मेचीनगर–४ बाहुनडाँगीका ८४ वर्षीय रामबहादुर प्रधानले सम्पूर्ण सम्पत्ति मानव सेवा आश्रमलाई दान गरेर आफ्नै जीवन पनि आश्रममा व्यतीत गर्न थालेका छन् ।
What you should know
बाहुनडाँगी, झापा — झापाको मेचीनगर–४ बाहुनडाँगीका ८४ वर्षीय रामबहादुर प्रधानले जीवनभरको मिहिनेत, संघर्ष र त्यागबाट आर्जन गरेको साढे ४ करोड मूल्यको २ बिघा ५ कठ्ठा जमिन मानव सेवा आश्रमलाई दान दिएका छन् ।
सम्पत्ति हस्तान्तरण गरेपछि उनी स्वयं पनि आश्रमकै संरक्षणमा जीवन बिताइरहेका छन् । ‘यत्रो सम्पत्ति कसलाई छाडेर जाने ?’ उमेर ढल्किँदै जाँदा प्रधानको मनमा यही प्रश्नले घर गर्न थाल्यो । सन्तान नभएका कारण मृत्युपछि आफ्नो सम्पत्ति कसरी सदुपयोग होला भन्ने चिन्ता बढ्दै गयो ।
एक पटक योजना सोचे, भएको २ बिघा ५ कठ्ठा जमिन सुकुम्वासीलाई बाँडिदिऊ । फेरि मन मानेन । आफैं वृद्धाश्रम खोलेर पो बसौं कि ? उनको त्यो सपना पनि तुहियो । वृद्धाश्रम या बालआश्रमलाई जग्गा दान दिने निधोमा उनी पुगे । बुझ्दै जाँदा उनी मानव सेवा आश्रमसँग जोडिए । ‘मलाई राम्रो संस्थालाई जग्गा दान दिने विचार थियो’, उनी भन्छन्,‘ मानव सेवा आश्रम ठीक लाग्यो ।’
मानव सेवा आश्रमका प्रतिनिधि रामजी अधिकारीसँग पटक–पटक छलफल भयो । अन्तत: पाँच वर्षअघि सहमति जुट्यो । प्रधानले झापा, मेचीनगरको बाहुनडाँगीस्थित आफ्नो नामको २ बिघा ५ कठ्ठा जग्गा आश्रमलाई दान दिने निधो गरे । ‘मैले आश्रमसँग भने यो जग्गा, यी दुई आमा र एउटा गाई तपाईंहरूको जिम्मा,’ प्रधानले सम्झिए, ‘तर, म तपाईंहरूको कुनै सेवा लिन्नँ । आजदेखि म स्वतन्त्र भएँ ।’
त्यसपछि प्रधानले भद्रपुरस्थित मालपोत कार्यालय पुगेर आश्रमको नाममा जग्गा नामसारी गरिदिए । हाल मानव सेवा आश्रममा वृद्ध, असहाय, सडक मानव, बालबालिकासहित १ सय ४ जना आश्रित छन् । प्रधान पनि दुई श्रीमती लक्ष्मी र पूर्णमायाको साथमा आश्रमकै घरमा बस्छन् । ‘खाने, लगाउने, औषधि उपचारलगायतका सबै आधारभूत आवश्यकताको प्रबन्ध आश्रमले मिलाइदिएको छ,’ प्रधान भन्छन् ।
रामबहादुर दोलखाको जिलु गाउँमा जन्मिए । १४–१५ वर्षको उमेरमै रोजगारीको खोजीमा घर छाडे । त्यसबेला धेरै युवाझैं उनी पनि ‘मुग्लान’ हानिए । वीरगञ्ज–रक्सौलबाट रेल चढेर सिलिगुडी ओर्लिए । अनि जिप चढेर सिक्किम उक्लिए ।
अहिलेको भारतीय राज्य सिक्किम ऊ बेला स्वतन्त्र देश थियो । भारी बोक्ने, बाटो खन्ने काम पाए । गाउँमै मजदुरी गर्दा दिनभर फरुवा चलाएबापत पुरुषले २५ पैसा, महिलाले २० पैसा र बालबालिकाले १२ पैसा ज्याला पाउने समय थियो । सिक्किममा भारी बोक्दा श्रमको कदर भएको ठाने । तर, सधैं चिसो हुने यो हिमाली देशमा धेरै समय टिक्न सकेनन् । अनि झरे सिलिगुडी तिर । सिलिगुडीमा उ बेला नेपालीभाषी बहुल थियो । सिलिगुडीका हरेक चोक, गल्ली र बाटोमा नेपाली अनुहार नै ठोक्किन्थे ।
सिलिगुडीमा एक जना नेपाली साथीसँग प्रधानको भेट भयो । ती साथीले पश्चिमतिर देखाउँदै भने,‘हाम्रो नेपाल उ त्यही पर्तिर छ । जाने हो हेर्न ?’ साथीको कुरा सुनेर प्रधान छक्क परे । उनले सुरुमा नपत्याएपछि जान तयार भए ।
सिलिगुडीबाट मतिगडा–बागडोगरा हुँदै नक्सलबारी आइपुगे । नक्सलबारी बजारबाट उत्तरपश्चिम हुँदै उनीहरू मेची तरेर बाहुनडाँगी पुगे । ‘यति नजिकै नेपाल देखेर म त छक्क नै परें’, रोमाञ्चित हुँदै प्रधानले बेलिबिस्तार लगाए,‘नेपाल टेकेपछि त मलाई फर्किनै मन लागेन ।’
यो विसं २०२० सालतिरको कुरा हो । त्यतिबेला पूर्व–पश्चिम राजमार्ग भर्खरै खनिदैथ्यो । मेची खोलामा भर्खरै पुल बनेको थियो । बाहुनडाँगीका तोयाराज भारतीसँग उनको चिनापर्ची भयो । सिक्किममा भारी बोकेर जोहो गरेको केही हजार भारु र दोलखाको जग्गा बेचेर ल्याएको केही हजार मिलाएर उनले बाहुनडाँगीमा जग्गा किन्ने निधो गरे । ‘ऊ बेला बिघाको चार हजार रुपैयाँमा जग्गा किनेको थिएँ,’ उनी सम्झन्छन् ।
उनले खेतीपातीसँगै धान र मकैको ‘वारिपारी’ व्यापार पनि गरे । गाउँमा सस्तोमा धान–मकै किनेर नक्सलबारी बजारमा महंगोमा बेच्थे । भारतीय बजारमा बिक्री गर्दा दोब्बर नाफा बस्थ्यो । व्यापारले विस्तारै आर्थिक हैसियत बढ्दै गयो । ‘दु:ख त कति गरियो, कति । अहिले सम्झिँदा सपनाझैं लाग्छ’, विगत सम्झिएर उनी भावुक बने।
प्रधानले पहिलो विवाह २०२२ सालमा दोलखाकै लक्ष्मी श्रेष्ठसँग गरे । लामो समयसम्म सन्तान नभएपछि ४० वर्षको उमेरमा दोस्रो विवाह गरे, झापा सुरुंगाकी पूर्णमाया श्रेष्ठसँग । ‘दोस्रो विवाह गर्दा केटी नदिने पो हुन कि भनेर ४० वर्षमा ३५ वर्ष भनी उमेर ढाँटेर विहे गरे’, हस्यौली पारामा उनी भन्छन् । तर श्रीमतीबाट पनि सन्तान भएनन्।
पछि उनले समस्या आफ्नै स्वास्थ्यसँग सम्बन्धित रहेको थाहा पाए । सन्तान नभएपछि जीवनभरको कमाइ कसलाई छोड्ने भन्ने चिन्ता झन् बढ्दै गयो । दोलखामा पनि उनका वंशहरू कोही छैनन् । त्यसैले आफ्नो जायजेथा आश्रमलाई दिने निर्णय गरेको उनले बताए । करोडौं मूल्यको जग्गा दान गर्दा आफूलाई गर्व लागेको उनी सुनाउँछन् । ‘हामी नभए पनि हाम्रो जमीनमा सयौं असहाय, गरिब, वृद्ध र बालबालिका रमाइरहने छन्’, प्रधान थप्छन्,‘यो भन्दा ठूलो सन्तोष हाम्रा लागि के हुन सक्ला र !’
