प्रहरी अनुसन्धानले ८ दिनमै भेट्टायो पसल संचालक नै चोरीमा संलग्न रहेको प्रमाण, अब आपराधिक विश्वासघात मुद्दामा कारबाही हुने ।
What you should know
बुटवल — पसलमा धितोका रुपमा राखेको सुन हत्याउने र बिमा रकम दाबी गर्ने मुख्य उद्देश्यले बुटवलको एक सुन पसलमा चोरीको नाटक भएको छ । सुन व्यवसायका लागि बुटवलको मुख्य व्यापारिक केन्द्र मानिएको अमरपथको तिनाउ सुनचाँदी पसलमा जेठ १७ गते बिहान चोरी भएको थियो ।
पसल संचालक दीपक विक र उनका आफन्तले सुन पसलमा चोरी भएको प्रहरीलाई जानकारी गराएका थिए । जानकारीपछि सुन पसलमा पुगेको प्रहरीले चोरी भएको पसलको अध्ययन एवं अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा संचालक र पसलमा कार्यरत कर्मचारीप्रति शंका लागेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटना स्थलको प्रकृति, विभिन्न सीसीटीभी क्यामेराका फुटेज, संचालक बुटवल उपमहानगरपालिका–३ पुल्चोकका दीपक र तिलोत्तमा नगरपालिका–२ बनबाटिकाका कामदार नविन विकको बयानपछि प्रहरी पसल संचालक र कामदार विक नै चोरीको मुख्य अभियुक्त रहेको प्रमाणसहित दुवै अभियुक्तलाई बुधबार सार्वजनिक गरेको हो ।
अनुसन्धानको सुरुमै प्रहरीले केही शंकास्पद विवरण संकलन गरेको थियो । पसलको सटर सामान्य अवस्थामा कुनै बल प्रयोग नगरी खोलिएको थियो । पसलभित्र छिर्ने च्यानल गेट र अर्को सटर दुवै तोडिएको थिएन । पसलको सीसीटीभी चार महिनादेखि बन्द अवस्थामा थियो । पसलभित्र २ दर्जन बढी चाँबी रहेको झुप्पा नै फेला परेको थियो । सुन राख्ने लकर खोल्न पनि चाँबी नै प्रयोग भएको थियो ।
घटनाको पहिलो अनुसन्धानमै शंकास्पद विवरण देखिएपछि प्रहरीले पसल संचालक दीपक र कामदार नविनलाई निगरानीमा राखेर अनुसन्धान सुरु गरेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर शाहले बताए । पसल चोरी भएको जानकारी दिने संचालक दीपक भने पोखरामा थिए । ‘त्यसपछि हामीले दीपक र नविन दुवै जनालाई निगरानीमा राखेर थप अनुसन्धान सुरु गयौं,’ उनले भने, ‘प्रमाण जुटेपछि मंगलबार मात्र उनीहरू दुवै जनालाई पक्राउ गरेर अदालत पेस गरेका छौं ।’ अनुसन्धानमा जिल्ला प्रहरी, नेपाल प्रदेश प्रहरी र लुम्बिनी प्रदेश प्रहरीका अनुसन्धान टोलीको सहयोग रहेको उनले बताए ।
पसल संचालक लामो समयदेखि आर्थिक घाटामा पसल संचालन गर्दै आइरहेका थिए । पारिवारिक विवाद, बढ्दो आर्थिक संकट र त्यही समयमा धितोमा राखिएका सुनका गहना–धनीहरूले सुन माग्न थालेपछि दीपक थप संकटमा परेका थिए । उनको पसलमा धितोमा राखिएको सुन करोडौं मूल्यको रहेको प्रहरीले जनाएको छ । तर, त्यो सबै सुन दीपकले उधारोमा बिक्री गर्ने र सुनधनीले फिर्ता माग्न थालेपछि दीपक थप आर्थिक संकटमा परेको र त्यसकै कारण उनले धितोको सुन चोरी भएको नाटक गरी बिमाको रकम दाबी गर्ने र सुनका मालिकलाई फिर्ता दिन नसक्ने अवस्थामा पुगेकाले आफ्नै पसल चोरीको योजना बनाएर ‘पसल फोड्ने र चोरीको नाटक’ गर्ने काम गरेको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए ।
‘दीपकले सस्तो मूल्यमा सुन धितोको रुपमा खरिद गरे । त्यसका गहना बनाएर उधारोमा बिक्री गरेको सुरु अनुसन्धानमा देखिन्छ,’ उनले भने, ‘तर, बिक्री भएको सुनको रकम पनि आएन र धितोमा रहेको सुनका मालिकले पनि सुन खोज्न थाले, त्यसपछि चोरीको नाटक गर्ने योजना बनेको देखिन्छ ।’ दीपकले जेठ १६ गते राती ११ बजे पसलको चाँबी खोजेर भित्र पसेको र सटर तोडेर खोलेपछि पसलमा भएको लकरबाट सुन निकालेर जेठ १७ गते बिहान झण्डै २ बजेट पसलबाट निस्केर हिँडेको पसलबाहिर नजिकै रहेको सीसीटीभी फुटेजबाट देखिएको डीएसपी श्रीवास्तवले बताए ।
पसलबाट सुन निकालेपछि दीपक राती नै झोलामा सुन बोकेर तिनाउ पुल तरेर पुरानो बटौलीको गणेश टोल हुँदै गोलपार्क पुगेर राती नै आफ्नो गाडी लिएर पोखरा पुगेको अनुसन्धानले देखाएको छ । पसल चोरी भएको सूचना पाएपछि उनी पोखराबाट फर्केका थिए । तर, चोरी भएको भनिएको मध्ये प्रहरीले ५ तोला ४ दशमलव १ लाल सुन मात्र दीपकको घरबाट बरामद गरेको छ ।
संचालक दीपकले भने सुरुमा ७० तोला सुन चोरी भएको दाबी गरेका थिए । तर, सुन धितो राख्नेहरूको दाबी अनुसार दीपकसँग ७० तोलाभन्दा बढी सुन देखिनुपर्ने प्रहरी अनुसन्धानमा देखिएको छ । ‘त्यसैले हामीले थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरी प्रमुख शाहले भने, ‘धितोमा सुन राख्ने एक जना सम्पर्कमा आइसकेका छन्, अन्य पनि आउँदै छन् ।’ पसल र लकर खोल्नका लागि पसलको ‘मास्टर कि’ प्रयोग गरिएको देखिएको छ ।
२०४२ सालदेखि सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलका पूर्वसंचालक तुलबहादुर विकले छोरा दीपकलाई पसल जिम्मा लगाएर आफूले नजिकै अर्को पसल खोलेको बताए । ‘सुरुमै कारोबारमा लापरबाही गर्न थालेपछि मैले चलेकै त्यो पसल दीपकलाई छोडेर अर्को खोलेको थिएँ, यति डुब्ने अवस्थामा पुगेको जानकारी नै भएन,’ उनले भने, ‘प्रहरीले गम्भीर ढंगबाट अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याइदेओस् ।’
दीपकले कारोबार बिगारेको हो वा अन्य कसैले रिसईबीले त्यस्तो गरेका हुन् भन्ने पनि अनुसन्धान हुनुपर्ने उनले बताए । दुई दिनअघि पक्राउ पर्दा दीपकले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । तर, प्रहरीले पक्राउ गर्नुअघि जुटाएका सीसीटीभी फुटेज देखाएपछि उनी जवाफविहीन भएको प्रहरी नायव उपरिक्षक श्रीवास्तवले बताए । अहिलेसम्मको अनुसन्धानमा १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको सुनका गहना चोरी भएको दीपकले बताए पनि घटनामा त्यसभन्दा बढी सुन हिनामिना भएको प्रहरीको आशंका छ । ‘त्यसैले थप अनुसन्धान गर्दै छौं,’ डीएसपी श्रीवास्तवले भने, ‘दीपक र नविनलाई आपराधिक विश्वासघात मुद्दामा कारबाही अघि बढाएका छौं ।’
तिनाउ सुनचाँदी पसलको चोरीसँगै अनुसन्धान सुरु गरेको प्रहरीले जेठ १८ गते अर्को सुन पसल चोरी गरेको आशंकामा भारतको उत्तर प्रदेश सन्तक विहार जिल्ला वरिखा थाना रसुल्लाहवा बस्ने आकाश बर्मा, अब्दुल सलमा, नसिर अली, मोहम्मद सुलेमान, शहिद मोहम्मद सेख, कर्ण शर्मा र माहेम्मद पारिसलाई पक्राउ गरेको छ । त्यस्तै अर्को सुन चोरीकै घटनामा कपिलवस्तु नगरपालिका–२ का शिवओम थारुलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
