पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा अति भारी वर्षा (२०८ मिलिमिटर) भएको छ ।
काठमाडौँ — यस वर्षको प्रि-मनसुनमा तथ्यांक राख्न थालिएको ४५ वर्षयताकै सबैभन्दा धेरै पानी परेको छ । प्रि-मनसुन अवधिमा नेपालमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्छ । यस वर्ष भने औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसअघि सन् १९९० को प्रि-मनसुनमा औसतभन्दा धेरै ३३१.४० मिमि पानी परेको थियो । अहिलेको वर्षाले सो रेकर्डलाई पनि तोडेको छ । विभागले सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकलाई आधार मानी प्रि-मनसुनको विश्लेषण गर्दै आएको छ ।
१ मार्चदेखि ३१ मेसम्म (१५ फागुन-१५ जेठ) को अवधिलाई प्रि-मनसुन भनिन्छ । यसअघि सन् १९९० मा ३३१.४० मिमि, २००० मा ३२३.१९, २०२१ मा ३१७.८८ र २०२० मा ३१५.७८ मिमि वर्षा प्रि-मनसुन अवधिमा मापन गरिएको विभागले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी वर्षा भएको छ । सो क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा २०८ मिलिमिटर वर्षा (अति भारी) मापन गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उहाँका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मापन गरिन्छ । झापामा केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।
