साताको दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट 

अधिवक्ताहरू अनिल आचार्य, दीपकराज जोशी, कृष्णबहादुर खनाल र चुडामणि भण्डारीले रिट दायर गरेका हुन् ।

जेष्ठ २६, २०८३

दुर्गा दुलाल

Writ filed in Supreme Court against government's decision to grant two days off per week

What you should know

काठमाडौँ — सरकारले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने भनी गरेको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताहरू अनिल आचार्य, दीपकराज जोशी, कृष्णबहादुर खनाल र चुडामणि भण्डारीले रिट दायर गरेका हुन् । 

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई विपक्षी बनाइएको छ । 

रिटको पहिलो सुनुवाइका लागि अदालतले २७ गते पेसी तोकेको छ । सरकारको  निर्णयले शिक्षा क्षेत्रमा गम्भीर असर पारेको भन्दै  रिटमा अन्तरिम आदेशको माग गरिएको छ । विद्यालयहरूमा आइतबार बिदा नदिने गरी परमादेश जारी गरि बदर हुनुपर्ने दाबी रिटमा गरिएको छ । 

सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम, पाठ्यभार र क्रेडिट आवरलाई प्रतिकूल असर पुर्‍याएको रिटमा दाबी गरिएको छ । शिक्षा नियमावली, २०५९ अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था भए तापनि साताको दुई दिन बिदा दिँदा सो दिन पुर्‍याउन मुस्किल हुने र विद्यार्थीको सिकाइमा प्रत्यक्ष नकारात्मक असर पर्ने निवेदनको जिकिर छ । 

निवेदकहरूले नेपालको संविधानको अनुसूची ८ मा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गर्दै, संघ सरकारले स्थानीय तहसँग कुनै समन्वय नगरी नीतिगत निर्णयका आधारमा बाध्यात्मक रूपमा दुई दिन बिदा लागू गर्न निर्देशन दिनु संवैधानिक र कानुनी रूपमा त्रुटिपूर्ण रहेको दाबी रिटमा गरिएको छ । 

शिक्षा क्षेत्रमा मात्र नभई यो निर्णयले शैक्षिक सत्र २०८३ को कार्यतालिका निर्माणमा समेत अन्योलता सिर्जना गरेको रिटमा उल्लेख छ । रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म शैक्षिक संस्थाका हकमा आइतबारको बिदा कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेशको  मागसमेत रिटमा गरिएको छ । 

शिक्षाजस्तो संवेदनशील विषयमा पाठ्यक्रम र पाठ्यभारको गहन विश्लेषण नगरी हचुवाका भरमा गरिएको निर्णयले विद्यालय र विश्वविद्यालय तहको कोर्स पूरा गर्न कठिन हुने र समग्र शैक्षिक गुणस्तरमा ह्रास आउने दाबी रिटमा गरिएको छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully