नेपालभर सञ्चालनमा रहेका साना तथा ठूला होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा भोजनालयले ७ दिनभित्र क्यूआर कोडमार्फत विवरण फाराम भरी जानकारी दिनुपर्नेछ ।
What you should know
काठमाडौँ — देशभरका होटल तथा रेस्टुरेन्ट सूचीकरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले ७ दिने सूचना जारी गरेको छ ।
सडकमार्ग हुँदै ठूलो संख्यामा भित्रिएका धार्मिक पर्यटकहरूका लागि आवश्यक पूर्वाधार र खानपानको व्यवस्थापनलाई लिएर बहस भइरहेका बेला पर्यटन विभागले ‘जरुरी सूचना’ जारी गरेको हो । देशभरका होटल, रिसोर्ट तथा रेस्टुरेन्टहरूलाई अनलाइनमार्फत सूचीकृत हुन आह्वान गरिएको विभागका सूचना अधिकारी हिमाल गौतमले जानकारी दिए ।
सूचनाअनुसार नेपालभर सञ्चालनमा रहेका साना तथा ठूला होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा भोजनालयहरूले ७ दिनभित्र क्यूआर कोडमार्फत विवरण फाराम भरी जानकारी उपलब्ध गराउनुपर्नेछ ।
विशेषगरी भारतीय तीर्थयात्रीहरूको खानपान शैली (शुद्ध शाकाहारी) लाई ध्यानमा राख्दै विभागले व्यवसायहरूले उपलब्ध गराउन सक्ने खानाको प्रकार (शाकाहारी, मांसाहारी वा हलाल) खुलाउनुपर्ने भन्दै नेपालभरका होटल, रिसोर्ट, रेस्टुरेन्ट, किचेन तथा भोजनालयसँग विवरण मागेको हो ।
विभागले व्यवसायको प्रकार, नाम, ठेगाना, सम्पर्क नम्बर, खुल्ने तथा बन्द हुने समय, मदिरा पाइने वा नपाइने अवस्था, वेबसाइट तथा अन्य आवश्यक विवरण माग गरेको छ । संकलित जानकारीलाई पर्यटकमैत्री सूचना प्रणालीमा समेटी सार्वजनिक गरिने विभागको भनाइ छ ।
पछिल्ला केही सातायता सामाजिक सञ्जालमा भारतीय पर्यटकहरूले सडक किनारमा आफैं खाना पकाउँदै गरेको भिडियो र तस्बिरहरू भाइरल भइरहेका छन् । मुक्तिनाथमा एकै दिन करिब ३० हजार र स्वर्गद्वारीमा १० हजारभन्दा बढी भारतीय तीर्थयात्री पुगेपछि नेपालको विद्यमान पूर्वाधार र भोजनालयको क्षमतामाथि प्रश्न उठिरहेको छ ।
नेपालमा शाकाहारी भोजनालयको सीमित संख्या र भएका होटलहरूको व्यवस्थित सूचीकरण नहुँदा धार्मिक पर्यटकहरू आफैं खाना पकाउन बाध्य भइरहेको भन्दै पर्यटन मन्त्रालयले यो कदम चालेको हो ।
केही दिनअघि पर्यटन मन्त्रालयले सडकमार्गबाट आउने पर्यटकहरूका लागि ‘के गर्ने र के नगर्ने’ सम्बन्धी आचारसंहिता जारी गरेको थियो । मन्त्रालयले विभागलाई यो सूचना सामग्री नेपाली, हिन्दी र अंग्रेजी भाषामा जारी गर्दै प्रहरी मार्फत सिमा नाकाबाट पर्यटक प्रवेश गर्दा जानकारी गराउन भनेको छ ।
पर्यटन मन्त्री खडक राज पौडेलले यसबारे केही दिनअघि कुराकानी गर्दै सरकारले आगामी आर्थिक वर्षदेखि भैरहवादेखि पोखरा हुदै मुक्तिनाथसम्मका शाकाहारी होटलहरूको सूचीकरण गरी सीमा नाकामै पर्यटकलाई उक्त विवरण उपलब्ध गराउने तयारी भइरहेको बताएका थिए ।
