साढे चार करोडको जग्गा आश्रमलाई, आफू पनि आश्रममै बस्छन् प्रधान दम्पती

मेचीनगर–४ बाहुनडाँगीका ८४ वर्षीय रामबहादुर प्रधानले सम्पूर्ण सम्पत्ति मानव सेवा आश्रमलाई दान गरेर आफ्नै जीवन पनि आश्रममा व्यतीत गर्न थालेका छन् ।

जेष्ठ २६, २०८३

पर्वत पोर्तेल

The land worth Rs 4.5 crore is given to the ashram, the Pradhan couple themselves live in the ashram

What you should know

बाहुनडाँगी, झापा — झापाको मेचीनगर–४ बाहुनडाँगीका ८४ वर्षीय रामबहादुर प्रधानले जीवनभरको मिहिनेत, संघर्ष र त्यागबाट आर्जन गरेको साढे ४ करोड मूल्यको २ बिघा ५ कठ्ठा जमिन मानव सेवा आश्रमलाई दान दिएका छन् ।

सम्पत्ति हस्तान्तरण गरेपछि उनी स्वयं पनि आश्रमकै संरक्षणमा जीवन बिताइरहेका छन् । ‘यत्रो सम्पत्ति कसलाई छाडेर जाने ?’ उमेर ढल्किँदै जाँदा प्रधानको मनमा यही प्रश्नले घर गर्न थाल्यो । सन्तान नभएका कारण मृत्युपछि आफ्नो सम्पत्ति कसरी सदुपयोग होला भन्ने चिन्ता बढ्दै गयो ।

एक पटक योजना सोचे, भएको २ बिघा ५ कठ्ठा जमिन सुकुम्वासीलाई बाँडिदिऊ । फेरि मन मानेन । आफैं वृद्धाश्रम खोलेर पो बसौं कि ? उनको त्यो सपना पनि तुहियो । वृद्धाश्रम या बालआश्रमलाई जग्गा दान दिने निधोमा उनी पुगे । बुझ्दै जाँदा उनी मानव सेवा आश्रमसँग जोडिए । ‘मलाई राम्रो संस्थालाई जग्गा दान दिने विचार थियो’,  उनी भन्छन्,‘ मानव सेवा आश्रम ठीक लाग्यो ।’

मानव सेवा आश्रमका प्रतिनिधि रामजी अधिकारीसँग पटक–पटक छलफल भयो । अन्तत: पाँच वर्षअघि सहमति जुट्यो । प्रधानले झापा, मेचीनगरको बाहुनडाँगीस्थित आफ्नो नामको २ बिघा ५ कठ्ठा जग्गा आश्रमलाई दान दिने निधो गरे । ‘मैले आश्रमसँग भने यो जग्गा, यी दुई आमा र एउटा गाई तपाईंहरूको जिम्मा,’ प्रधानले सम्झिए, ‘तर, म तपाईंहरूको कुनै सेवा लिन्नँ । आजदेखि म स्वतन्त्र भएँ ।’

त्यसपछि प्रधानले भद्रपुरस्थित मालपोत कार्यालय पुगेर आश्रमको नाममा जग्गा नामसारी गरिदिए । हाल मानव सेवा आश्रममा वृद्ध, असहाय, सडक मानव, बालबालिकासहित १ सय ४ जना आश्रित छन् । प्रधान पनि दुई श्रीमती लक्ष्मी र पूर्णमायाको साथमा आश्रमकै घरमा बस्छन् । ‘खाने, लगाउने, औषधि उपचारलगायतका सबै आधारभूत आवश्यकताको प्रबन्ध आश्रमले मिलाइदिएको छ,’ प्रधान भन्छन् ।

The land worth Rs 4.5 crore is given to the ashram, the Pradhan couple themselves live in the ashram

रामबहादुर दोलखाको जिलु गाउँमा जन्मिए । १४–१५ वर्षको उमेरमै रोजगारीको खोजीमा घर छाडे । त्यसबेला धेरै युवाझैं उनी पनि ‘मुग्लान’ हानिए । वीरगञ्ज–रक्सौलबाट रेल चढेर सिलिगुडी ओर्लिए । अनि जिप चढेर सिक्किम उक्लिए ।

अहिलेको भारतीय राज्य सिक्किम ऊ बेला स्वतन्त्र देश थियो । भारी बोक्ने, बाटो खन्ने काम पाए । गाउँमै मजदुरी गर्दा दिनभर फरुवा चलाएबापत पुरुषले २५ पैसा, महिलाले २० पैसा र बालबालिकाले १२ पैसा ज्याला पाउने समय थियो । सिक्किममा भारी बोक्दा श्रमको कदर भएको ठाने । तर, सधैं चिसो हुने यो हिमाली देशमा धेरै समय टिक्न सकेनन् । अनि झरे सिलिगुडी तिर । सिलिगुडीमा उ बेला नेपालीभाषी बहुल थियो । सिलिगुडीका हरेक चोक, गल्ली र बाटोमा नेपाली अनुहार नै ठोक्किन्थे ।

सिलिगुडीमा एक जना नेपाली साथीसँग प्रधानको भेट भयो । ती साथीले पश्चिमतिर देखाउँदै भने,‘हाम्रो नेपाल उ त्यही पर्तिर छ । जाने हो हेर्न ?’ साथीको कुरा सुनेर प्रधान छक्क परे । उनले सुरुमा नपत्याएपछि जान तयार भए ।

सिलिगुडीबाट मतिगडा–बागडोगरा हुँदै नक्सलबारी आइपुगे । नक्सलबारी बजारबाट उत्तरपश्चिम हुँदै उनीहरू मेची तरेर बाहुनडाँगी पुगे । ‘यति नजिकै नेपाल देखेर म त छक्क नै परें’, रोमाञ्चित हुँदै प्रधानले बेलिबिस्तार लगाए,‘नेपाल टेकेपछि त मलाई फर्किनै मन लागेन ।’

यो विस‌ं २०२० सालतिरको कुरा हो । त्यतिबेला पूर्व–पश्चिम राजमार्ग भर्खरै खनिदैथ्यो । मेची खोलामा भर्खरै पुल बनेको थियो । बाहुनडाँगीका तोयाराज भारतीसँग उनको चिनापर्ची भयो । सिक्किममा भारी बोकेर जोहो गरेको केही हजार भारु र दोलखाको जग्गा बेचेर ल्याएको केही हजार मिलाएर उनले बाहुनडाँगीमा जग्गा किन्ने निधो गरे । ‘ऊ बेला बिघाको चार हजार रुपैयाँमा जग्गा किनेको थिएँ,’ उनी सम्झन्छन् ।

उनले खेतीपातीसँगै धान र मकैको ‘वारिपारी’ व्यापार पनि गरे । गाउँमा सस्तोमा धान–मकै किनेर नक्सलबारी बजारमा महंगोमा बेच्थे । भारतीय बजारमा बिक्री गर्दा दोब्बर नाफा बस्थ्यो । व्यापारले विस्तारै आर्थिक हैसियत बढ्दै गयो । ‘दु:ख त कति गरियो, कति । अहिले सम्झिँदा सपनाझैं लाग्छ’, विगत सम्झिएर उनी भावुक बने।

प्रधानले पहिलो विवाह २०२२ सालमा दोलखाकै लक्ष्मी श्रेष्ठसँग गरे । लामो समयसम्म सन्तान नभएपछि ४० वर्षको उमेरमा दोस्रो विवाह गरे, झापा सुरुंगाकी पूर्णमाया श्रेष्ठसँग । ‘दोस्रो विवाह गर्दा केटी नदिने पो हुन कि भनेर ४० वर्षमा ३५ वर्ष भनी उमेर ढाँटेर विहे गरे’, हस्यौली पारामा उनी भन्छन् । तर श्रीमतीबाट पनि सन्तान भएनन्।

पछि उनले समस्या आफ्नै स्वास्थ्यसँग सम्बन्धित रहेको थाहा पाए । सन्तान नभएपछि जीवनभरको कमाइ कसलाई छोड्ने भन्ने चिन्ता झन् बढ्दै गयो । दोलखामा पनि उनका वंशहरू कोही छैनन् । त्यसैले आफ्नो जायजेथा आश्रमलाई दिने निर्णय गरेको उनले बताए । करोडौं मूल्यको जग्गा दान गर्दा आफूलाई गर्व लागेको उनी सुनाउँछन् । ‘हामी नभए पनि हाम्रो जमीनमा सयौं असहाय, गरिब, वृद्ध र बालबालिका रमाइरहने छन्’, प्रधान थप्छन्,‘यो भन्दा ठूलो सन्तोष हाम्रा लागि के हुन सक्ला र !’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully