जेठ २५ गते पहिलो दिन परीक्षामा सहभागीहरूले व्यस्थापकीय कमजोरी भएको भन्दै परीक्षा हलमै विरोध गरेपछि परीक्षा अवरुद्ध भएको थियो । अवरुद्ध भएको परीक्षा बिहीबार सुरु भएको छ ।
What you should know
काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहारसुसार केन्द्रका लागि पठाइने सहायक श्रमिक (केयरगिभर) छनोट गर्न जेठ २५ र २६ गते लिएको अंग्रेजी भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई नि:शुल्क मौका परीक्षाको अवसर दिइने भएको छ ।
इजरायल सरकारबाट भाषा परीक्षाको जिम्मेवारी पाएको सीआईआईएन ईन्टरनेसनल क्वालिफिकेसनले इच्छुक व्यक्तिले असार २ गते मौका परीक्षा दिन सक्ने जनाएको छ ।
जेठ २५ गतेको परीक्षामा सहभागी भएकाहरूले व्यस्थापकीय कमजोरी भएको भन्दै परीक्षा हलमै विरोध गरेभएपछि परीक्षा अवरुद्ध भएको थियो । अवरुद्ध परीक्षा बिहीबारबाट सुरु भएको छ । परीक्षाका लागि इजरायलले ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी वान’ अनिवार्य ल्याउनुपर्नेछ । यसभन्दा अगाडि गएका केयरगिभरहरूले राम्रोसँग अंग्रेजी भाषा बोल्न नआएको भन्दै इजरायलले ‘वि वान’ तह पार गर्नुपर्ने व्यवस्था गरेको विभागले जनाएको छ ।
इजरायलको मापदण्डअनुसार सबैभन्दा बढी प्राथमिकता अंग्रेजी भाषा ‘स्पिकिङ’लाई दिइएको छ । कम्तीमा स्पिकिङमा ‘बी वान’ ल्याउनुपर्नेछ । ‘राइटिङ’ मा ‘ए वान, ‘लिसनिङ’ र ‘रिडिङ’ मा भने ‘ए टु’ ल्याउनुपर्नेछ ।
अंग्रेजी भाषामा तोकिएको तह उत्तीर्ण भएपछि मात्रै विभागमा आवेदन दिन पाइन्छ । विभागले आवेदनको लागि असार ७ गतेसम्म समय दिएको छ । भाषा परीक्षामा सहभागी हुन १४ हजार जनाले आवेदन दिइसकेका छन् ।
सीआईआईएनले परीक्षा दिनेमा ८० प्रतिशतले 'ए टु' तहको नतिजा ल्याएको जनाएको छ । यसभन्दा अघिल्लो परीक्षामा ‘ए टु’ तह ल्याउनेहरू उत्तीर्ण हुने गरेको थियो । ‘स्पिकिङमा 'बी वान' उत्तीर्ण गर्नेको संख्या न्यून छ,’ सीआइआईएनले भनेको छ । इजरायलले यस वर्षको लागि लक्की ड्रमार्फत २३ सय जनालाई लैजाने जनाएको छ । छानिएको उम्मेदवारले आफ्नै खर्चमा जानुपर्नेछ ।
