संघका अध्यक्ष फुर्गेल्जे शेर्पासहितको प्रतिनिधिमण्डलले शुक्रबार ह्याम्स अस्पतालमा पुगेर दावाको स्वास्थ्य अवस्था बुझ्दै विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
What you should know
काठमाडौँ — नेपाल पर्वतारोहण संघले ‘हिलारी दावा’ नामले परिचित ओखलढुंगाका अनुभवी पर्वतारोहण गाइड दावा शेर्पा सगरमाथामा बेपत्ता भएको घटनाबारे स्वतन्त्र अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।
संघका अध्यक्ष फुर्गेल्जे शेर्पासहितको प्रतिनिधिमण्डलले शुक्रबार ह्याम्स अस्पतालमा पुगेर दावाको स्वास्थ्य अवस्था बुझ्दै विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
सगरमाथाको चौथो शिविर आसपासमा जेठ १५ गतेसम्म देखिएका दावा शेर्पा ६ दिनसम्म बेपत्ता रहेको अवस्थामा बिहीबार चमत्कारी ढङ्गले जीवित फेला परेका थिए।
अत्यन्त कठिन अवस्थाबाट उद्धार गरिएपछि हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारका क्रममा सुधार भइरहेको चिकित्सकहरूले जनाएका छन्।
तर घटनाको प्रकृतिले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा गम्भीर नैतिक बहस सिर्जना गरेको छ। पृथ्वीको सबैभन्दा कठिन क्षेत्रमध्ये पर्ने सगरमाथाको ‘डेथ जोन’ क्षेत्रमा अनुभवी गाइडलाई एक्लै छाडिनु गम्भीर मानवीय तथा नैतिक असफलता भएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
संघले विज्ञप्तिमा भनेको छ, ‘सगरमाथाको डेथ जोनमा ५७ वर्षीय पर्वतारोहण गाइडलाई छाडिनु गम्भीर नैतिक र मानवीय प्रश्न उठाउने विषय हो, जसको गहिरो सम्बोधन आवश्यक छ।’
संघका अध्यक्ष शेर्पाले घटनाको विस्तृत अनुसन्धान हुनुपर्ने, जवाफदेहिता सुनिश्चित गरिनुपर्ने तथा यस्ता घटना दोहोरिन नदिन राज्यस्तरको तत्काल हस्तक्षेप आवश्यक रहेको बताए।
उनका अनुसार, ‘स्वतन्त्र छानबिन समितिमार्फत घटनासम्म पुग्ने सम्पूर्ण प्रक्रिया र निर्णयहरूको विस्तृत अध्ययन गर्न सरकारले स्वतन्त्र समिति गठन गर्नुपर्छ।’
त्यस्तै, संघले कानुनी तथा नैतिक जवाफदेहिताका सम्बन्धमा घटनामा जिम्मेवार ठहरिएका व्यक्ति, टोली वा कम्पनीहरूलाई कानुनी र नैतिक रूपमा जवाफदेही बनाउन माग गरेको छ।
पर्वतारोहण व्यवसायी तथा सरोकारवालाहरूको यो संस्थाले सबै पर्वतारोहण कम्पनी र अभियानहरूलाई जिम्मेवारी, आपसी सहयोग र सुरक्षा प्राथमिकतामा राख्न कडा निर्देशन दिन पनि आग्रह गरेको छ।
