हर्मुजनजिक तेल ट्यांकरमा अमेरिकाको आक्रमणमा दुई भारतीय जहाज चालकको  मृत्यु

यसअघि भारतीय विदेश मन्त्रालयले ट्यांकरमा सवार २४ भारतीयमध्ये २१ जनालाई सुरक्षित उद्धार गरिएको र तीन जना बेपत्ता रहेको जनाएको थियो।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Two Indian sailors killed in US attack on oil tanker near Hormuz

काठमाडौँ — हर्मुज जलमार्गनजिकै तेल ट्यांकरमा अमेरिकाले आक्रमण गर्दा दुई भारतीय चालकको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । एक जना अझै बेपत्ता रहेका छन्।

भारतीय समुद्री कर्मचारीहरूको ट्रेड युनियन फरवार्ड सी म्यान युनियन अफ इन्डिया (एफएसयूआई) का अनुसार घटनामा दुई भारतीयको ज्यान गएको हो। यद्यपि भारत सरकारले उक्त दाबीको औपचारिक पुष्टि गरेको छैन।

यसअघि भारतीय विदेश मन्त्रालयले ट्यांकरमा सवार २४ भारतीयमध्ये २१ जनालाई सुरक्षित उद्धार गरिएको र तीन जना बेपत्ता रहेको जनाएको थियो।

उता, अमेरिका र इरानबीचको सैन्य तनाव दोस्रो दिन पनि जारी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमाथि ४९ वटा टमाहक मिसाइल प्रहार गरेको तथा लडाकु विमानमार्फत पनि आक्रमण गरिएको बताएका छन् ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार केश्म द्वीप, बन्दर अब्बास, मिनाब र सिरिक क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। त्यसको प्रत्युत्तरमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि सम्भावित क्षतिको विवरण सार्वजनिक भएको छैन।

यसैबीच जोर्डनले इरानबाट प्रहार गरिएका पाँचवटा मिसाइल आकाशमै खसालिएको जनाएको छ। इरानी समाचार संस्था तस्निमले दक्षिणी इरानको जाम क्षेत्रमा अमेरिकी एमक्यू–९ रिपर ड्रोन खसालिएको दाबी गरेको छ, तर अमेरिकाले त्यसको पुष्टि गरेको छैन।

तनाव बढिरहेका बेला रूसले अमेरिका र इरानलाई सैन्य कारबाही रोक्न र कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ। क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप कतारले आफ्नो प्रतिनिधिमण्डल तेहरान पठाएको बताइएको छ।

कान्तिपुर

Link copied successfully