शुक्लाफाँटाको गिद्ध ५२० किलोमिटर उडेर हिमाचलको महाराणा प्रताप सागर पुग्यो

शुक्लाफाँटाबाट आहाराको खोजीमा उडेको डंगर गिद्ध ५२० किलोमिटर हवाई दूरी पार गर्दै भारतको हिमाचल प्रदेशको महाराणा प्रताप सागर क्षेत्रमा पुगेको छ।

असार ५, २०८३

भवानी भट्ट

The vulture of Shuklaphanta flew 520 kilometers to reach Maharana Pratap Sagar in Himachal Pradesh.

What you should know

कञ्चनपुर — प्रकृतिको कुचीकार मानिने चरा गिद्ध आहारविहारको खोज्दै एक दिनमा कति दूरीसम्म उड्न सक्छ ?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको एउटा गिद्ध भारतको हिमाचल प्रदेशको महाराणा प्रताप सागर (पोंग ड्याम)सम्म पुगेको छ । 

गत चैत २ मा ट्याग गरिएको उक्त गिद्ध चैत ४ मा महाराणा प्रताप सागरमा पुगेको थियो । ‘अहिले पनि त्यो गिद्ध त्यही सागर छेउको जंगलमा विचरण गरिरहेको छ,’ नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत दिलिप चन्दले भने, ‘यहाँबाट गएपछि ड्याम छेउको जंगलमै विचरण गरिरहेको छ ।’

डंगर प्रजातिको उक्त गिद्ध वयस्क हो । शुक्लाफाँटा निकुञ्जको तारापुर क्षेत्रबाट ५ सय २० किलोमिटर एरियल दूरी पार गर्दै महाराणा प्रताप सागर क्षेत्रमा पुगेको हो । त्यहाँ जाने क्रममा उक्त गिद्ध भारतको जिम कोर्बेट नेसनल पार्क हुँदै एकै दिनमा हिमाचल पुगेको हो । 

The vulture of Shuklaphanta flew 520 kilometers to reach Maharana Pratap Sagar in Himachal Pradesh.

पन्छी संरक्षण संघले उक्त गिद्धको अध्ययनका लागि भारतमा रहेका संरक्षणकर्मीसँग पनि समन्वय गरिरहेको छ । भारतमा गिद्ध संरक्षणमा कार्यरत बम्बै नेचुरल हिस्ट्र सोसाइटी (बीएनएससी) सँग निरन्तर समन्वय भइरहेको चन्दले बताए । ‘त्यो गिद्धको मुभमेन्ट राम्रो देखिरहेको छ, त्यही भएर अहिले समस्या छैन जस्तो लाग्छ,’ परियोजना अधिकृत चन्दले भने, ‘एकै ठाउँमा बसिरह्यो भने केही समस्या हुन सक्छ, तर अहिले त्यस्तो छैन ।’ उनले पन्छी संरक्षण संघको टोली उक्त गिद्धको अवस्था बुझ्नका लागि हिमाञ्चल जाने विषयमा पनि छलफल भइरहेको बताए ।

सन् २०२५ र २०२६ को मार्चसम्म संघले निकुञ्जको हिरापुर र तारापुर क्षेत्रमा गरी १५ वटा डंगर गिद्धमा जीपीएस जडान गरेको छ । जसमध्ये ११ वटा बयस्क र ४ अर्ध वयस्क रहेका छन् । अन्य गिद्धहरू पनि आहाराको खोजीमा भारत उत्तराखण्डकै पिथौरागढ, लोहाघाट र उत्तर प्रदेशको महाकाली नदी छेउछाउ पुगेर फर्किने गरेको पाइएको छ ।

यसबाहेक ती गिद्ध बैतडीको पञ्चेश्वर र मैलौली, डडेलधुराको अमरगढीसँगै कैलालीको गोदावरीसम्म पुग्ने गरेका छन् । ‘यी क्षेत्रमा एकै दिनमा फर्किने र एक/दुई दिन विचरण गरेर फर्किने गरेको पनि देखिन्छ,’ पन्छी संरक्षण संघका चराविद् हिरुलाल डगौंराले भने, ‘आहाराको खोजीमा गिद्धहरू टाढाटाढासम्म पुगिरहेका छन् ।’ 

The vulture of Shuklaphanta flew 520 kilometers to reach Maharana Pratap Sagar in Himachal Pradesh.

आहारा र बासस्थान खोजीमा गिद्धले गर्ने यात्राको अध्ययनकै लागि जीपीएस जडान गरिएको हो । संघले एक दशकअघि पनि गिद्धमा जीपीएस जडान गरेर अध्ययन गरेको थियो । अहिले पनि नियमित रूपमा अध्ययन भइरहेको छ । ‘हरेक दिन गिद्ध कहाँ पुगेको छ ?, कति यात्रा गरेको छ? सबै अध्ययन भइरहेको छ,’ परियोजना अधिकृत चन्दले भने, ‘कुनै दिन कुनै गिद्धको मुभमेन्ट भएन भने उद्धारका लागि जानुपर्ने पनि हुन्छ ।’ उनका अनुसार यसअघि भारतका विभिन्न क्षेत्रबाट बीएनएचसीको सहयोगमा गिद्धको उद्धार पनि गरिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर र तारापुर क्षेत्र गिद्धका लागि उपयुक्त बासस्थान मानिन्छ । उक्त क्षेत्रमा नियमित रूपमा गिद्ध देखिने गरेका छन् । सोही क्षेत्रबाट संघले गिद्धमा जीपीएस लगाउने काम गरेको हो । 

सम्बन्धित समाचार

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully