरेर बेच्दै आएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगाले उद्घाटन कार्यक्रममा १५ हजार लिटरभन्दा बढी मही बिक्री भएको बताउँछन् ।
‘हाम्रो संघले पनि उत्पादन गरेको छ । हाम्रो मात्रै ५ हजारभन्दा बढी बोतल मही गयो भन्ने छ । अन्य दुग्ध सहकारी र निजी डेरी तथा डीडीसीले पनि मही बेचेका छन् । १५ हजार लिटरभन्दा बढी नै मही बिक्री भयो होला’ अध्यक्ष बगालेले भने । महीको खुला मुल्य आधा लिटरको ४० रुपैयाँ र एक लिटरको बोतलको ७० देखि ८० रुपैयाँ पर्ने बगालेले जानकारी दिए ।
‘उद्घाटन कार्यक्रममा राम्रो बिक्री भयो । सर्वसाधरणदेखि विशिष्ट अतिथिहरूले पनि मही खानु भयो । यसले कृषकको उत्पादनलाई प्रोत्साहित गरेको छ । रैथाने पेय पदार्थको राम्रो प्रवर्द्धन भएको छ’ बगालेले भने । रास्वपाको महाधिवेशनको बन्दसत्र सोमबार र मंगलबार हुँदैछ । भरतपुरकै औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्र छ । त्यहाँ पनि मही बिक्री हुने सम्भावना रहेको बगालेले बताए ।
गेष्टहाउस चौरमा रास्वपाको महाधिवेशनको उद्घाटन कार्यक्रम भइरहँदा चितवनको पहाडी भेग सिद्धी देउजरका तीनजना रामगोपाल चेपाङ, रामबहादुर चेपाङ र कुमार चेपाङ सिंचाइ कार्यालय अगाडिको चोकमा डोको बिसाएर बसेका थिए । उनीहरूको डोकोमा थियो पहाडी फल चिउरी । चिउरी रसिलो र गुलियो हुन्छ । यसको स्वादमा पल्केकाहरू खोजी खोजी चिउरी खान्छन् ।
‘आज यहाँ धेरै नै मान्छेहरू आउँछन् भन्ने थाहा पाएर आएको,’ रामगोपालले भने । उनको डोकाको चिउरी लगभग निख्रिएको थियो । रामबहादुरको डोकाको चिउरी बिक्री हुन सुरु भएको थियो । कुमारले आधा जति बिक्री गरेर सकेका थिए । ‘उता धेरै नै भिडभाड हुन्छ भने । जान पाइएला या नपाइएला भनेर अलि खाली भएको यही चोकमा बस्यौं । बिस्तारै बिक्री होला ।’ रामबहादुरले भने ।
कार्यक्रम भएको ठाउँभन्दा लगभग ३०० मिटर वर दक्षिण कुनामा बसेर उनीहरूले चिउरी बेचिरहेका थिए । झोलामा राखेको चिउरी कोहीले के हो यो भनेर सोध्थे, कसैले चाखेर किन्ने नकिन्ने निधो गर्थे, स्वाद लिएकाहरू ‘ए चिउरी पनि आएको रहेछ’ भन्दै पैसा दिएर लैजान्थे । चिउरी पहाडी गाउँ सिद्धीको डाँडाहरूमा प्रशस्त हुन्छ । चिउरी फुल्दा मौरी चराउन तल समथर क्षेत्रबाट समेत किसानहरू जान्छन् ।
यसको बियाँबाट तेल निस्कन्छ । गुदो र रस स्वादिलो भएका कारण मिठ्ठो मानेर खाइन्छ । पहिला पहिला चेपाङहरूले तेलको गर्जो टार्ने नै चिउरी हो भन्छन् रामबहादुर । बजार क्षेत्रमा पनि फल बिक्री हुने भएका कारण बेच्न ल्याउने गरेको उनले बताए ।
‘४०० जति त भाडा नै लाग्छ । धेरै टाढा त हैन तर पहाड जाने बाटो कच्ची र अफ्ठयारो हुँदा गाडी भाडा धेरै लाग्छ । डोकाभित्र झोला झोलामा चिउरी छ । कसैले २०० दिएर लगेका छन् । कसैले घटाउ भन्छन् । बिक्री भए घरका लागि चाहिने सामानहरू किन्ने हो,’ रामगोपालले भने । सत्तारुढ दलको माहाधिवेशनस्थल स्थानीय उत्पादन बिक्री गर्ने अवसर पनि बन्यो ।
