मन्त्री पोखरेल भन्छन् : सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनु भएको छ । उहाँहरूले दशकौंदेखि भूमिको संरक्षण गर्दैहुनुहुन्छ । उहाँहरूलाई नमन गर्नैपर्छ ।
काठमाडौँ — नवलपरासी पश्चिमको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) का सुरक्षाकर्मी छिरेकोबारे सरकारले आवश्यक कदम चालिने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताएका हुन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले भने, 'सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनु भएको छ । उहाँहरूले दशकौंदेखि भूमिको संरक्षण गर्दैहुनुहुन्छ । उहाँहरूलाई नमन गर्नैपर्छ । यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चाल्ने नै छ । परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा सीमा विवाद समाधानका लागि प्रयास गरिरहेकै छ ।'
शुक्रबार नेपाली भूमि सुस्तामा एसएसबी प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका थिए । बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले हो–हल्ला गर्दै आफ्नै भूमि जान भनेका थिए ।
नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न १७ जेठमा एसएसबी नेपाली भूमि प्रवेश गरेपछि यस क्षेत्रलाई नेपाली र भारतीय दुवै पक्षले थप निगरानीमा राखिरहेका छन् ।
खेतमा काम गरिरहेका स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई फर्कन भनेका थिए । स्थानीयसँग केही समय सामान्य वादविवाद गरेपछि एसएसबी भारततर्फ नै लागेका थिए ।
