प्रतिवादी चारमध्ये भट्ट र सुलभ हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे हिरासतमा छन् । साहिल फरार छन् भने शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा भएका हुन् ।
काठमाडौँ — बैंकिङ कसुर अभियाेगमा व्यापारीहरू शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाल र दीपक भट्टविरुद्ध तीन वटा अदालतमा मुद्दा दायर भएकाे छ ।
उच्च सरकारी वकिल कार्यालयले बिहीबार शंकर समूहका अध्यक्ष शंकरलाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल तथा इन्फिनिटी हाेल्डिङ्सका अध्यक्ष भट्टविरूद्ध ४२ कराेड १४ लाख ८८ हजार ८०७ रूपैयाँ हानिनोक्सानी पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको हो । उनीहरूलाई जिल्ला अदालत काठमाडौं, विशेष अदालत काठमाडौं र उच्च अदालत पाटनमा बिगोसहित जरिवाना र कैद माग गर्दै मुद्दा दायर गरेको हो ।
विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले उनीहरूविरुद्ध अभियाेगपत्र दायर भएकाे बताए । जिल्ला अदालत काठमाडौंमा धितोपत्र र बीमा ऐनविरुद्धको कसूरमा दीपक भट्ट, सुलभ अग्रवालसहितलाई प्रतिवादी बनाइ मुद्दा दायर भएको छ । यसमा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि प्रतिवादी बनाइएको छ ।
प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे हिरासतमा छन् । साहिल फरार छन् भने शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा भएका हुन् । गोल्छा सर्वोच्च अदालतको आदेशले बन्दीप्रत्यक्षीकरण रिटमा छुटेका हुन् ।
बिहीबार नै उच्च अदालतमा मुद्दा दायर भएका प्रतिवादीसहित अन्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले नै अर्काे मुद्दा विशेष अदालतमा दायर गरेकाे हो ।
