३ महिनामा ५२ सीमा स्तम्भ मर्मत, ११ निर्माण र ४०२ को निरीक्षण

२०८२ चैतमा गठन भएको संयुक्त सर्भे टोलीले ३ महिनामा ५२ सीमा स्तम्भ मर्मत, ४०२ निरीक्षण र ११ वटा निर्माण गरेको हो ।

असार १, २०८३

भवानी भट्ट

Repair of 52 border pillars, construction of 11 and inspection of 402 in 3 months

What you should know

कञ्चनपुर — नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सुदूरपश्चिममा विवादरहित क्षेत्रमा मात्रै सीमा स्तम्भ र दशगजाको नापजाँच गरेको छ । विवाद नभएका सीमा स्तम्भको मर्मत, निर्माण र निरीक्षण गरेको छ । 

सोमबार महेन्द्रनगरमा भएको नेपाल भारतका उच्च अधिकारीहरुको बैठकमा यहि विषयमा छलफल भएको छ । २०८२ चैतमा गठन भएको संयुक्त सर्भे टोलीले ३ महिनामा ५२ सीमा स्तम्भ मर्मत, ४०२ निरीक्षण र ११ वटा निर्माण गरेको छ । 

‘हामीले विवाद नभएको क्षेत्रमा संयुक्त रुपमै काम गरेका छौं, ३ महिनाको छोटो अवधिमा सफलतापूर्वक काम भएको छ,’ नापी विभागका अधिकृत तथा संयुक्त सर्भे टोलीका नेपाल तर्फका प्रमुख ज्ञानेन्द्र विष्टले भने, ‘विवाद रहेको र संवेदनशील क्षेत्रमा भने हामीले काम गर्न सकेनौं ।’ उनका अनुसार बिजोर नम्बरका सीमास्तम्भको मर्मत, निर्माण र निरीक्षणको काम नेपालले तथा जोर नम्बरको काम भारतले गरिरहेको छ । 

सोमबार महेन्द्रनगरमा भएको वैठकमा नेपालतर्फबाट कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीसहित डिभिजन वन कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रम्खु लगायतको सहभागिता रहेको थियो ।

भारततर्फबाट उत्तराखण्डका उद्यमसिंहनगर, चम्पावत र पिथौरागढ तथा उत्तर प्रदेशको लख्खिमपुर, खिरी र पिलिभित जिल्लाका जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखको उपस्थिति रहेको थियो । 

‘बैठकमा संयुक्त सर्भे टोलीले गरेको कार्यप्रगतिबारे समीक्षा भयो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले भने, ‘यो बिचमा संयुक्त सर्भे टोलीले विवादरहित क्षेत्रमा धमाधम काम गरेको छ ।’ उनका अनुसार यो नियमित बैठक पनि हो । 

संयुक्त सर्भे टोलीको निर्धारित समय सकिएको र वर्षातको समय पनि सुरु भएकाले अब सर्भेको काम स्थगित भएको नापी विभागका अधिकृत विष्टले जानकारी दिए । २०८२ चैतमा गठन भएको टोलीले चैत पहिलो सातादेखि काम थालेको थियो ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully