गायक आशिष अविरलमाथि अमेरिकामा कुटपिट

पत्नी सुशीला भन्छिन्,'अस्पतालबाट डिस्चार्ज त हुनुभयो, तर निको हुन समय लाग्ला' 

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Singer Ashish Aviral beaten up in America

What you should know

काठमाडौँ — अमेरिकाको बाल्टिमोरमा कुटपिटमा परी अस्पताल भर्ना भएका चर्चित गायक आशिष अविरल डिस्चार्ज भएका छन् । शुक्रबार कामकै सिलसिलामा बाल्टिमोरको डाउनटाउन पुगेका गायकमाथि एक युवा र एक युवतीले कुटपिट गरेपछि उनलाई नेपाली साथीहरूले मिलेर अस्पताल पुर्‍याएका थिए । 

पत्नी सुशीला पाठकका अनुसार अहिले उनी डिस्चार्ज भएका छन् । कुटपिटपछि गायक अविरलको नाकको हड्डी फुटेको थियो । आँखामुनि पनि चोट लागेको थियो । नाकको सर्जरी गरिएको छ । तर पूरा रूपले निको नभए राइनोप्लास्टिक सर्जरी नै गर्नुपर्ने डाक्टरले सल्लाह दिएको उनले जनाइन् । 'त्यो अलि खतरनाक ठाउँ नै रहेछ । त्यहाँ प्राय त्यस्तो घटना घट्दो रहेछ । उहाँ पनि कामले त्यहाँ पुग्नुभएछ, तर मिसअन्डरस्ट्यान्ड भएपछि उनीहरूले कुटेछन्,'हाल नेपालमा रहेकी पत्नी एवं गायिका सुशीला पाठकले जनाइन्,'अमेरिकाजस्तो ठाउँमा कलाकारलाई सुरक्षा छैन । त्यो त दु:खद कुरा हो ।' 

गायक अविरल झन्डै एक वर्षदेखि अमेरिका बस्दै आएका थिए । ग्रीनकार्ड पाएपछि उनी अमेरिका बस्दै आएका हुन् । केही समयअघि नेपाल बसेर उनी फेरि अमेरिका गएको सुशीला सुनाउँछिन् । '२ वर्ष नेपाल बस्ने एप्लिकेसन बुझाएर फर्किने योजनाले जानुभएको, फर्कने बेला यस्तो भयो,'उनले भनिन्,'मलाई एकदम पीर लागेको छ, धन्न त्यो व्यक्तिहरूसँग त्यतिबेला हातहतियार थिएन रहेछ । सर्जरी गरेर उहाँ आजै डिस्चार्ज हुनुभयो ।' 

अविरलमाथि भएको यस्तो घट्नाबारे सुशीलाले शनिबार मात्रै थाहा पाएकी हुन् । शनिबार परिवारसँग पार्क भिलेज घुमेर फर्कँदा अस्पतालबाटै गायक अविरलले उनलाई घटनाबारे जानकारी दिएका हुन् । 'मलाई माइग्रेन छ भनेर तनाव होला भनेर तत्काल भन्नु भएन । शनिबार मात्रै भन्नुभयो,'उनले भनिन्,'एक्कासि यस्तो खबर सुन्दा म त छक्क परें । अहिले त ठीक हुनुहुन्छ, निको हुन समय लाग्ला कि ?' 

अविरलले गाएका थुप्रै गीत चर्चित छन् । ३ वर्षअघि रिलिज भएको 'छुनुमुनु' को भिडियोले झन्डै ३ करोड भ्युज पाएको छ । 

कान्तिपुर

Link copied successfully