यही बाटो पछयाउँदै यसपटक सयौं स्वदेशी तथा विदेशी आरोहीहरूलाई शिखर आरोहणका लागि सहज भएको थियो ।
What you should know
काठमाडौँ — जोखिमबीच विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेमा आरोहण मार्ग निर्माण गर्ने १३ जना उच्च हिमाली गाइडलाइ नेपाल सरकार र पर्वतारोहण सञ्चालक सङ्घले काठमडौंमा नगदसहित सम्मान गरेका छन्।
यो टोलीले यसपटक बैशाख ३० गते बिहान १०:२५ बजे वसन्त ऋतु २०२६ को आरोहण सिजनमा सगरमाथाको शिखर (८,८४८.८६ मिटर) तथा जेठ ३ मा बिहान ८:१० बजे ल्होत्सेको शिखर (८,५१६ मिटर) सम्म डोरी टाँग्दै सुरक्षित आरोहण मार्ग निर्माण गरेको थियो। यही बाटो पछयाउँदै यसपटक सयौं स्वदेशी तथा विदेशी आरोहीहरूलाई शिखर आरोहणका लागि सहज भएको थियो ।
सगरमाथा-ल्होत्से मार्ग निर्माण अभियानको नेतृत्व संखुवासभाको मकालु गाउँपालिका–१ का मिङ्मा दोर्ची शेर्पाले गरेका थिए। उनी नेतृत्वको टोलीले दुबै हिमालका कठिन तथा जोखिमपूर्ण भागहरूमा डोरी जडान, प्राविधिक खण्डहरूको सुरक्षा तथा आरोहण मार्गको व्यवस्थापन गरेको थियो ।
टोलीलाइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने र संघका अध्यक्ष डम्बर पराजुलीले नगद जनही २५ हजारसहित सम्मान गरेका थिए । सम्मानित हुनेमा मिङ्मा दोर्ची शेर्पा (टोली नेता), पाम दोर्जी शेर्पा, मिङ्मा तेन्जे शेर्पा,लोप्साङ भोटे, मिङ नुर्बु शेर्पा, छ्होम्बा तेन्जी शेर्पा, गुरु भोटे, फुर्तेन्जी शेर्पा, मिङ तेम्बा शेर्पा, डेन्डी शेर्पा, पासाङ नुर्बु शेर्पा, पासाङ तासी शेर्पा, पासाङ तेन्जिङ शेर्पा छन् । टोलीका अधिकांश सदस्य संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र दोलखा जिल्लाका बासिन्दा हुन् ।
महासचिव ऋषि भण्डारीका अनुसार, १३ मध्ये १२ जनाले सगरमाथासम्मको मार्ग निर्माण सफलतापूर्वक सम्पन्न गरेको थियो भने पासाङ तेन्जिङ शेर्पा भने सगरमाथाको साउथ समिटसम्म मात्रै पुगेका थिए । तर उनले ल्होत्से मार्ग निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। हरेक वसन्त ऋतुमा नेपालले सगरमाथा आरोहण सिजन सुरु हुनुअघि अनुभवी शेर्पा आरोहीहरूको विशेष टोली खटाएर शिखरसम्म सुरक्षित मार्ग निर्माण गराउने गर्छ ।
सगरमाथा र ल्होत्से दुवै हिमालमा मार्ग निर्माण सम्पन्न भएपछि मात्रै व्यावसायिक आरोहण अभियानहरू सञ्चालन हुन सम्भव हुन्छ। भण्डारीका अनुसार, यसैले मार्गनिर्माता टोलीलाई हिमाली पर्यटन उद्योगको 'अदृश्य नायक' का रूपमा समेत चिनिन्छ।
त्यस्तै पर्वतीय तथा हिमाल आरोहणमा बिगत देखिनै बिशिस्ट भूमिका निर्वाह गर्दै आएका र यस बर्ष पनि सगरमाथा तथा ल्होत्से हिमाल आरोहणको लागि बिशिस्ट भूमिका निर्वाह गर्ने सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि, एटके एक्सपिडिसनका संचालक पेम्बा शेर्पा र छांङ दावा शेर्पालाइ पनि समारोहमा सम्मान गरीएको थियो ।
