व्यक्तिगत संघर्ष, परिवारको समर्थन र आत्मविश्वासका बलमा नेपाली महिलाहरूले साना व्यवसायलाई विश्व बजारमा पुर्याउँदै सफलता हासिल गर्दै आएका छन्।
What you should know
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकले आयोजना गरेको 'निर्भीक नारी'को छैटौँ संस्करणमा चार प्यानलमा महिलाका मुद्दाबारे छलफल जारी छ ।
पहिलो सेसनमा आमाको अचारमार्फत उद्यमी बनेकी संगीता पाण्डे, उद्यमी राधिका अडुकिया, अन्तराष्ट्रिय फूड चेन केएफसी र पिज्जा हटकी म्यानेजर लक्ष्मी उप्रेती र सोसल मिडिया इन्फ्लुएन्सर बिन्जुल श्रेष्ठ सहभागी थिए । ‘पाथवे टु लिडरशीप’ शीर्षकको उक्त सेसनको संयोजन जोन्ता क्लबकी लिडरसीप कमिटीको नेतृत्व गरिरहेकी मुन प्रधानले गरेकी थिइन् ।
क्षमता र आत्मविश्वास भए पढाइलेखाइले नछेक्ने रहेनछ
३ हजार रुपैयाँले घरबाटै सुरु गरेको आमाको अचार अहिले विभिन्न देशमा पुग्दा खुसी लाग्ने गरेको बताउँछिन् संगीता पाण्डे । ‘इन्डियामा हुँदा अचारको तालीम लिएकी थिए । सीप छ त्यहि गर्छु भन्ने भयो । तीन हजारको १० केजी खुर्सानीबाट सुरु गरेको व्यवसाय अहिले ५० देशमा जान्छ,’ उनले भनिन्, ‘४९ वर्षको उमेरमा सुरु गरेको व्यवसाय अहिले ६४ वर्षको हुँदा ५० देशमा पुगेको छ । क्षमता र आत्मविश्वास भए पढाइ लेखाइले पनि छेक्ने रहेनछ । ’
संगीता आफुले नै केहि गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेको बताइन् । ‘मलाई नपुग्ने केहि थिएन । परिवारले पनि किन काम गर्नुपर्यो भन्नुहुन्थ्थो । तर, आफैले केहि गर्नुपर्छ भन्ने थियो । उमेर र पढाइले छेक्दैन,’ उनले भनिन्, ‘श्रीमान्को कमाइमा डिपेन्ड नहुम् । किचनमा मात्र सिमित भएर हुँदैन केहि गर्नुपर्छ भन्ने भएर नै हो ।’ कुनै पनि काम सानो नहुने संगीता बताउँछिन् । ‘बुढेसकालमा किन दु:ख गरेको भनेर माइतमा भन्दा केहि चाहिएर होइन केहि गर्रौ भनेर साथै, नाम कमाउन परेको छ भनेकी थिए । जे काम गरेपनि काम सानो र ठुलो कहिल्यै सोच्नु हुन्न । र उमेरले पनि कहिल्यै छेक्दैन,’ उनले भनिन् ।
उनले केहि काम सुरु गर्दा हार खानु नहुने बताइन् । ‘समाधानलाई पछाडि पार्ने आफु अगाडि आउने । समस्या धेरै आउँछन् । सय समस्या भए भने हजार आइडिया आउँछन् । त्यसैले एउटा कामभित्र पस्नुपर्ने रहेछ,’ उनले भनिन् । आफ्नो उद्यमले गर्दा विदेशमा भएको छोरा, बुहारी समेत नेपाल आएको र व्यवसायमा सहयोग गर्दा खुसी लागेको उनले सुनाइन् ।
गहना खरिद-बिक्रीका ठगीबारे जानकारी लिन खोज्दाखोज्दै आफ्नै व्यवसया
सत्रमा बोल्दै उद्यमी राधिका अडुकियाले स्नातक अध्ययन पूरा गरेपछि नेपाल फर्केर पारिवारिक व्यवसायभन्दा फरक क्षेत्रमा काम गर्ने उद्देश्यले आफ्नो यात्रा सुरु गरेको बताइन् । गहना खरिद–बिक्रीका क्रममा हुने विभिन्न प्रकारका ठगीबारे जानकारी लिन खोज्दा यस क्षेत्रमा गहिरिएर लागेको उनको भनाइ छ । ‘गहना किन्ने ग्राहकले पर्याप्त जानकारी पाउन्, कारोबार पारदर्शी होस् र ज्ञानको अभावका कारण कसैले ठगिनु नपरोस् भन्ने उद्देश्यले मैले यो काम सुरु गरो,’ उनले भनिन् ।
उनले आफ्नो परिवारबाट निरन्तर प्रोत्साहन पाएको उल्लेख गर्दै असफलतासँग नडराई बारम्बार प्रयास गर्न परिवारले हौसला दिएको बताइन् । ‘फेल हुन्छौं भनेर नडराऊ, आफ्नो आइडियामा काम गरिरहदा परिवारको साथले मलाई अघि बढ्न मद्दत गर्यो,’ उनले भनिन् ।
महिलाहरू आर्थिक रूपमा स्वतन्त्र हुनु अत्यन्त जरुरी छ
लक्ष्मी उप्रेतीले पेशाले चार्टर्ड एकाउन्टेन्ट भएको र भारतमा अध्ययन पूरा गरेपछि त्यहीँ करियर बनाउन सक्ने अवसर हुँदाहुँदै नेपाल फर्किने निर्णय गरेको सुनाइन् । सन् २०२० मा डेपुटी म्यानेजरका रूपमा करियर सुरु गरेको उल्लेख गर्दै उनले हाल वित्तीय क्षेत्रको नेतृत्व गरिरहेको जानकारी दिइन् ।
महिलाहरू नेतृत्वमा पुग्नका लागि आवश्यक सीप विकासमा निरन्तर लगानी गर्नुपर्ने उनको सुझाव थियो । ‘अहिलेको पुस्ताले सामाजिक सञ्जालमा धेरै समय बिताउँछ । त्यही माध्यमबाट पनि वित्तीय साक्षरतासम्बन्धी सामग्री सिक्न सकिन्छ,’ उनले भनिन् ।
उप्रेतीले सीप सिक्नका लागि आवश्यक लगानी गर्न र पैसालाई सही ठाउँमा लगानी गर्ने कला विकास गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार आत्मविश्वास नेतृत्वको महत्वपूर्ण आधार हो, जसले व्यक्तिलाई आफ्ना विचार निर्धक्क रूपमा प्रस्तुत गर्न सक्षम बनाउँछ ।
‘महिलाहरू आर्थिक रूपमा स्वतन्त्र हुनु अत्यन्त जरुरी छ । आर्थिक स्वतन्त्रता नेतृत्वको मुख्य जग हो जस्तो लाग्छ,’ उनले भनिन् । साथै, सफलताको यात्रामा आउने चुनौतीहरूलाई सामना गर्न र व्यवस्थापन गर्न सिक्नुपर्ने बताउँदै उनले चुनौतीबिनाको सफलता सम्भव नहुने धारणा राखिन् ।
छोरीलाई खुवाउन बनाएको खानाबाट व्यवसाय सुरु
उद्यमी तथा स्वास्थ्यकर्मी विन्जुल श्रेष्ठले व्यवसाय छोरी जन्मेपछि व्यवसया सुरु गरेको सुनाइन् । ‘मेलै छोरी जन्मेपछि ठोस खानेकुरा बनाएर खुवाउँदै गर्दा सामाजिक सञ्जालमा राख्ने गर्थे । त्यहि मेरो भिडियो हेरेर बस्नु हुने केहि मामुहरूले आफ्नो बच्चालाई पनि बनाइदिन अर्डर गर्नुभयो,’ उनले भनिन्, ‘मेलै हुन्छ भने तर आवश्यक सामान किन्ने पैसा थिएन । उहाँहरूसँगै एड्भान्स मागेर लिटोका लागि आवश्यक सामान किनेर बनाएकी थिए ।’
सामाजिक सञ्जालमा पाएको लोकप्रियतालाई व्यवसायमा बदल्न गाह्रो हुने गरेको सुनाइन् ।'डिजिटल युगमा हामीले अवसर पर्खेर बस्नपर्छ जस्तो लाग्दैन । आफ्नो अवसर आफै बनाउन सक्छौं,’ उनले भनिन्, ‘सोसल मिडियामा पपुलारिटी पाउनु सहज हुनसक्छ । तर, त्यहि विश्वासलाई दिगो व्यवसायमा परिर्णत गर्नु भएको गाह्रो कुरा हो ।’
व्यवसायमा लामो समयसम्म टिक्न र सामाग्रीको गुणस्तर मेनटेन गर्न आवश्यक रहेको उनले सुनाइन् । ‘मेरो लागि चेनौतीको कुराहरु भनेको क्वालीटि मेन्टेन गर्नु, बजारमा चाहिने मात्रामा सामान दिनु, फुडको क्वालीटी मेन्टेन गर्नु मेरो सबैभन्दा ठुलो च्यालेन्जजहरु हो,’ उनले भनिन्,‘ ग्राहकहरुले सामान मात्र किन्दैनन् । विश्वास पनि किन्नुहुन्छ ।’
सुरुवाती दिनमा आफुले व्यवसाय गर्दाका चुनौतीहरू समेत आएको उनले सुनाइन् । ‘यस्तो कुराबाट ओभरकम गर्न बीचमा धेरै समस्याहरू आए । तर, लक्ष्यमाथि सम्झौता गरिन् । आलोचनाविरूद्ध लड्नु भन्दा पनि रिजल्टले बोल्छ भन्ने तरीकाले हिँडे,’ उनले भनिन्, ‘त्यो अनुसारले बिजनेस चलाइरहेको छु । अनलाइन जान्छ नेपालभरि, स्टोरहरुमा हाम्रो आउटलेट छ । त्यहाबाट पनि लैजानुहुन्छ ।’ उनले कुनै पनि काम सुरु गर्न डराउन नहुने साथै आत्मविश्वासका साथ निरन्तरता दिनुपर्ने उनले सुनाइन् ।
