दुई रुपैयाँ बराबरको बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजस्वमा क्षति पुर्‍याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न पनि उनले चुनौती दिए ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

I am ready to give up public life if I am proven guilty of a misdeed worth two rupees: Finance Minister Wagle

काठमाडौँ — विपक्षीहरुले करका दरमा अर्थमन्त्रीले चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न कडा चुनौती दिएका छन् । 

सांसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजस्वमा क्षति पुर्‍याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न चुनौती दिए । समिति सदस्यहरुले दुई अर्ब चलखेल भएको बताएपछि उनले दुई अर्ब मात्रै नभई होइन, दुई रुपैयाँ बराबरको बदमासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार रहेको घोषणा गरे ।

‘कर बढ्दै छ भनेर सूचना दिएको छ भन्ने ननसेन्स कुरा हो । त्यसको प्रमाण प्रस्तुत गरियोस् । दसौं करोड घाटा हुने गरी कसैले हतारहतार गाडी पास गर्‍यो भने त्यसको प्रमाण लिएर आउनुस् । कुनै कागजी प्रमाण होला, कुनै सञ्चार वा पत्राचारका विवरण होलान्, ती सबै लिएर आउनुस् । म त कठघरामा उभिन तयार छु,' उनले भने, 'अर्ब–खर्बको कुरा जथाभावी गरिएको छ । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि कुनै बदमासी गरेको छ भने, म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । यो मेरो चुनौती हो ।’

उनले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता पनि औँल्याए । बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully