रास्वपाको प्रायः पदमा प्रतिस्पर्धाकै सम्भावना

सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह निश्चित, अन्य पदमा सहमतिको प्रयास

असार ७, २०८३

जयसिंह महरा

Chances of competition in most positions of the Rashtriya Swayamsevak Sangh (RSS)

What you should know

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र वरिष्ठ नेताको पदमा सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र ९९ केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले गरेका छन् ।

आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी दिएका छन् । त्यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराएका छन् । रास्वपामा तीन उपसभापति एक खुला, एक महिला र एक मनोनीत हुनेछन् । खुला उपसभापतिमा स्वर्णिम वाग्ले प्रबल दाबेदार रहेको रास्वपाका नेताहरू बताउँछन् ।

अर्थमन्त्री र पार्टीमा तेस्रो वरीयतामा रहेका उनीविरुद्ध कसैले उम्मेदवारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ । ‘सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ । खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन् । उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ,’ पार्टीका एक नेताले भने, ‘यस्तो अवस्थामा पदाधिकारीमध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ ।’

पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृहकार्य थालिसकेका छन् । ‘महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘सहमति जुट्ने र निर्वाचन हुने दुवै सम्भावना बराबरी छ ।’

महिला उपसभापतिमा चुनाव भएको खण्डमा कानुनमन्त्री सोविता गौतम, कोषाध्यक्ष लिमा अधिकारी, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सम्भावित उम्मेदवार रहेको नेताहरू बताउँछन् । उपसभापति वा महामन्त्रीमध्ये एक पदमा डा. तोसिमा कार्की सम्भावित उम्मेदवार रहेको बताइएको छ । मनोनीत उपसभापतिमा भने भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका नेता सुनील लम्साललाई जिम्मेवारी दिने तयारी छ । उनी शाहसँगै रास्वपामा समाहित भएका नेता हुन् ।

खुला महामन्त्रीमा सहमति जुट्न नसके तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । ‘यो पदका लागि निवर्तमान महामन्त्री कबीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनीष झा, गणेश पराजुली, यज्ञमणि न्यौपाने उम्मेदवार बन्ने सम्भावना छ,’ एक नेताले भने । महिला उपसभापतिमा उम्मेदवारी नदिए महामन्त्रीको दाबेदारमा डा. कार्कीलाई पनि हेरिएको छ । नेतृत्व चयन सहमतिमा नै हुने अवस्था रहेमा खनाल पछि हट्न तयार देखिएको उनीनिकट नेताहरूले बताएका छन् । न्यौपाने पनि सहमहामन्त्री पद पाएमा महामन्त्रीमा दाबी नगर्ने उनीनिकट स्रोतले जानकारी दियो । मनोनीत महामन्त्रीमा भने भूपदेव शाह लगभग निश्चित रहेका रास्वपा नेताहरू बताउँछन् ।

खुला सहमहामन्त्रीमा को–को उम्मेदवार बन्ने भन्ने यकिन भइसकेको छैन । हालसम्म हरि ढकाल, प्रकाशचन्द्र परियारलगायत दाबेदार रहेको नेताहरूले बताएका छन् । सहमहामन्त्रीमा नेता असिम शाह पनि सम्भावित उम्मेदवार छन् । उनी पूर्वसांसद तथा प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार पनि हुन् । महिला सहमहामन्त्रीमा निशा डांगीलगायत सम्भावित उम्मेदवार हुन् ।

रास्वपामा पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । यसअघि यो संख्या १२ थियो । यस पटक विधान संशोधन गरेर पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) छन् ।

सभापति लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताएका छन् । त्यसका लागि नेताहरूलाई एकताबद्ध भएर लाग्न र पद प्राप्तिका लागि कुनै पनि गुटबन्दी नगर्न दुवैले आग्रह गरेका छन् । सभापतिले उद्घाटन समारोहबाट २०८० मंसिरमा भएको जलेश्वर बैठकको स्मरण गर्दै नेताहरू नै गुटबन्दीमा लागे पार्टीलाई नोक्सानी हुने बताए । ‘मैले जलेश्वर बैठकको बेलामा राजनीतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु– रास्वपा लड्यो भने आफ्नै गोडामा अल्झेर लड्छ, अरू कसैको तागत छैन रास्वपालाई लडाउने,’ लामिछानेले आग्रह गरे, ‘आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ ।’

वरिष्ठ नेता शाहले गुट र उपगुट बनाउने कार्यमा नलाग्न आग्रह गरे । ‘पार्टीको महाधिवेशनमा पहिलेदेखि नै हाम्रो संस्कार बिग्रिएको थियो, पहिला गुट बनाउने, उपगुट बनाउने । एउटा कुरा तपाईंहरू महाधिवेशन प्रतिनिधि हुनुहुन्छ होला, केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला । पदाधिकारी उठ्छु भनेर बस्नुभएका तपाईंहरूलाई स्पष्ट रूपमा के भन्न चाहन्छु भने राम्रो नेता बन्न, राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन । त्यही भएर समूह बनाउने पछाडि नलाग्नुहोला,’ शाहले भने, ‘त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाँड्नु परोस् । त्यही भएर यस्तो बिउ रोप्ने काम, रुख फलाउने काम हामीले नगरौं । हामीले पुरानाहरूबाट सिक्नुपर्छ ।’

शाहपछि बोलेका सभापति लामिछानेले पनि यो उदाहरणलाई दोहोर्‍याए, ‘जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ । तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन । त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा हामीले भर्खरै देखिसकेका छौं । त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौं भने भोलि त्यसले दिने फल विषालु फल हुनेछ र पार्टीका वरिष्ठ नेताले भनेजस्तै त्यो फल फल्यो भने हामी त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा पुग्नेछौं,’ उनले भने । लामिछानेले यतिखेर कुनै पनि राजनीतिक गुट र उपगुटमा नलागी विगतका राजनीतिक दलहरूलाई हेरेर अगाडि बढ्न आग्रह गरे ।

सभापतिबाहेकका पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन हुन्छ । रास्वपा विधानमा भएको व्यवस्थाअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय सदस्यमा निर्वाचितहरू मात्रै पदाधिकारीका उम्मेदवार हुन पाउने भएकाले सम्बन्धित नेताहरूले पनि प्रत्यक्ष रूपमा इच्छा व्यक्त गरिसकेका छैनन् । उपयुक्त समय आएपछि अर्थात् केन्द्रीय सदस्य निर्वाचित भएपछि पदाधिकारीमा प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने निर्णय लिने ती नेताहरूले बताइरहेका छन् ।

बन्दसत्रको कार्यक्रम सोमबार बिहान ८ बजेदेखि सुरु हुँदै छ । बन्दसत्र हलमा सभापतिको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन, आर्थिकलगायतका प्रतिवेदनहरू प्रस्तुत, छलफल भई पास भएपछि निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । सोमबार दिउँसो १ सभापति र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता फाराम वितरणको कार्य सुरु हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् । पहिलो चरणको मतदान भने मंगलबार बिहान साढे ८ बजेदेखि सुरु हुने उल्लेख छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully