छानबिन समितिले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति, आम्दानी स्रोत, ऋण र विवादास्पद सम्बन्धको विस्तृत विवरणसहित ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ।
What you should know
काठमाडौँ — पूर्वगृहमन्त्री एवं रास्वपाका सांसद सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक भण्डारीले प्रतिवेदनमा पूर्वमन्त्री गुरुङको सम्पत्ति, उनको आम्दानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरि प्रधानमन्त्रीलाई बुझाइएको बताए । उनका अनुसार समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा २१ फागुनको निर्वाचनअघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ । ‘कुन–कुन स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भनी फरक–फरक रूपमा राखेर प्रतिवेदन तयार गरिएको छ,’ उनले भने ।
समितिका एक सदस्यका अनुसार गुरुङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ । ४५ पृष्ठको प्रतिवेदनमा ‘हामी नेपाल’ नामक संस्थामार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ । तत्कालीन गृहमन्त्री गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेका बेला विवादास्पद व्यवसायी भट्टसँग उनको सम्बन्धलाई लिएर आलोचना भएको थियो । सार्वजनिक टीकाटिप्पणी बढेपछि गुरुङले ९ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । करिब तीन सातापछि २८ वैशाखमा मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए ।
छानबिन समितिका एक सदस्यका अनुसार गुरुङका नाममा धनकुटाको कार्कीछाप (भेडेटार क्षेत्र) मा १९ रोपनी १५ आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर–१८ मा ३० कट्ठा र बाजेको गोरखाको चुमनुव्रीमा २ सय २१ रोपनी भएको पाइएको छ । ‘गोरखाको जग्गाको धेरै मूल्यांकन नहुने देखिएको, चितवन र भेडेटारको जग्गा मात्र केही महँगो रकमको हुन सक्ने भएकाले अस्वाभाविक भन्न नमिल्ने भनी प्रतिवेदनमा लेखेका छौं,’ ती सदस्यले भने ।
पूर्वगृहमन्त्री गुरुङले समितिसँग बयान दिने क्रममा आफूले ठमेलमा होटल व्यवसाय गरेको र त्यसको आम्दानीका आधारमा सेयर र सुनमा लगानी गरेको बताएका थिए । ‘उनको सम्पत्तिको विश्लेषण गर्दा ठमेलको होटल बिक्री गरेर रकम आर्जन गरेको देखिएको छ,’ समितिका एक सदस्यले भने, ‘उनले केही रकम आफूले ऋण लिएको दाबी गरेका थिए । ऋण दिने व्यक्तिसँग आयोगले कार्यालयमै बोलाएर र केहीसँग जुममार्फत पनि कुराकानी गरेका थियौं । उनीहरूको भनाइ प्रतिवेदनमा जस्ताको तस्तै राखेका छौं ।’
ती सदस्यका अनुसार प्रतिवेदनमा गुरुङको बयान मात्र १७ पेजको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पृष्ठमा छ । प्रतिवेदनमा गुरुङले सेयर बजारमा गरेको लगानीबारे पनि विश्लेषण गरिएको छ । तत्कालीन गृहमन्त्री गुरुङले सम्पत्ति विवरणमा सेयर मार्केटमा आफ्नो ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको लगानी रहेको देखाएका थिए । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण सेयर, लगुम प्रिमियम अपार्टमेन्ट्स
प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उल्लेख थियो । एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो सेयर देखाएका थिए । तत्कालीन गृहमन्त्री गुरुङले ८९ तोला सुन र बैंकमा नगद ६१ लाख बराबर मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख थियो । बैंकमा जम्मा रहेको रकम पनि विश्लेषण गरिएको छानबिन समितिले जनाएको छ । समिति संयोजक भण्डारीले बीबीसी नेपाली सेवासँगको कुराकानीमा कतिपय जग्गा बाहिर आएको जस्तो नदेखिएको बताएका छन् । ‘हामीले सम्पत्तिको हकमा जे देखेका छौं, त्यही लेखेका छौं,’ उनले भने, ‘हामी नेपाल, व्यवसायी भट्ट, गुरुङको अपार्टमेन्ट र गाडीका विषयमा पनि अध्ययन गरेका थियौं । सम्बन्धित कार्यालयबाट प्राप्त भएको प्रमाणका आधारमा देखिएबमोजिम सिफारिस गरेका छौं ।’
रेमिट्यान्सको हकमा पनि उल्लेख गरिएका नातेदारबारे प्रतिवेदनमा विश्लेषण गरिएको भण्डारीको भनाइ छ । ‘समग्र रिपोर्टमा वस्तुगत रूपमा व्याख्या गरेका छौं । प्रमाण जता भारी छ, त्यहीअनुसार विश्लेषण गरेका छौं,’ उनले भने, ‘सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न भनेका छौं, केही दिनमा सबै थाहा होला ।’ निष्कर्ष र सिफारिस खण्डबारे उनले बताउन चाहेनन् । छानबिन समितिले सुरुमा १५ दिनको म्याद पाएको थियो । काम नसकिएपछि पाँच दिनको म्याद थप गरिएको थियो ।
