काठमाडौँ महानगरपालिकाले आफ्नै क्यान्टिनबाट खानाको व्यवस्थापन गरेकामा अब शान्ति सेवा गृहले सुकुमवासीलाई खाना खुवाउनेछ ।
What you should know
काठमाडौँ — कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू खाना व्यवस्थापानको समन्यव नहुँदा सोमबार आक्रोशित भए । उनीहरु बिहान चियाको प्रतीक्षामा थिए । तर बिहान न चिया आयो, न खाना नै ।
बालबालिकाहरू बिहान ९ बजेपछि स्कुल जान ठिक्क परेको निकैबेरसम्म पनि खाना नआएपछि अभिभावकहरू आश्चर्यमा परे र क्यान्टिनतिर गए । क्यान्टिनमा किचनका सामानहरू त्यहाँबाट सारिसकिएको थियो । ‘खाना खान नपाएपछि स्कुल जान ठिक्क परेको मेरो नाति स्कुलै जान पाएन,’ सोमबार दिउँसो कान्तिपुरसँग गीता लामाले भनिन् ।
उनका श्रीमान् हितमान तामाङको बिहान खाना खाएपछि नियमित औषधि खानुपर्थ्यो । तर खाना समयमा नआएपछि हितमानले औषधि पनि लिन पाएनन् । ‘औषधि खानुपर्नेहरूदेखि लिएर सुत्केरी आमाहरू र सन्तानहरू भोकै बसेको देख्नपर्दा साह्रै मन रोयो,’ गीताले भनिन् ।
होल्डिङ सेन्टरमै रहेकी गृवानिका थापा खाना खाएर छोरीको दाँतको चेकअपका लागि अस्पताल जाने तरखरमा थिइन् । उनलाई आइतबार साँझ नै क्यान्टिनमा खाना बनाइरहेकाहरूले भनेका थिए, ‘भोलिदेखि त हामी हुँदैनौँ ।’ तर खाना नै खान नपाइएला भन्ने त गृवानिकालाई लागेको थिएन । ‘खाना नआएपछि छोरी र सानो छोरा लिएर अस्पताल गएँ । बाटोमा छोरीले भोक लाग्यो भनेर रुँदा मैले केही खुवाउन पनि सकिनँ । म आफैंलाई पनि भोकले रिँगटा लागिरहेको थियो,’ उनले भनिन् ।
गृवानिकाहरू खाना कतिबेला आउँछ भनेर होल्डिङ सेन्टरमै रहेका नगर प्रहरीहरूसँग बुझ्न पनि गएका थिए । तर उनीहरूले वास्तै नगरेको उनको गुनासो छ ।
अस्पतालबाट फर्किएर दुई बजे होल्डिङ सेन्टर पुग्दा दही शान्ति सेवा गृह क्लिनिक तथा पुनर्स्थाना केन्द्रले दहीचिउरा बाँडिरहेको रहेछ । ‘मैले खाना कतिबेला आउँछ भनेर मन्त्रालयको सरलाई फोन गरेँ । उहाँले प्याकिङमा आउँछ भन्नुभयो । तर खाना आएन,’ उनले भनिन् ।
खाना नआएपछि ११ बजेअघि सुकुमवासीहरू होल्डिङ सेन्टरभित्रै आन्दोलित भएका थिए । ‘खाना नआएपछि हामीले थाल ठटाएर विरोध गर्यौँ,’ होल्डिङ सेन्टरमा बसिरहेकी प्रमिला राईले भनिन् ।
दिउँसो साढे ४ बजेतिर होल्डिङ सेन्टरमा पुरी, तरकारी र जेरी बाँडिएको थियो । श्रीमतीको उपचारका फलोअपका लागि अस्पताल पुगेका मनोज महतो होल्डिङ सेन्टरमा फर्किँदा दही चिउरा सकिएको थियो । निकैबेरपछि शान्ति सेवा गृह पुरी तरकारी र जेरी बाँड्न आयो । मनोजले प्याकेटमा बाँडिएको त्यही खाजा खाए । ‘साढे ११ बजे दही चिउरा ल्यायौँ । ३ बजेपछि पुरी तरकारी ल्यायौं । हामीलाई खबर भएको भए खाना नै ल्याउँथ्यौँ तर ९ बजेमात्र भयो,’ खाजा बाँडिरहेका शान्ति सेवा गृहका एक कर्मचारीले कान्तिपुरसँग भने ।
काखमा ९ महिनाको छोरी बोकिरहेका मदन विश्वकर्मा पनि सरकारले गरेको व्यवहारसँग असन्तुष्ट थिए । ‘हामीलाई केही जानकारी भएन । खाना नआउने भएको थाहा पाए नानीहरूलाई बाहिरबाटै खाना खुवाएर स्कुल पठाइन्थ्यो होला,’ उनले भने । उनको ९ महिनाको छोरीलाई जाउलो बनाएर खुवाउनुपर्थ्यो । ‘त्यसको लागि चुह्लो नै छैन । अझै दुई तीन दिनसम्म प्याकिङमा आउने कुरा छ । नानीको हालत के हुन्छ,’ उनी चिन्ता प्रकट गर्छन् ।
मदनका अनुसार शान्ति सेवाले उनीहरू थापाथलीमा छँदादेखि नै बाढी गएर क्षति हुँदा पनि खुवाउने गरेको थियो । ‘तर त्यहाँको खाना कसैले खाँदैनन् । यदि खाए भने हाँस, कुखुरा, कुकुरले हो । निकै नराम्रो क्वालिटीको हुन्थ्यो,’ उनले भने । फेरि त्यस्तै खाना खान बाध्य भइने हो कि भन्ने चिन्ता पनि उनीसँग छ । १० वर्षीय बालक स्यालम बलले पनि खाना समयमा नआएका कारण स्कुल जान नपाएको दुखेको गरे ।
सुकुमवासीले समयमै खाना नपाउनुको असन्तुष्टि पोखिरहँदा होल्डिङ सेन्टरमा तैनाथ प्रहरीहरू भने अपमानजन्य टिप्पणी गरिरहेका थिए । ‘राजाको मुखमा त पान कहिलेकहीँ छुट्छ भने कहिलेकाहीँ तलमाथि भइहाल्छ नि,’ दिउँसो करिब साढे चार ४ तिर सेन्टरमा रहेका प्रहरी अधिकृत भनिरहेका थिए । बरु सुकमवासीहरूले उक्त संस्थाको खाना खाँदैनौ भनेर विरोध गरेको बताए । पत्रकारहरूले सरकारको विरोध गरेको भन्दै आक्रोश पोख्ने क्रममा ती प्रहरी अधिकृतले थपे, ‘यहाँ सुकुमवासी कति छन् र । धेरै हुकुमवासी त छन् नि । तिनीहरूले नै यहाँ भड्काउन खोजेका हुन् ।’
काठमाडौं महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी भने सोमबार बिहान व्यवस्थापन परिवर्तन भएको कारण खाना खुवाउन ढिलाइ भएको बताउँछन् । ‘खाना ढिलो भएको मौका छोपी त्यहाँ बस्ने केही व्यक्तिहरूले आफ्नै झोलाबाट दालमोठ-चिउरा निकालेर देखाउँदै यस्तो खान दियो भनी मिथ्या कुरा फैलाउन खोजेका हुन्,’ उनले भने ।
उनका अनुसार काठमाडौँ महानगरपालिकाले वैशाख १५ गतेसम्म खानाको व्यवस्था गरेको थियो । १६ गतेदेखि जेठ १० गतेसम्म राधा स्वामी सत्संग व्यास नेपालले व्यवस्थापन गर्यो । जेठ ११ देखि पुनः काठमाडौँ महानगरपालिकाले आफ्नै क्यान्टिनबाट भुक्तानी गरेर खानाको व्यवस्थापन गरेको थियो । सोमबारबाट शान्ति सेवा गृहले खुवाउने भनेर समझदारी भएको उनले बताए । ‘हामी पवित्र कार्यमा सहकार्य गर्छौँ भनेर यो संस्था आएको हो । आज केही प्राविधिक कारण ढिला भएको हो,’ उनले भने । उनले मंगलबार दिउँसोसम्म प्याकेटमा खाना आउने र बेलुकाबाट होल्डिङ सेन्टरमै पकाउने व्यवस्था गरिने बताए ।
शान्ति सेवा गृहकी कार्यकारी निर्देशक अप्सरा कार्कीका अनुसार महानगरले खाना खाजा व्यवस्थापनका लागि दुई दिन अगाडि आग्रह गरेको थियो । ‘अचानक गर्नुपरेको र पहिलो दिन भएका कारण व्यवस्थापनमा ढिलाइ भएको हो । त्यसमाथि स्टाफ र किचनको व्यवस्थापन गर्न हामीलाई समय लाग्यो ।’ उनले भनिन् ।
मंगलबार बिहानदेखि भने नयाँ व्यवस्थापनले समयमै खाना उपलब्ध गराएको छ । 'बिहानदेखि सहज भएको छ, शान्ति सेवा गृहले चिया खाजादेखि खानाको प्रबन्ध गरेको छ,' होल्डिङ सेन्टरमा रहेकी गृवानिका थापाले भनिन् ।
