रास्वपा महाधिवेशनमा चिसो मही र गुलियो चिउरीको व्यापार

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले उद्घाटन कार्यक्रममा १५ हजार लिटरभन्दा बढी मही बिक्री भएको बताए ।

असार ७, २०८३

रमेशकुमार पौडेल

Cold fish and sweet chiuri are traded at the RSP general convention

What you should know

चितवन — गर्मीले असिन पसिन भएकाहरूलाई चिसो महीले थोरै भए पनि राहत दिएको थियो । यो बेला पहाडी भेगमा चिउरी पाकेको छ । रसिलो र स्वादिलो चिउरी डोकाभरी राखेर बेच्न भरतपुर आइ पुगेका थिए चेपाङहरू । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार भरतपुरमा उद्घाटन भएको पहिलो राष्ट्रिय महाधिवेशनका सहभागीहरूले यी दुई रैथाने उत्पादन चाख्न पाए । 

उद्घाटनस्थलमा स्टल नै राखेर दुग्ध विकास संस्था (डीडीसीले दही र मही बेचेको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पनि मही बेच्न स्टल नै राखेको थियो । कार्यक्रम सुन्न आएका पार्टीका सुभचिन्तक, समर्थ र अन्य सर्वसाधारणले किनेर नै मही खाइरहेका थिए । मञ्चमा आसिन अतिथिहरूले पनि मही पिउँदै तिर्खा मेटे । 

जिल्लाका विभिन्न दुग्ध उत्पादक सहकारीहरूले दहीबाट मही बनाउँदै ४ वर्षयता बेच्दै आएका छन् । गाउँघरमा दही मथेर घ्यु निकाल्ने र मही खाने तथा बाँड्ने पुरानो चलन हो । अचेल दुग्ध सहकारीहरूले व्यवसायिक रुपमा मही उत्पादन गरेर बेच्दै आएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगाले उद्घाटन कार्यक्रममा १५ हजार लिटरभन्दा बढी मही बिक्री भएको बताउँछन् ।Cold fish and sweet chiuri are traded at the RSP general convention

‘हाम्रो संघले पनि उत्पादन गरेको छ । हाम्रो मात्रै ५ हजारभन्दा बढी बोतल मही गयो भन्ने छ । अन्य दुग्ध सहकारी र निजी डेरी तथा डीडीसीले पनि मही बेचेका छन् । १५ हजार लिटरभन्दा बढी नै मही बिक्री भयो होला’ अध्यक्ष बगालेले भने । महीको खुला मुल्य आधा लिटरको ४० रुपैयाँ र एक लिटरको बोतलको ७० देखि ८० रुपैयाँ पर्ने बगालेले जानकारी दिए ।

‘उद्घाटन कार्यक्रममा राम्रो बिक्री भयो । सर्वसाधरणदेखि विशिष्ट अतिथिहरूले पनि मही खानु भयो । यसले कृषकको उत्पादनलाई प्रोत्साहित गरेको छ । रैथाने पेय पदार्थको राम्रो प्रवर्द्धन भएको छ’ बगालेले भने । रास्वपाको महाधिवेशनको बन्दसत्र सोमबार र मंगलबार हुँदैछ । भरतपुरकै औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्र छ । त्यहाँ पनि मही बिक्री हुने सम्भावना रहेको बगालेले बताए ।

गेष्टहाउस चौरमा रास्वपाको महाधिवेशनको उद्घाटन कार्यक्रम भइरहँदा चितवनको पहाडी भेग सिद्धी देउजरका तीनजना रामगोपाल चेपाङ, रामबहादुर चेपाङ र कुमार चेपाङ सिंचाइ कार्यालय अगाडिको चोकमा डोको बिसाएर बसेका थिए । उनीहरूको डोकोमा थियो पहाडी फल चिउरी । चिउरी रसिलो र गुलियो हुन्छ । यसको स्वादमा पल्केकाहरू खोजी खोजी चिउरी खान्छन् ।

‘आज यहाँ धेरै नै मान्छेहरू आउँछन् भन्ने थाहा पाएर आएको,’ रामगोपालले भने । उनको डोकाको चिउरी लगभग निख्रिएको थियो । रामबहादुरको डोकाको चिउरी बिक्री हुन सुरु भएको थियो । कुमारले आधा जति बिक्री गरेर सकेका थिए । ‘उता धेरै नै भिडभाड हुन्छ भने । जान पाइएला या नपाइएला भनेर अलि खाली भएको यही चोकमा बस्यौं । बिस्तारै बिक्री होला ।’ रामबहादुरले भने । 

कार्यक्रम भएको ठाउँभन्दा लगभग ३०० मिटर वर दक्षिण कुनामा बसेर उनीहरूले चिउरी बेचिरहेका थिए । झोलामा राखेको चिउरी कोहीले के हो यो भनेर सोध्थे, कसैले चाखेर किन्ने नकिन्ने निधो गर्थे, स्वाद लिएकाहरू ‘ए चिउरी पनि आएको रहेछ’ भन्दै पैसा दिएर लैजान्थे । चिउरी पहाडी गाउँ सिद्धीको डाँडाहरूमा प्रशस्त हुन्छ । चिउरी फुल्दा मौरी चराउन तल समथर क्षेत्रबाट समेत किसानहरू जान्छन् ।

यसको बियाँबाट तेल निस्कन्छ । गुदो र रस स्वादिलो भएका कारण मिठ्ठो मानेर खाइन्छ । पहिला पहिला चेपाङहरूले तेलको गर्जो टार्ने नै चिउरी हो भन्छन् रामबहादुर । बजार क्षेत्रमा पनि फल बिक्री हुने भएका कारण बेच्न ल्याउने गरेको उनले बताए ।

‘४०० जति त भाडा नै लाग्छ । धेरै टाढा त हैन तर पहाड जाने बाटो कच्ची र अफ्ठयारो हुँदा गाडी भाडा धेरै लाग्छ । डोकाभित्र झोला झोलामा चिउरी छ । कसैले २०० दिएर लगेका छन् । कसैले घटाउ भन्छन् । बिक्री भए घरका लागि चाहिने सामानहरू किन्ने हो,’ रामगोपालले भने । सत्तारुढ दलको माहाधिवेशनस्थल स्थानीय उत्पादन बिक्री गर्ने अवसर पनि बन्यो । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully