भिजिट भिसाको नाममा व्यवसाय सञ्चालन गर्ने विदेशी नागरिकहरूलाई मलेसियाले अब कडा निगरानी र अध्यागमन ऐनअनुसार कारबाही गर्ने भएको छ।
काठमाडौँ — मलेसियामा विदेशी नागरिकले भिजिट भिसा (सोसल भिजिट पास) मा गएर व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ । मलेसियाको आन्तरिक मन्त्रालयले यसरी व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने भएको हो ।
गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुसन इस्माइलले हालै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमबाट विदेशीलाई वैध अनुमतिबिना व्यवसाय सञ्चालन गर्नेमाथि तत्काल कारबाही गर्न निर्देशन दिएको बताए ।
गृहमन्त्री सैफुद्दीनले सोमबार मन्त्रालयमा बसेको मासिक बैठकपछि पत्रकारहरूसँग भने, 'प्रधानमन्त्रीको धारणा स्पष्ट छ । थप कुनै समिति वा समन्वय संयन्त्रको आवश्यकता छैन । कानुन छँदै छन्, कार्यान्वयन निकाय छँदै छन्, अब तुरुन्त कारबाही हुन्छ ।'
उनका अनुसार अधिकारीहरूले मलेसिया सामाजिक भ्रमणकर्ताका रूपमा प्रवेश गरेका तर व्यावहारिक रूपमा ब्युटी पार्लर, रेस्टुरेन्ट, भित्री डिजाइन सेवा र फर्निचर व्यापार गरिरहेका छन् । अध्यागमन नियमअनुसार सामाजिक भ्रमण पासमा रहेकाले उपयुक्त अनुमतिबिना काम वा व्यापार गर्न पाउँदैनन् ।
ती विदेशी सञ्चालकहरूले स्थानीय व्यवसायभन्दा निकै कम मूल्यमा वस्तु तथा सेवा बिक्री गरी अनुचित प्रतिस्पर्धा गरिरहेको गृहमन्त्रीले बताए । उनले भने, 'सरकारसँगको अन्तरक्रियामा स्थानीय व्यापारी तथा वाणिज्य संघहरूले समस्या उठाएका छन् । उनीहरूले इजाजतपत्रको प्रक्रिया पूरा गर्दै कर तिरेर व्यवसाय गरिरहेका छन्, तर विदेशीहरूले भने सो दायित्वबिना नै गतिविधि गरिरहेको उनीहरूको गुनासो छ ।'
पास दुरुपयोग गर्ने विदेशीविरुद्ध अध्यागमन ऐनअन्तर्गत कारबाही गरिने र अन्य निकायले व्यापार इजाजतपत्र, परिसर नियम, कर तथा स्थानीय निकायको उपनियम उल्लंघनको अनुसन्धान गर्ने उनको भनाइ छ ।
