मनोजनारायणको घरमै संग्रहालय: गिरिजाप्रसादलाई दिएको बन्दुकको भरपाइदेखि चन्द्रशमशेरकालीन इँटा र माटाका पाइपसम्म

धनकुटाका मनोजनारायण श्रेष्ठले आफ्नो घरलाई दुर्लभ सामग्री, पुराना तस्बिर र ऐतिहासिक दस्तावेजले भरिएको संग्रहालय बनाएर स्थानीय स्मृति र पहिचान जोगाइरहेका छन्।

असार ६, २०८३

विनोद घिमिरे

Manoj Narayan's home museum: From the gun refill given to Girija Prasad to bricks and clay pipes from the Chandrashamsher era

What you should know

धनकुटा — पुराना वस्तुहरू धेरैका लागि काम नलाग्ने सामान हुन सक्छन्। कसैले घरको कुनामा थन्क्याउँछन्, कसैले फालिदिन्छन्। तर धनकुटा नगरपालिका ६ सिरान बजारका मनोजनारायण श्रेष्ठका लागि यिनै पुराना सामग्री इतिहासका जीवित दस्तावेज बनेका छन्।

त्यसैले उनले तीन दशकभन्दा बढी समयदेखि दुर्लभ वस्तु, दस्तावेज र स्मृतिहरू सङ्कलन गर्दै आफ्नै घरलाई एउटा सानो तर ऐतिहासिक संग्रहालयमा रूपान्तरण गरेका छन्।

सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले स्थापना गरेको संग्रहालय केवल पुराना सामानको संग्रह मात्र नभइ धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेखमा रूपान्तरित हुँदै गएको छ। यहाँ पुग्ने जो–कोहीले विगतका पुस्ताको जीवनशैली, प्रविधि, आन्दोलन र समाजको विकासक्रमलाई नजिकबाट अनुभूति गर्दै आएका छन्।

ढुङ्गे सडकले बदलिदिएको मनोजको सोच
मनोजनारायणलाई पुराना वस्तु सङ्कलन गर्ने प्रेरणा भने एउटा सानो घटनाबाट मिलेको थियो। उनका अनुसार २०५१ सालतिर उनी जापानी नागरिकहरूसँग काम गर्थे। एक दिन जापानी टोलीलाई लिएर धनकुटा बजारको हुलाकटोल हुँदै चारचौतारा उक्लँदै गर्दा अहिलेको जिल्ला प्रहरी कार्यालय नजिक पुगेपछि टोलीका जापानी सदस्यहरूले बाटोमा बिछ्याइएको ढुङ्गे सडक देखे। उनीहरूले तत्काल गाडी रोकेर सडकमा बिछाइएको ढुङ्गाका बारे सोधखोज गर्न थाले। 'मैले दोभासेमार्फत उनीहरू किन गाडीबाट ओर्लिए भनेर सोधें,' मनोजनारायण सम्झन्छन्, 'उनीहरूले भने– यो ढुङ्गे सडक पुरातात्त्विक सम्पदा हो। यसमाथि गाडी चल्दा ढुङ्गा फुट्न सक्छ, त्यसैले हामी यसलाई जोगाउन सचेत छौं ।' जापानीहरूको त्यो संवेदनशीलता देखेर उनी प्रभावित भए। आफ्नै ठाउँको सम्पदाप्रति बाहिरका मानिसले देखाएको सम्मानले उनलाई झस्कायो। 'धनकुटा हाम्रो, बाटो हाम्रो, ढुङ्गा पनि हाम्रो, तर त्यसको माया चाहिँ विदेशीलाई लाग्ने ?' उनी भन्छन्, 'त्यही दिनदेखि मैले पुराना वस्तु जोगाउने र सङ्कलन गर्ने प्रण गरे ।' त्यसपछि सुरु भएको उनको सङ्कलन अभियान अहिलेसम्म जारी छ।

तीन दशक लामो यात्रामा उनले २ सय बढी विभिन्न महत्त्वपूर्ण पुरातात्विक दस्तावेज र सामग्री संकलन गरी प्रदर्शनमा राखेका छन्।  संग्रहालयमा २ सय भन्दा बढी दुर्लभ सामग्री सुरक्षित छन्।

माटाका पाइपदेखि प्रजातान्त्रिक आन्दोलनका दस्तावेजसम्म
संग्रहालयमा राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइपदेखि चन्द्रशमशेरकालीन इँटासम्म सुरक्षित छन्। त्यस्तै २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित महत्वपूर्ण कागजात पनि संग्रहमा रहेका छन्।

विशेष गरी नेपाली कांग्रेसले राणा शासनविरुद्ध सञ्चालन गरेको सशस्त्र आन्दोलनका क्रममा २००७ साल पुस २५ मा उनका हजुरबुबाले तत्कालीन राजनीतिक कमिसनर गिरिजाप्रसाद कोइरालालाई उपलब्ध गराएको बन्दुकको भरपाइसमेत संग्रहालयमा सुरक्षित छ।

Manoj Narayan's home museum: From the gun refill given to Girija Prasad to bricks and clay pipes from the Chandrashamsher era

त्यसबेला नेपाली कांग्रेसका तत्कालीन पोलिटिकल कमिसनर गिरिजाप्रसाद कोइरालाले मनोजनारायणका हजुरबुवासँग भरपाइ गरेर एक थान भरुवा बन्दुक र त्यसका गोली क्रान्ति सकिएपछि फिर्ता गर्ने शर्तमा कागज गरी लिएका थिए। क्रान्ति सके पनि त्यो बन्दुक श्रेष्ठको परिवारले फिर्ता भने पाएन।

यस्ता सामग्रीले नेपालको राजनीतिक इतिहासका महत्वपूर्ण अध्यायहरूलाई प्रत्यक्ष रूपमा सम्झाउने काम गरेको धनकुटा सिरान बजारका राजेश्वर श्रेष्ठ बताउँछन् । उनका अनुसार मनोजनारायणले स्थापना र सञ्चालन गरेको यो संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासका शोधार्थीका लागि अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

चलनचल्तीबाट हराउँदै गएका वस्तुहरू नयाँ पुस्ताले क्रमशः विस्थापन गर्दै जाँदा तिनको महत्व बुझ्ने अवसर पनि घट्दै गएको उनी बताउँछन् । मनोजको यो प्रयास व्यक्तिगत रुचि मात्र नभई समुदाय र मुलुककै लागि महत्वपूर्ण दस्तावेजीकरण भएको उनले बताए ।  

घरायसी प्रयोगका थुप्रै सामग्री पनि संग्रहालयका आकर्षण बनेका छन्। पुराना ग्रामोफोन, टेलिफोन, रेडियो, भाँडाकुँडा, काठ तथा माटोका सामग्री, कृषि औजार र दैनिक जीवनमा प्रयोग हुने अनेक वस्तु यहाँ व्यवस्थित रूपमा राखिएका छन्। नयाँ पुस्ताले पुस्तकमा मात्र पढ्ने कतिपय सामग्रीलाई प्रत्यक्ष रूपमा हेर्न र बुझ्न सक्ने अवसर संग्रहालयले प्रदान गरेको राजेश्वर बताउँछन् । 

बाबुको सम्झनालाई इतिहासमा रूपान्तरण
मनोजनारायणका लागि यो संग्रहालय केवल इतिहासप्रेमको परिणाम मात्र होइन, बाबुप्रतिको सम्मान र श्रद्धाको प्रतीक पनि हो। सहिद भीमनारायण श्रेष्ठसँग सम्बन्धित कपडा, घडी, चिठीपत्र, व्यक्तिगत सामग्री तथा अन्य स्मृतिचिन्हहरू उनले अत्यन्त सावधानीपूर्वक सुरक्षित राखेका छन्। ती सामग्रीहरूले तत्कालीन राजनीतिक संघर्ष, परिवारले भोगेका पीडा र एउटा ऐतिहासिक कालखण्डको कथा सुनाउने मनोज बताउँछन् । 

सहिद भीमनारायणसँग सम्बन्धित दस्तावेज तथा सामग्री अवलोकन गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता समेत यहाँ आउने गरेका छन्। कांग्रेस सभापित गगन थापा, नेताहरु प्रकाशमान सिंह, मीनेन्द्र रिजाललगायतले संग्रहालय भ्रमण गरेका छन्।

सहिद भीमनारायण श्रेष्ठको संघर्ष
२०३० साल चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सहभागी कार्यक्रममा भएको बम प्रहार घटनापछि भीमनारायण श्रेष्ठ पक्राउ परेका थिए। उनीमाथि राज्यविरुद्धको गतिविधि तथा राजामाथिको बम प्रहारसम्बन्धी अभियोग लगाइएको थियो।

Manoj Narayan's home museum: From the gun refill given to Girija Prasad to bricks and clay pipes from the Chandrashamsher era

विशेष अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको थियो। २०३५ साल माघ महिनामा कोशी टप्पु  पुर्‍याएर भीमनारायणलाई होली हानी मृत्युदण्ड दिइएको थियो । मनोजनारायणका अनुसार बुवासँग सम्बन्धित सामग्रीलाई सुरक्षित राख्नु केवल पारिवारिक दायित्व मात्र नभइ इतिहासप्रतिको जिम्मेवारी पनि हो। 'व्यक्तिगत स्मृतिहरू जोगाउनु भनेको एउटा युगलाई जोगाउनु हो,' उनी भन्छन्।

धनकुटाको इतिहास खोज्नेहरूको गन्तव्य
संग्रहालयको अर्को महत्वपूर्ण पक्ष धनकुटासँग सम्बन्धित दस्तावेजको संग्रह पनि हो। मनोजनारायणले वर्षौंदेखि धनकुटाका बारेमा प्रकाशित पुस्तक, पत्रपत्रिका, लेख, अनुसन्धान सामग्री तथा ऐतिहासिक दस्तावेजहरू सङ्कलन गर्दै आएका छन्। 'भोलिका पुस्तालाई काम लाग्न सक्छ भनेर सबै सामग्री जोगाएर राखेको छु,' उनी भन्छन्।
यही कारणले अहिले यो संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता तथा इतिहासप्रेमीहरूको अध्ययन केन्द्र बन्दै गएको छ। धरान इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरू पुराना वास्तुकलाका नमुना अध्ययन गर्न यहाँ आउने गरेका छन्। इतिहास र संस्कृति विषयमा अनुसन्धान गर्ने व्यक्ति पनि आवश्यक सामग्री खोज्न संग्रहालय पुग्ने गर्छन्।
मनोजनारायणका अनुसार धेरै विद्यार्थीले संग्रहालय अवलोकनपछि आफूहरूले नदेखेका र नसुनेका धेरै कुरा यहाँबाट थाहा पाएको प्रतिक्रिया दिने गरेका छन्। 

संग्रहालयमा ६०–७० वर्षअघि खिचिएका धनकुटाका विभिन्न स्थानका दुर्लभ तस्बिर पनि सुरक्षित छन्। ती तस्बिरले पुरानो धनकुटाको स्वरूप, सडक, बस्ती र जनजीवनको झल्को दिन्छन्। समयसँगै परिवर्तन हुँदै गएको सहरको इतिहास बुझ्न ती तस्बिर महत्वपूर्ण स्रोत बनेका छन्। कतिपय दृश्य अहिले पूर्ण रूपमा बद्लिइसकेका छन्, तर संग्रहालयका भित्तामा ती अझै जीवित छन्।

मनोजनारायणको यो प्रयासले धनकुटाको सामूहिक स्मृति, पहिचान र इतिहासलाई पनि संरक्षण गरेको राजेश्वर बताउँछन् । राज्यको सहयोगबिनै एक व्यक्तिले आफ्नै लगानी, समय र मेहनत खर्च गरेर इतिहास जोगाइरहनु सामान्य कुरा नभएको उनले बताए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully