नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार' निर्वाचित भएका छन्।
What you should know
काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार' निर्वाचित भएका छन्।
निर्वाचन समितिले सोमबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले ३४७ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत र हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत पाए।
खत्रीको प्यानललाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाली कांग्रेस निकट केही व्यवसायीको समर्थन थियो ।
प्रथम उपाध्यक्षमा महेशकुमार बस्नेत २४१मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी कर्णराज कटुवालले २३१ मत प्राप्त गर्दा सञ्जु गुरुङले २२८ मत पाए। द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित विजयी भए।
उनका प्रतिस्पर्धी रविन मेगाले मगरले २०५ मत र बालकृष्ण श्रेष्ठले १६८ मत प्राप्त गरे। तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित निर्वाचित भए। उनले तुलसीराम पुरीले २५६, कृष्ण ढकालले १७२ मत पाए।
महासचिवमा हरि डाँगी २७३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नुर महमद मियाले २४९ मत प्राप्त गरे भने अमरप्रकाश तिवारीले १६३ मत पाए।
सचिवमा केदारनाथ अधिकारी २९४ मतसहित निर्वाचित भए। कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मत प्राप्त गर्दै विजयी भइन्।
कार्यसमिति सदस्यतर्फ रमा खड्का, तारा तामाङ, तारामणी राई, धुर्व जिशि, भाबना गजुरेल, रविन्द्र राई, विवश ढुङ्गाना, दिक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत निर्वाचित भएका छन्।
संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
निर्वाचन समितिका अनुसार कुल ७७४ मतदातामध्ये ७१९ जनाले मतदान गरेका थिए।
