फेरि मनसुनी संकटको संघारमा इलाम

गत वर्षको बाढीपहिरोबाट इलाममा ठूलो क्षति भयो, ३९ जनाले ज्यान गुमाए । भत्किएका सडक र पुल बेलैमा मर्मत हुन नसक्दा यसपालि पनि जोखिम बढेको छ ।

जेष्ठ ३१, २०८३

न्युज एजेन्सी नेपाल

Ilam on the brink of monsoon crisis again

What you should know

काठमाडौँ — यस वर्षको मनसुनमा इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनै पनि समयमा सम्पर्कविच्छेद हुन सक्ने उच्च जोखिममा परेको छ । गत वर्षको भारी वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल निर्माण र ठूलाठूला पहिरो गएका स्थानको पुनर्निर्माण हुन सकेको छैन ।

विपद्का कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुनसक्ने खतरा बढेको हो । वर्षातको समयमा आउने बाढी र पहिरोका घटनाले इलाम फेरि पनि सडक सञ्जालबाट अलग हुन सक्ने खतरा देखिएको छ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाका अनुसार गत वर्ष असोज १८ र १९ गतेको विनाशकारी वर्षापछिको बाढी र पहिरोबाट नगरपालिकाले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो ।कैयौं बाटोघाटो, कल्भर्ट र पुलहरू बगाए । ३९ जनाले ज्यानै गुमाए ।

केचना–कञ्चनजङ्घा सडक अन्तर्गत पर्ने पुवा खोलामा नगरपालिकाको ठूलो प्रयत्न र जोडबलमा बेलीब्रिज लगाए पनि त्यो बगाएको प्रमुख थापाले बताए । त्यस्तै जोगमाई खोलामा रहेको पुरानो बेलीब्रिज पनि बाढी बगाएको उनको भनाइ छ । 'बाढीपहिरोका कारण भौतिक पूर्वाधार मात्र नभई खानेपानी, सिँचाइ, सडक सञ्जाल र कृषि उत्पादनमा समेत ठूलो परिमाणमा क्षति पुगेको छ । नगरपालिकाको प्राविधिक मापनअनुसार कुल नोक्सानी ४० करोड रुपैयाँ बराबरको रहेको छ । यस प्राकृतिक विपत्तिबाट नगरपालिका क्षेत्रभित्र लगभग ३ सयदेखि ३ सय ५० जना नागरिक विस्थापित भएका छन्, जसमध्ये करिव २०० जना पूर्णरूपमा विस्थापित अवस्थामा छन्,’ उनले भने । 

जोखिममा मेची राजमार्ग

मेची राजमार्ग अन्तर्गत इलामको माइखोला खण्डमा पर्ने राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

उक्त खण्डमा पहिरो झरिरहने भएकाले दैनिक रूपमा गाडीहरूको लामो लाइन लाग्ने तथा कतिपय अवस्थामा गाडी सञ्चालन गर्न पनि कठिन हुँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।

इलाम नगरपालिकाको कुल बजेट धेरै देखिए पनि अधिकांश रकम सामाजिक सुरक्षा, शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता र प्रशासनिक कार्यमै खर्च हुने गरेकाले अधिकतम १५ करोड रुपैयाँ मात्र परिचालन गर्न सक्ने अवस्था रहेको प्रमुख थापाले बताए ।

उनका अनुसार गत वर्ष विपद्को समयमा विपद् प्राधिकरणबाट जम्मा ६० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसले कुल क्षतिको शून्य दशमलव ५ प्रतिशत काम पनि धान्न नसक्ने प्रमुख थापाको भनाइ छ । केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आफ्ना साना र कम महत्वका योजना कटौती गरी आन्तरिक रूपमा २ करोड रुपैयाँ बराबरको आकस्मिक कोष व्यवस्थापन गरेको उनले बताए ।

'लगभग ३००–३५० जना विस्थापित र पूर्ण विस्थापित लगभग २०० को हाराहारीमा होलान् । अब हामीलाई जम्माजम्मी १५–२० करोडभन्दा बढीको नोक्सानी छ,' उनले भने ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको इलामको भौतिक पूर्वाधार विकास र पुनर्निर्माणका लागि संघीय सरकारले रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो र चिन्ता व्यक्त गरेका छन् । इलामले चिया, अलैँची र डेरी उत्पादन लगायतले देशको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिँदै आएको छ । तर संघीय सरकारको चालु बजेटमा इलामको कृषि उत्पादन, पूर्वाधार र अन्तरपालिका जोड्ने कृषि सडकहरूको पुनर्निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै प्रमुख थापाले आक्रोश प्रकट गरे । विपद्का कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुन सक्ने खतरा बढेको छ ।

विपद् प्रतिकार्य

नगरपालिकाले विपद् व्यवस्थापन, पुनर्निर्माण र जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्रता दिएको जनाएको छ । आगलागीको जोखिमलाई मध्यनजर गर्दै दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको प्रमुख थापाले बताए । अवरुद्ध सडक तत्काल खुलाउन नगरपालिकाका २ वटा ब्याक–हो लोडर चालु अवस्थामा राखिएका छन् ।

उनका अनुसार गत असोज १८ र १९ गतेको बाढीपहिरोबाट प्रभावित भएका परिवारहरूको पुनस्थापना र पुनर्निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ । अस्थायी आवासतर्फ हालसम्म १ सय ३२ परिवारमध्ये ९२ परिवारले प्रथम किस्ता वापतको २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रथम किस्ता रकम बुझेकामध्ये ७५ परिवारले अस्थायी आवास निर्माण सम्पन्न गरिसकेका छन् भने ६६ परिवारले दोस्रो किस्ता वापतको २५ हजार सहित जम्मा ५० हजार रुपैयाँ अनुदान रकम बुझेका छन् । बाँकी ९ जनाको अनुदान निकासा हुन बाँकी छ ।

प्रभावितमध्ये ३६ परिवारका लागि विभिन्न संघसंस्थाहरूले अस्थायी आवास निर्माण गरिदिएका छन् भने अन्य लाभग्राहीहरूलाई विभिन्न संस्थाबाट वस्तुगत सहायता समेत उपलब्ध गराइएको छ । केही लाभग्राही भने विविध कारणले किस्ता रकम पाउन अयोग्य ठहरिएका छन् । स्थायी आवास पुनर्निर्माणतर्फ कुल १ सय ६६ घरपरिवारको विस्तृत क्षति संकलन गरिएको छ । ती मध्ये ५२ घरपरिवार लाभग्राही कायम भएका छन् ।

हालसम्म २१ परिवारसँग सम्झौता भई प्रथम किस्ता बापतको लागत साझेदारीको रकम जिल्ला प्रशासन कार्यालयको विविध खातामा जम्मा भइसकेको छ । बाँकी लाभग्राहीसँग सम्झौता हुन बाँकी छ । ४५ घरपरिवारको विवरण पुनरावलोकनका लागि पठाइएकोे प्रमुख थापाले बताए ।

न्युज

Link copied successfully