बाघ-मित्र अभियानले फैलाउँदै छ सहअस्तित्वको सन्देश

वन्यजन्तु मार्नु हुन्न बरु उद्धार गरेर उनीहरूको प्राकृतिक बासस्थानमा छोड्नुपर्छ भन्ने सन्देश जनमानसमा पुगेको छ ।

जेष्ठ २३, २०८३

शंकर आचार्य

Tiger-Friends Campaign is spreading the message of coexistence

What you should know

पर्सा — पर्सा राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रका बस्तीमा बढ्दो मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न सुरु गरिएको ‘बाघ–मित्र कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।

निकुञ्ज प्रशासनका अनुसार समुदायको प्रत्यक्ष सहभागितामा एक वर्षयता सञ्चालन गरिएको कार्यक्रमले बाघ संरक्षणसँगै स्थानीय बासिन्दामा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

पर्सा राष्ट्रिय निकुञ्ज, यसको मध्यवर्ती क्षेत्र तथा सीमावर्ती वन क्षेत्र संकटापन्न पाटेबाघको महत्वपूर्ण बासस्थान मानिन्छ। ४ वर्षअघिको गणनामा निकुञ्जमा ४१ वयस्क बाघ छन् । यस वर्ष गरिएको गणनाको नतिजा दुई महिनापछि सार्वजनिक हुँदै छ । पछिल्ला वर्षहरूमा बाघ मानव बस्ती नजिक देखिन थालेपछि मानव सुरक्षामा जोखिम बढ्नुका साथै प्रतिशोधका घटनाले बाघ संरक्षणमा चुनौती थपिएको थियो ।दुई वर्षअघि मध्यवर्ती क्षेत्र तथा डिविजन वन कार्यालयसँग जोडिएको वन क्षेत्र नजिकको मानव बस्तीमा मात्र ५ बाघ मारिएका थिए ।

यही अवस्थालाई मध्यनजर गर्दै गत वर्ष अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री शतिस सिंहले निकुञ्जको आधाभारस्थित कार्यालय आयोजित कार्यक्रममा  ‘बाघ–मित्र अभियान’ सार्वजनिक गरेका थिए।

निकुन्ज कार्यालय आधाभारका सूचना तथा संरक्षण अधिकृत सन्तोषकुमार भगतका अनुसार कार्यक्रम अहिले पर्सा, बारा र रौतहट जिल्लासम्म विस्तार गरिएको छ। ‘समुदायलाई संरक्षण अभियानको साझेदार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने, ‘यसले मानव–बाघ द्वन्द्व घटाउन र वन्यजन्तुप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुगेको छ।’

कार्यक्रमअन्तर्गत पर्सामा रहेका चार र बारामा रहेका दुई गरी छ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले सहभागिता जनाएका छन्। सम्बन्धित जिल्ला वन कार्यालयहरू पनि अभियानमा सहकार्य गरिरहेका छन्। प्रत्येक समितिमा दुईरदुई जनाका दरले बाघ–मित्र स्वयंसेवक परिचालन गरिएको छ। रौतहटमा डिविजन वन कार्यालय मातहतको क्षेत्रमा सन्चालित यो कार्यक्रमलाई तराई आर्कल्यान्ड स्केप कार्यक्रमले पनि सघाएको छ ।

स्वयंसेवकहरूले स्थानीय तहमा जनचेतना फैलाउने, बाघ वा अन्य वन्यजन्तु मानव बस्तीमा देखिए तत्काल निकुञ्जको उद्धार टोलीलाई जानकारी गराउने, वन्यजन्तुलाई हानि नपुर्‍याउन स्थानीयलाई सचेत गराउने तथा संरक्षणसम्बन्धी सूचना प्रवाह गर्ने काम गरिरहेका छन्।

निकुञ्जले तयार गरेको ‘बाघ–मित्र कार्यक्रम कार्य सञ्चालन प्रक्रिया ‘म्यानुअल–२०८२’ ले स्वयंसेवकहरूको भूमिका, संस्थागत संरचना, समन्वय संयन्त्र र अनुगमन प्रणालीलाई स्पष्ट रूपमा परिभाषित गरेको छ। संरक्षणलाई केवल कानुनी नियन्त्रणमा सीमित नराखी संवाद, विश्वास, सहकार्य र स्थानीय स्वामित्वमा आधारित अभ्यासमार्फत दीगो सहअस्तित्व प्रवर्द्धन गर्ने लक्ष्य कार्यक्रमको रहेको भगत बताउँछन् ।

समुदायको सक्रिय सहभागिताले बाघ देखिँदा हुने त्रास कम हुनुका साथै वन्यजन्तुप्रति सकारात्मक व्यवहार विकास हुन थालेको उनले बताए । जसको परिणाम वन्यजन्तु मार्नु हुन्न बरु उद्धार गरेर उनीहरुको प्राकृतिक बासस्थानमा छोड्नुपर्छ भन्ने सन्देश जनमानसमा पुगेको उनको भनाइ छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully