विद्यार्थीको प्राप्तांक शिक्षकहरूले जोड्न छुटाएको पाइएको छ, ७० अंकको ठाउँमा ७ मात्र इन्ट्री भएका केस पनि छन् ।
What you should know
काठमाडौँ — एसईईको नतिजामा सिम्बोल नम्बर ‘०२९१०७६७ ओ’ भएका विद्यार्थीले विज्ञान र सामाजिकमा ३.६ र २.४ जीपीए प्राप्त गरे । नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले ४ मा ४ जीपीए ल्याए ।
सिम्बोल नम्बर ‘००४०४७७२ डी’ भएका विद्यार्थीले अंग्रेजीमा २.४ जीपीए प्राप्त गरे । पुनर्योगका लागि आवेदन दिदाँ नतिजा परिवर्तन भएर ४ जीपीए कायम भयो । अंग्रेजीमा ‘शून्य/एनजी’ अंक ल्याएर फेल/ननग्रेडेड भएका ‘८५९०००१७ यू’ सिम्बोल नम्बर रहेका विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर २ जीपीए भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर ३३ हजार ८ सय ५१ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । शिक्षक र बोर्डको लापरबाहीका कारण ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ । विद्यार्थीले ५ सय शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए । नतिजामा सुधार भएका विद्यार्थीमध्ये अधिकांशको उत्तरपुस्तिकामा शिक्षकले प्राप्ताङ जोड्न नै गडबड गरेका पाइएको छ ।
‘उत्तरपुस्तिका भित्र विद्यार्थीको प्राप्तांक शिक्षकहरुले जोड्न छुटाएको पाइयो । इन्ट्री गर्दा ७० अंक ल्याउने विद्यार्थीको अंक ७ मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने ।
उत्तरपुस्तिकाभित्र ६८ अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर ३२ मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताए । कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा शून्य कायम भएर नतिजामा एनजी आएको थियो ।
यस वर्ष विद्यालयमा नै उत्तरपुस्तिका परीक्षण गरेका कारण नतिजामा आंशका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढेको थियो । गतवर्ष २७ हजार ३ सय १७ जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झन्डै ३४ हजारले आवेदन दिएका हुन् । यसपटक त्रुटि संख्या पनि वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाए ।
अघिल्ला वर्षहरुमा ३ देखि ४ प्रतिशतसम्म नतिजामा त्रुटि भेटिने गरेको थियो । बुधबारसम्म २७ हजार ६ सय ५४ जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ । जसमा १ हजार ५ सय ५९ जनाको नतिजामा परिवर्तन आएको छ । अर्थात् ५.६३ प्रतिशत विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको हो ।
नतिजा परिवर्तन हुँदा अधिकांश विद्यार्थीको ग्रेड वृद्धि भएको नतिजामा उल्लेख छ । अझै ६ हजार ५ सय ३४ विद्यार्थीको नतिजा आउन बाँकी छ । नतिजामा एनजी आएका विद्यार्थीका लागि १ असारदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएकाले त्यसअघि नै पुनर्योगको नतिजा आउने बोर्डले जनाएको छ ।
पुनर्योगका लागि आवेदन दिएका मध्ये १ हजारभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले नतिजा प्रकाशनमा ढिलाइ र झझन्टिलो भएको बोर्डका कर्मचारी बताउँछन् । ‘विद्यार्थीले परीक्षा केन्द्र परिवर्तन गरेका वा उत्तरपुस्तिका अन्य परीक्षा केन्द्रको पोकामा परेका कारण भेट्न सकिएको छैन,’ बोर्डका ती कर्मचारीले भने, ‘पुनर्योगका लागि आवेदन दिएका प्रत्येक विद्यार्थीको परीक्षा केन्द्रको उत्तरपुस्तिका राखिएको पोका खोलेर हेर्नुपर्छ ।’
बोर्डले चरण/चरणमा गरी पुनर्योगको नतिजा सार्वजनिक गर्दै आएको छ । पहिलो चरणमा ५ हजार ४ सय ६ आवेदनमध्ये ३ सय ७ को नतिजा परिवर्तन भएको थियो । दोस्रो चरणमा ४ हजार ३ सय ६ मध्ये २ सय ३२ जनाको नतिजा परिवर्तन भएको पाइयो । तेस्रो पटक ५ हजार १ सय ७५ जनाको पुनर्योगको नतिजा सार्वजनिक गर्दा २ सय ६२ जनाको नतिजा परिवर्तन भेटियो । बोर्डले चौथो पटकमा ९ हजार १ सय ५६ को पुनर्योग नतिजा प्रकाशित गरेको थियो । जसमा ५ सय २२ जनाको परिवर्तन भयो । पाँचौं चरणमा ३ हजार ६ सय ११ को नतिजा पुनर्योग हुँदा २ सय ३६ को नतिजा परिवर्तन भएर आएको छ ।
यी परिवर्तनमा उत्तरपुस्तिका परीक्षणपछि नम्बर जोड्दा, उत्तरपुस्तिकाभित्रबाट बाहिर कभरमा नम्बर लेख्दा, मार्कस्लिप र कम्प्युटरमा चढाउँदा अंक फरक परेको पाइएको कर्मचारीहरु बताउँछन ।
त्रुटि नगर्न सम्परीक्षणको व्यवस्था भए पनि कम हुन सकेको छैन । विद्यार्थीले नतिजामा चित्त नबुझाए पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने र पुनः परीक्षण गर्न पाउने व्यवस्था बोर्डले गरेको छ । पुनर्योगमा पनि सन्तुष्ट नभए विद्यार्थी उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गर्न गराउन सक्नेछन् ।
वैशाख २९ गते सार्वजनिक एसईई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी सहभागी भएकामा २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भए भने १ लाख ४६ हजार ५ सय ७ जना अनुत्तीर्ण भएका थिए ।
