सालक संरक्षणका लागि दक्षिण एसिया कार्ययोजना मस्यौदा तयार

आगामी २५ वर्षका लागि यस क्षेत्रको सालक संरक्षणसम्बन्धी साझा कार्ययोजना निर्माण र एकीकृत प्रयासमा जोड दिन ‘दक्षिण एसियामा सालक संरक्षण’ कार्यशाला आयोजना गरिएको हो ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Draft South Asia Action Plan for Salamander Conservation Prepared

What you should know

काठमाडौं — संकटापन्न स्तनधारी जीव सालक संरक्षण प्रयासका लागि काठमाडौंमा आयोजित दक्षिण एसियाका ६ देशका ५० संरक्षणकर्मी सहभागी कार्यशालाले दक्षिण एसिया कार्ययोजना मस्यौदा तयार गरेको छ । क्षेत्रीय कार्यशालामा सहभागी हुन दक्षिण एसियाका विभिन्न मुलुकका वैज्ञानिक, सरकारी अधिकारी तथा संरक्षणकर्मीहरू काठमाडौंमा भेला भएका थिए । 

बिहीबार सम्पन्न ५ दिने कार्यशालाको आयोजना साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सावेन), आइयूसिएनको सालक विशेषज्ञ समूह तथा ग्रिनहुड नेपालले गरेको हो । आगामी २५ वर्षका लागि यस क्षेत्रको सालक संरक्षणसम्बन्धी साझा कार्ययोजना निर्माण र एकीकृत प्रयासमा जोड दिन ‘दक्षिण एसियामा सालक संरक्षण’ कार्यशाला आयोजना गरिएको हो । सालक पाइने दक्षिण एसियाका ६ देश (अफगानिस्तान र मालदिभ्सबाहेक)का प्रतिनिधि सहभागी थिए ।  

टाउकोदेखि पुच्छरसम्मको सम्पूर्ण भाग खबटाले ढाकेको सालक प्राय: रातको समयमा सक्रिय रहने र जमिनमा दुलो बनाएर बस्ने गर्छ । कमिला र धमिराहरूमा निर्भर रहने यसको सोली आकारको टाउको र लामो जिब्रो हुन्छ । समतल घाँसे मैदानदेखि विभिन्न प्रकारका जंगल, पाखो बारी र मानव बस्ती नजिकका आबादी क्षेत्रहरूमा सालक बस्छ । 

कार्यक्रमको उद्‌घाटन समारोहमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेलले सालकको चोरी शिकारी कुनै सीमाभित्र सीमित नरहेको बताए । उनले भने- त्यसैले हाम्रो संरक्षण प्रयास पनि सीमाभन्दा बाहिर निस्केर सोही रूपमा हुनुपर्नेछ । कैयौँ भ्रम र मिथ्या धारणाका कारण सालक अहिले नै विश्वको सबैभन्दा बढी तस्करी हुने स्तनधारी जनावरका रूपमा छ । यो हामी सबैका लागि चेतावनी हो । 

आइयूसिएन स्पेसिस सर्भाइभल कमिसनको सालकविज्ञ समूहकी सहअध्यक्ष केरी पार्करले दक्षिण एसियाको समृद्धि यसको भूदृश्य र संस्कृतिमा मात्र नभई सालकहरूमा पनि प्रतिबिम्बित हुने बताइन् । उनले सालकबारे अझै धेरै बुझ्न बाँकी रहेको बताइन् । 

सालकविज्ञ समूहका दक्षिण एसिया प्रमुख तथा ग्रिनहुड नेपालका निर्देशक कुमार पौडेलका अनुसार सालकको सिकार र ओसारपसार नियन्त्रण एवं संरक्षणका लागि भौगोलिक सीमाभन्दा माथि उठ्नुपर्ने बोधबाट कार्यक्रम तय भएकाले पनि यस जमघट निकै अर्थपूर्ण छ ।

कार्यशालाको समापन समारोहमा साउथ एसियन वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सावेन) का महासचिव कृष्णप्रसाद आचार्यले दक्षिण एसियाली मुलुकहरू सालकको चोरी तथा अवैध तस्करी नियन्त्रण गरी यसको संरक्षणप्रति प्रतिबद्ध रहेको बताए ।

कान्तिपुर

Link copied successfully