किशोरले 'हेल्प, किडन्याप्ड' सहित सम्पर्क नम्बर लेखेको चिर्कटो होटेलनजिकैको चउरमा फ्याँकिदिए, त्यही चिर्कटो देखेर एक युवकले प्रहरीलाई खबर गरिदिएका थिए
What you should know
काठमाडौँ — आफ्नै बुद्धिमानीका कारण १६ वर्षीय एक किशोर अपहरणबाट सकुशल उद्धार भएका छन् । चितवनबाट अपहरण गरी काठमाडौं ल्याइएका उनी होटलमा थुनिएकै बेला कागजको सानो चिर्कटोमा सहयोगको सन्देश लेखेर बाहिर फ्याँकेपछि प्रहरीको ध्यानमा परेका थिए ।
आइतबार भारतीय नागरिकहरूको एक समूहले किशोरलाई चितवनबाट अपहरण गरेको थियो । अपहरणकारीले उनलाई भारतीय नम्बर प्लेट भएको गाडीमा राखी काठमाडौं ल्याए र नयाँबजारस्थित एक होटलमा थुनेका थिए ।
सोमबार कोठामा एक्लै रहेका बेला किशोरले मौका छोपी आफ्नो नाम, बाबुको नाम, घर ठेगाना र सम्पर्क नम्बर लेखेर सहयोग माग्ने चिठी कागजको चिर्कटोमा लेखे र होटेलनजिकैको चउरमा फ्याँकिदिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
चिठीमा उनले लेखेका थिए, ‘हेल्प, मेरो नाम ... गुप्ता । मेरो बाबाको नाम ... गुप्ता । म नारायणघाटबाट हो । प्लिज कल पुलिस । मेरो बाबाको नम्बर ९८४५... (किडन्याप्ड) ।’
अनुसन्धानमा संलग्न अर्का एक अधिकृतका अनुसार, उनीसँग खल्तीमा पहिल्यै एउटा कलम थियो । अपहरणकारीले चक्कु देखाउँदै उनलाई धम्क्याइरहेका थिए । ‘दिउँसो अरु बाहिर गएका रहेछन्, कोठामा एक जना अपहरणकारी मात्र थिए,’ उनले भने, ‘त्यसबेला उनीहरू(अपहरणकारी)ले किनेको नयाँ चार्जरको खोलमा त्यो सन्देश लेखेर फ्याँकेका रहेछन् ।’
एसएसपी खड्काका अनुसार, केहीबेरपछि एक युवकको नजर त्यो चिर्कटोमा पर्यो र उनले तत्काल प्रहरीलाई जानकारी दिए । सोही सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छानबिन अघि बढायो ।
कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार चिर्कटो फेला परेलगत्तै प्राथमिकताका साथ खोजी थालिएको थियो । ‘बालक अपहरणको सूचना पाउनेबित्तिकै हामीले तत्काल अपरेसन सञ्चालन गर्यौं,’ उनले भने, ‘त्यसक्रममा किशोरलाई होटलमै फेला पार्न सफल भयौं ।’
छानबिनका क्रममा प्रहरीले किशोरका बुबासँग पनि सम्पर्क गरेको थियो, जसबाट अपहरणकारीहरूले परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागेको खुलेको छ ।
प्रहरी टोली होटलमा पुग्दा त्यहाँ तीन शंकास्पद व्यक्ति थिए भने दुई जना बाहिर गएका थिए । केहीबेरमै उनीहरू पनि फर्केपछि प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएको एसएसपी खड्काले बताए ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार थुनिएको अवधिमा किशोरलाई कुटपिट गरिएको थियो भने ज्यान मार्ने धम्की पनि दिइएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक सुजित कुमार, गोलु कुमार सोनी, बिक्की कुमार, मोहम्मद शाहिद र गोलु कुमारसहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरू सबै १८ वर्षका छन् ।
‘पीडित किशोर र अपहरणकारीमध्ये सुजित कुमार कक्षा ७ मा एउटै विद्यालयमा पढ्दा साथी बनेका थिए । पछि सुजितले विद्यालय छाडेका रहेछन्,’ एसएसपी खड्काले भने, ‘केही वर्षपछि उनले इन्स्टाग्राममार्फत पुनः सम्पर्क गरी किशोरलाई भेट्न बोलाएका थिए ।’
भेट्न पुगेका किशोरलाई सुरूमा चितवनकै एक होटलमा राखिएको थियो, त्यसपछि भारतीय नम्बर प्लेटको गाडीमा काठमाडौं ल्याइएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
किशोरको परिवार सुनको गहना बनाउने पेसामा संलग्न रहेको र हालसम्मको अनुसन्धानले फिरौती असुलीलाई नै अपहरणको प्रमुख उद्देश्य देखाएको प्रहरीले जनाएको छ ।
