पोखरा–भरतपुर–लुम्बिनीलाई जोड्दै ‘सिल्भर ट्रयाङ्गल’

पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर । संयुक्त पर्यटन प्याकेजदेखि वार्षिक ट्राभल मार्ट आयोजना गर्नेसम्मको  १२ बुँदे समझदारी ।

जेष्ठ २६, २०८३

दीपक परियार

'Silver Triangle' connecting Pokhara-Bharatpur-Lumbini

What you should know

पोखरा —  

 देशका तीन प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीबीच पर्यटन प्रवर्द्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी भएको छ । तीन स्थानीय तहले संयुक्त रूपमा पर्यटन ब्रान्डिङ, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने सहमति गरेका छन् ।

मंगलबार पोखरा महानगरपालिकाको 'पोखरा भ्रमण वर्ष' को संयोजनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । समझदारी-पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार तीनै स्थानीय तहले आफ्नो वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्नेछन् । सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो रूपमा तीनै स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट)’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।

पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ । तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने सहमति भएको छ । प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि सम्झौतामा समेटिएको छ ।

पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समझदारीपत्रमा समावेश गरिएको छ ।

कार्यक्रममा पोखरा महानगर प्रमख धनराज आचार्यले पर्यटनको राजधानीका रूपमा परिचित पोखरा, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भरतपुर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोडेर आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि र खर्च बढाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए । 'विगतका कमी-कमजोरीबाट सिकेर लामो अनुसन्धानपछि यो अवधारणा ल्याइएको हो,' उनले भने, 'तीनवटै स्थानीय तहको सहकार्यमा प्रवर्द्धन हुनेछ ।'  हरेक वर्ष तीन स्थानीय तहले पालैपालो अध्यक्षता गर्ने गरी कार्ययोजना तयार गर्ने जानकारी पनि उनले दिए ।

तीन स्थानीय तहले यस सहकार्यलाई दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण कदमका रूपमा लिएका छन् । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख अधिकारीले सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गर्ने बताए । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख हरिजनले तीनवटै पालिकाले तीन गन्तव्य स्थललाई जोड्ने गरी आगामी नीति कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन् । सिल्भर ट्रयाङ्गललाई प्रवर्द्धन गर्न सके एक सातासम्म पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको भनाइ थियो ।लुम्बिनीकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले तीन ऐतिहासिक पर्यटकीय स्थललाई जोड्दा देशकै अर्थतन्त्र धान्न उल्लेख्य सहयोग पुग्ने बताइन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पर्यटकको बसाइ अवधि लम्बिने र पर्यटन क्षेत्रले थप लाभ लिन सक्ने बताए । उनले सिल्भर ट्रयाङ्गललाई सफल बनाउन बहुपक्षीय सरोकारवालाको सहभागितामा कार्यदल गठन गर्नुपर्ने, पर्यटनका आकर्षक गन्तव्य र गतिविधिलाई एकीकृत गरी पर्यटन प्याकेज विकास गर्नुपर्ने तथा डिजिटल माध्यमबाट प्रभावकारी प्रवर्द्धन र ब्रान्डिङमा जोड दिनुपर्ने बताए ।

'सार्वजनिक र निजी क्षेत्रबीच पूर्वाधार विकास तथा लगानीमा समन्वय र तालमेल आवश्यक छ,' उनले भने, 'पर्यटनमैत्री पूर्वाधार निर्माण, सेवा विस्तार तथा गन्तव्यहरूको एकीकृत विकासमार्फत सिल्भर ट्रयाङ्गललाई बलियो पर्यटन सञ्जालका रूपमा स्थापित गर्न सकिन्छ ।'

पर्यटनविज्ञ विश्वराज सुवेदीले पोखरा-चितवन-लुम्बिनी जोड्ने गरी ७ देखि १० दिनको प्याकेज बनाउन सकिने बताए । पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले  गन्तव्यहरूलाई जोड्ने, अवसरहरूलाई विस्तार गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई सक्रिय बनाउने, राष्ट्रिय वेलनेस वर्षलाई सार्थक बनाउने र नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले सिल्भर ट्रयाङ्गलको अवधारणा अघि सारेको बताए ।

'आजको विश्व पर्यटन बजारले एकल गन्तव्यभन्दा बहुआयामिक अनुभव खोजिरहेको छ । यही आवश्यकतालाई सम्बोधन गर्दै पोखरा, लुम्बिनी र भरतपुरलाई एउटै पर्यटन परिपथका रूपमा विकास गर्ने ‘सिल्भर ट्रायाङ्गल’ अवधारणा अगाडि ल्याइएको हो,' उनले भने, 'यी गन्तव्यलाई एउटै पर्यटन यात्रामा जोड्न सकियो भने नेपालले पर्यटकलाई प्रकृति, संस्कृति, अध्यात्म, वन्यजन्तु र जीवनशैलीको पूर्ण अनुभव प्रदान गर्न सक्छ । यही नै सिल्भर ट्रायाङ्गलको मूल दर्शन हो ।' अब पोखरा, लुम्बिनी र भरतपुरले एकअर्काका प्रतिस्पर्धी नभइ परिपूरक साझेदारका रूपमा आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले चीन र भारतका पर्यटक आकर्षित गर्न सिल्भर ट्रयाङ्गल अवधारणा कोशेढुंगा साबित हुने बताए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully